• १७ असार २०८१, सोमबार

उपप्रमुखको दोहोरो नागरिकता, कारबाही माग गर्दै उजुरी

blog

माला कर्ण

कल्याणपुर, साउन २१ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख मीराकुमारी यादवको दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी परेको छ। उपप्रमुख यादव भारतीय नागरिक रहेको र नेपालको नागरिकता किर्ते गरेर लिएको पाइएपछि उपप्रमुखविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको हो। 

उपप्रमुख यादव र उहाँका पति महेन्द्रकुमार यादव भारतको बिहार राज्यअन्तर्गत मझारीग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी भएको उजुरीमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरी सार्वजनिक गर्दै उपप्रमुख यादव, उहाँका श्रीमान् र छोरा इन्द्रजितले साविकको सप्तरीको औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका–६)बाट झुटो विवरणको आधारमा नागरिकता प्रमाणपत्र लिएको भनिएको छ। २०२२ मा भारतको बिहार राज्यको निर्वाचन नामावलीको क्रम सङ्ख्या ६३३ मा उपप्रमुख यादवको र ६३२ मा उहाँका श्रीमान् महेन्द्रको नाम उल्लेख छ। अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेस गरेको शपथपत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचानपत्रसमेतबाट उहाँहरू भारतीय नागरिक रहेको प्रमाण उजुरीमा संलग्न गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीबार कीर्ते नागरिकता सम्बन्धमा उजुरी आएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो। “उजुरी र संलग्न कागजातको आधारमा हामी आवश्यक छानबिन गरेर निष्कर्षमा पुग्छौँ,” उहाँले भन्नुभयो।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले तर्फबाट उपप्रमुख पदको उम्मेदवार भएर छ हजार १९७ मत प्राप्त गरी यादव उपप्रमुखमा निर्वाचित हुनुभएको हो। नेपाली नागरिकताको प्रमाणपत्र लिएर सार्वजनिक पद धारण गरी संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम उहाँहरूको नागरिकता प्रमाणपत्र रद्द गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमा माग गरिएको छ।

यता उपप्रमुख यादवले आफूविरुद्ध झुटो आरोप लगाएको दाबी गर्नुभएको छ। आफूले चुनाव जितेदेखि नै विपक्षीले आफूविरुद्ध षड्यन्त्र गर्न थालेको बताउनुभएको छ। उहाँले मेरो घर डाक्नेश्वरी नगरपालिकामा रहेको र हनुमाननगर कङ्कालिनीको मधवापुरमा माइती रहेको बताउनुहुँदै त्यसको छानबिन गर्न आफूले पनि सहयोग गर्ने बताउनुभयो।