• १७ असार २०८१, सोमबार

जनशक्ति अभावमा थन्कियो भेन्टिलेटर

blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, साउन २० गते । गम्भीर प्रकृतिका बिरामीका लागि आवश्यक पर्ने भेन्टिलेटर जनशक्तिको अभावमा थन्किएको छ । महोत्तरी जिल्लाको प्रादेशिक अस्पताल जलेश्वरमा भेन्टिलेटरसहितको आईसीयू बेड पाँचवटा र बर्दिबास अस्पतालमा तीनवटा गरी आठवटा भेन्टिलेटर जनशक्ति अभावमा थन्किएको हो । 

प्रादेशिक अस्पताल जलेश्वरमा दुई वर्ष अगाडि नै कोरोना महामारीको समयमा सामाजिक विकास मन्त्रालयले अढाई करोडको लागतमा पाँचवटा भेन्टिलेटर जडान गरे पनि सो सञ्चालन नहुँदा दोस्रो चरणको महामारीमा धेरैले ज्यान गुमाउनुपरेको थियो । प्रादेशिक अस्पताल जलेश्वरका निमित्त प्रमुख डा. सतीशकुमार साहले दुई वर्ष अगाडि नै भेन्टिलेटर तयारीमा रहे पनि जनशक्ति नहुदाँ सो कोठा बन्द नै रहेको बताउनुहुँदै भेन्टिलेटर रहे पनि जनशक्ति अभावमा महामारीको समयमा सेवा दिन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारीको समयमा जनशक्ति भएको भए धेरैको ज्यान जोगाउन सकिन्थ्यो ।”

कोरोना महामारीको समयमा प्रादेशिक अस्पताल जलेश्वरले सुरुमा ५० शøया र त्यसपछि एक सय शøयाको आइसोलेसन सेवा सञ्चालन गरेको थियो । श्वासप्रश्वासमा गम्भीर समस्या भएका बिरामीलाई भेन्टिलेटरको आवश्यकता पर्नेमा जोड दिनुहुँदै डा. साहले महामारीको समयमा भेन्टिलेटर लक्ष्मणबुटीजस्तो अचुक उपाय रहेको बताउनुभयो । पटकपटक जनशक्तिका लागि मन्त्रालयलाई ताकेता गरिएको बताउनुहुँदै आश्वासन मात्र पाएको बताउनुभयो । 

बर्दिबास अस्पतालमा पनि विगतदेखि नै दुईवटा भेन्टिलेटर रहेको थियो भने केही दिन अगाडि एक थान थप भेन्टिलेटर ल्याइएको छ । बर्दिबासमा रहेको सर्पदंश उपचार केन्द्रमा एक जना शिक्षकको भेन्टिलेटर अभावमा मृत्यु भएपछि चर्किएको विवादपछि नगरप्रमुख प्रह्लाद क्षेत्रीको टिम काठमाडौँ पुगेर एक थान भेन्टिलेटर ल्याइएको हो । स्थानीय युवा रामनारायण महतोले बर्दिबास अस्पतालमा पनि जनशक्ति नहँुदा दुईवटा भेन्टिलेटर थन्किएको बताउनुहुँदै जनशक्तिको व्यवस्थापन नगरेसम्म भेन्टिलेटर थन्काउनबाहेक केही गर्न नसकिने बताउनुभयो । 

बर्दिबास अस्पतालका चिकित्सक डा. रन्जितराज पाठकले भेन्टिलेटरका लागि एमडीजीपी, दक्ष मेडिकल अफिसर र तालिम प्राप्त स्टाफ नर्सको आवश्यकता पर्ने बताउनुहुँदै जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा खाली भेन्टिलेटर थन्क्याउनु राम्रो नभएको बताउनुभयो । कोरोना महामारीको दोस्रो चरणमा धेरै मानिसको मृत्यु भेन्टिलेटर नपाएकाले भएको देखिएको बताउनुहुँदै डा. पाठकले सरकारले भएको जनशक्तिलाई समेत तालिम दिएर दक्ष बनाउन सके अस्पतालमा थन्किएको भेन्टिलेटरको उपयोग गर्न सकिने सुझाव दिनुभयो ।