• १९ असार २०८१, बुधबार

शिक्षण सिकाइ कार्यको अनुगमन

blog

विद्यालय अनुगमनका क्रममा शिक्षा समन्वय इकाईका अधिकारीहरु । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल 

भैरहवा, असार १७ गते । शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले विभिन्न विद्यालयको अनुगमन गरेको छ । शिक्षण सिकाई कार्यको अवलोकन गरी पृष्ठपोषण प्रदान गर्ने तथा शिक्षकलाई पेशागत सहायता प्रसाद गर्ने उद्देश्यले विद्यालय अनुगमनलाई तीव्रता दिएको कार्यालयले जनाएको छ । 

कार्यालयले सुरुवात गरेको अनुगमनका क्रममा विषयविज्ञ शिक्षकले कक्षा अवलोकन तथा शिक्षण विधिका विषयमा छलफल गरी सिकाई आदान प्रदान गर्ने गरिएको समन्वय इकाई प्रमुख माधव बन्जाडेले जानकारी दिनुभयो । कार्यालयले बुटवलको नयाँगाउँ मावि र सैनामैनाको रामापुर माविको अनुगमन गरेको समन्वय प्रमुख बन्जाडेले जानकारी दिनुभयो । उहाँले स्थानीय तहबाट विद्यालयहरुमा अनुगमनको काममा सुस्तता आएको गुनासो बढेपछि समन्वय इकाईले अनुगमनलाई चुस्त बनाएको बताउनुभयो । अनुगमन समितिले विद्यालयको व्यवस्थापकीय पक्षको समेत अवलोकन गर्ने गरेको छ । 

समन्वय प्रमुख बन्जाडेले बुटवलको नयाँगाउँ माविको शिक्षण सिकाईदेखि विद्यालयको व्यवस्थापकीय पक्ष समेत उत्कृष्ट रहेको उल्लेख गर्नुभयो । उहाँले बिद्यालयको सरसफाई लगायत आधारभूत कुराहरु पनि उत्कृष्ट रहेको बताउँदै शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउँदै रुपन्देहीका उत्कृष्ट विद्यालयको सूचीमा आफुलाई कायम राख्न आग्रह गर्नुभयो ।   

कार्यालयले रुपन्देहीका १६ वटै स्थानीय तहका विद्यालयहरु छनौट गरी अनुगमन गर्ने जनाएको छ ।  समन्वय इकाईको अनुगमनलाई विद्यालयको शैक्षिक सुधारका लागि थप हौसला मिलेको नयाँ गाउँ माविका प्राधानाध्यापक पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो । नयाँगाउँ माविले यस वर्षको एसईई परीक्षामा ७० प्रतिशत रिजल्ट हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो ।