• १३ साउन २०८१, आइतबार

रोकियो सडक विस्तारको काम

blog

सर्लाही, साउन ५ गते । सर्लाही सदरमुकाम मलङ्गवामा सडक विस्तारको काम पुनः रोकिएको छ । मलङ्गवामा जिविस चोकदेखि बजार क्षेत्र हुँदै पूर्व–पश्चिम हुलाकी राजमार्गसम्मको एक किलोमिटर सात सय मिटर सडक विस्तारको काम ठप्प भएको हो । मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीका अनुसार जिविस चोकदेखि कृष्णामति माध्यमिक विद्यालयसम्मको सडक विस्तार भइसकेको छ । 

सो विद्यालयदेखि हुलाकी राजमार्गसम्मको करिब चार सय मिटर सडक निर्माण कार्य भने अघि बढ्न नसकेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । स्थानीय तह निर्वाचनलगायतका कारण सडक विस्तारको काम रोकिएको भए पनि अब पुनः ठेकेदारसँग समन्वय गरी अवरुद्ध कामअघि बढाइने नगरपालिका कार्यालयले जनाएको छ । 

कृष्णामति विद्यालयदेखि दक्षिणतर्फ घर तथा अन्य संरचनाहरू भत्काउन नसकेका कारण पनि सडक विस्तारको कामअघि बढ्न नसकेको हो । सदरमुकाम भए पनि मलङ्गवाको सडक व्यवस्थित हुन सकेको छैन । सडक निर्माण भइसकेको स्थानमा व्यवस्थित नाला नभएको गुनासो आउने गरेको छ ।

सडक विस्तार भइसकेको जिविस चोकदेखि कृष्णामति विद्यालयसम्मको सडक भने फराकिलो पारिएपछि सो क्षेत्रमा आउजाउ गर्न र सवारीसाधन सञ्चालनमा सहज भएको छ ।  जिल्लाकै सदरमुकाम र मुख्य बजार भएकाले मलङ्गवाको सडक निर्माण कार्य पूरा गर्न धेरै पटक प्रयास भए पनि सफल हुन सकेको छैन् ।