रोकियो सडक विस्तारको काम
सर्लाही सदरमुकाम मलङ्गवामा सडक विस्तारको काम पुनः रोकिएको छ । मलङ्गवामा जिविस चोकदेखि बजार क्षेत्र हुँदै पूर्व–पश्चिम हुलाकी राजमार्गसम्मको एक किलोमिटर सात सय मिटर सडक विस्तारको काम ठप्प भएको हो ।
सूचना लिनकै लागि वर्षौं सङ्घर्ष
नवलपरासी सदरमुकाम परासीको चर्को घाममा शिक्षक परमेश्वर धरिकार साइकल पछाडि झोलामा कागजपत्र बोकेर पसिना पुछ्दै दिनहुँ ओहोरदोहोर गरिरहनुहुन्छ । नवलपरासीकै एक प्राथमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत धरिकारलाई भेट्नेहरू अनौठो मान्छन् । विद्यालय समयबाहेक बिहान, बेलुका र बिदाको दिनमा उहाँको बास परासी बजारमै हुने गरेको छ । परासी बजारमा उहाँ शिक्षण पेसा वा ट्युसन पढाउनका लागि होइन, सूचनाको अधिकार (आरटीआई) पाउनका लागि यसरी दिनहुँ कुदिरहनुभएको हो ।
ताप्लेजुङबाट ७२ करोड बजेट रकम फ्रिज
ताप्लेजुङबाट गत आर्थिक वर्षमासाढे बहत्तर करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको अर्थात फ्रिज भएको हो ।
विद्यालयमा सुविधायुक्त शौचालय
जुम्लाका दुईवटा विद्यालयमा सुविधायुक्त शौचालय निर्माण गरिएको छ । सिन्जा गाउँपालिका–४, जुम्लाको शारदा आधारभूत विद्यालय र कनकासुन्दरी–३ मा सञ्चालित नवदुर्गा आधारभूत विद्यालयमा सुविधायुक्त शौचालय निर्माण गरिएको हो ।
दुई अस्पतालमा स्वास्थ्य बीमा बन्द
भरतपुरका दुई ठूला अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रदान गरिने उपचार बन्द गरेका छन् । स्वास्थ्य बीमाबाट सरकारले उपलब्ध गराउनुपर्ने रकम नदिएका कारण बीमा सेवा बन्द गर्नुपरेको अस्पतालले सूचना प्रकाशित गरेर जानकारी गराएको छ ।
बसरहित बसपार्क मुख्य चोकमा भीडभाड
लहानस्थित सिङग्राहीमा नवनिर्मित बसपार्क बसरहित हुन्छ । बसलगायत अन्य सवारीसाधन रोकिँदा यात्रुहरूको भीडभाडले लहानको मुख्य चोक दुर्गन्धित बनेको स्थानीयले बताएका छन् । मुख्य चोकमा रहेका बस काउन्टरमा बस चढ्न आउने र बसबाट ओर्लिने यात्रुलाई दिसापिसाब गर्न निकै अप्ठयारो हुने गरेको छ ।
वर्षाले तराईमा डुबान, पहाडमा पहिरो
सुदूरपश्चिमका विभिन्न क्षेत्रमा मङ्गलबार र बुधबारको वर्षाले तराईका बजार डुबान र ग्रामीण सडक अवरुद्ध बनेका छन् । कतिपय स्थानमा बाढी र पहिरोले घरमा क्षति पु¥याएको छ । दुई दिनको निरन्तरको वर्षाले गाउँबस्तीमा पहिरोको जोखिमसमेत बढाएको छ । यद्यपि तराईका केही जिल्लामा किसानले राहत महसुस गरेका छन् ।
पाँचवटा पुल निर्माण
लुम्बिनी प्रदेश सरकारको लगानीमा पाल्पामा यो वर्ष पाँचवटा पक्की पुलको निर्माण कार्य सकिएको छ । सडक पूर्वाधार कार्यालय पाल्पाका अनुसार हुमिन–रिङ्नेरह–ज्यामिरे सडकखण्डको पूर्वखोलामा कोन्द्रेखोला, झुम्सा–चरङ्गे–धागो कारखाना सडकखण्डको ह्याकबारी र ढुङ्गानाबेँसी– झिरुबास सडकखण्डमा गल्घा पुलको निर्माण कार्य सम्पन्न भएको छ । यस्तै तिनाउ–५, को चर्चरे, निस्दी गाउँपालिका–६, स्थित अर्चले र गल्धा अर्चलेको रेचेघाट पुल सकिएको सडक पूर्वाधार कार्यालय प्रमुख अरुण गुप्ताले बताउनुभयो ।
रोपाइँ गर्न जाँदा बगिने डर
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. १० स्थित खैराहाझोडाका किसान हरेक वर्ष आफ्नो खेतमा रोपाइँ गर्न जाँदा ज्यान जोखिममा पार्न बाध्य छन् । घर र खेतको बीचमा बग्ने त्रियुगा नदी वारपार गर्न झोलुङ्गे पुल छैन । रोपाइँको समयमा हरेक साँझ बिहान त्रियुगाको बाढी तर्नुपर्दा खैराहाका किसानको ज्यान जोखिममा पर्छ ।