• १७ असार २०८१, सोमबार

लुम्बिनीमा २०२ किलोमिटर सडक कालोपत्रे

blog

फाइल तस्बिर

पविता पौडेल  

रुपन्देही सैनामैना, साउन २१ गते । लुम्बिनी प्रदेशले एक बर्षको अवधिमा २०२ किलोमिटर सडक कालोपत्रे गरेको छ भने २७५ किलोमिटर सडक ग्राभेल गरेको जनाएको छ ।

प्रदेश योजना आयोगले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी एक बर्षको अवधिमा सो काम सम्पन्न गरेको जनाएको हो । प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले बजेट ढिला आए पनि प्रदेश सरकारले गत आर्थिक बर्ष २०७८–७९ मा ७०.७७ प्रतिशत बजेट खर्च गर्न सफल भएको जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७८–७९ मा प्रदेश सरकारले ४० वटा पक्की पुल र ११ वटा झोलुङ्गे पुल निर्माण गरेको जनाएको छ । १२१ किलोमिटर नयाँ सडकको ट्रयाक खोलेको उपाध्यक्ष क्षेत्रीले बताउनुभयो ।

त्यस्तै, प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको पूर्बी पाल्पाको रामपुरदेखि रोल्पाको जिनवाङ सडकको ८० प्रतिशत काम सम्पन्न भएको बताउँदै उहाँले लुम्बिनी प्रदेश बैंक सञ्चालनका लागि प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

भौतिक पुर्वाधार तर्फ १७ कभर्डहल निर्माण, २० किलोमिटर सडक ढलान गरेको प्रदेश योजना आयोगले जनाएको छ । शिक्षातर्फ लुम्बिनी प्राविधिक विश्व विद्यालय स्थापना गरी उपकुलपतिको नियुक्ति गरेको उपाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

त्यस्तै, १७५ जना द्वन्द्वपीडितलाई तालिम दिइ रोजगारमुलक बनाएको र ८३ जना द्वन्द्व पीडितको उपचार गरेको योजना आयोगले जनाएको छ । नेपाल प्रहरी प्रदेश मातहत आइनसके पनि प्रदेश सरकारले प्रहरीका ११ वटा भवन निर्माण प्रक्रियामा रहेको जानकारी गराउँदै उपाध्यक्ष क्षेत्रीले ट्राफिक प्रहरीलाई १६ थान मोटरसाइकल हस्तान्तरण गरिएको बताउनुभयो । प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र बुटवलमा सीसीटीभी जडान गरिएको बताउनुभयो ।