पाठ्यपुस्तक असार पन्ध्रभित्र
लुम्बिनी प्रदेशमा नयाँ शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन नियमित हुन सकेको छैन । लुम्बिनी प्रदेशका दाङ, सल्यान, रोल्पा, पूर्वीरुकुम, पश्चिम रुकुम, बाँके र बर्दियामा पाठ्यपुस्तकको अभावमा शैक्षिक गतिविधि सञ्चालनमा समस्या देखिएको छ ।
अविवाहित महिलालाई भत्ता
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ४० वर्षमाथिका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकबाट ४० काटेका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरिएको हो ।
जोखिमयुक्त सडकले सास्ती
कर्णाली कोरिडोरको प्रवेशद्वार मानिने खुलालुमा जोखिमयुक्त सडकका कारण यात्रुहरूलाई सास्ती भएकोे छ । पुल पार गर्नासाथ ओरालोमा ठूला ढुङ्गा रहेको र ती ढुङ्गा पन्छाउन कसैले पनि चासो नदिँदा सो सडकखण्ड जोखिमयुक्त भएको छ । यहाँ सडक पार गर्न घण्टौँ लाग्ने गरेको छ ।
लाजपूर्जा पाउनुपर्ने माग राख्दै भूमीहिनको धर्ना
भूमीहिनहरुले लालपूर्जा पाउनु पर्ने माग राख्दै व्यास नगरपालिकामा धर्ना दिएका छन् । नगरपालिकाका सुकम्बासी तथा अव्यवस्थित बसोबासी तथा भूमीहिन नागरिकले प्रमुख प्रशासकीय अधिकृत समक्ष ध्यानाकार्षणपत्र बुझाउनुका साथै धर्ना दिएर दवाब दिन थालेका हुन् ।
खानेपानीमा उपभोक्ता समितिको लापरबाही
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको बजार क्षेत्रमा खानेपानी वितरण गर्दै आएको मन्थली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले फोहोर पानी वितरण गरिरहेको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । समितिले समय–समयमा पानी जम्मा गर्ने ट्याङ्कीको सरसफाइ नगर्दा धारामा धमिलो पानी आउने र स्वास्थ्यमा समस्या देखिने गरेको उपभोक्ताको भनाइ छ । “खानेपानीको ट्याङ्की, माछापोखरीजस्तो खुला देखिन्छ भने ट्याङ्कीमा जम्मा गरिएको पानीमा लेउ तैरिएको छ, कीराफट्याङ्ग्रा र चराचुरुङ्गीले फोहोर गरेका छन्,” खानेपानी उपभोक्ता जय मानन्धरले भन्नुभयो ।
अव्यवस्थित पार्किङले सास्ती
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा व्यवस्थित पार्किङ छैन । व्यवस्थित पार्किङ नहुँदा आधा सडक ढाक्ने गरी मूल सडकमै जथाभावी सवारी साधन पार्किङ हुँदा सर्वसाधारणलाई समस्या पर्ने गरेको छ । यस विषयमा सरोकारवाला निकाय मौन छन् । सर्वसाधारणको बढी आवागमन हुने र जलेश्वरको मुख्य बजार क्षेत्रमै सडक नै ढाक्ने गरी वर्षौंदेखि पार्किङ हुँदै आए पनि सरोकारवाला निकायले समस्या समाधानको अग्रसरता नदेखाएको स्थानीयको गुनासो छ ।
नगरवासीलाई तीस युनिट विद्युत् छुट
प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा नवनिर्वाचित राजेशमान सिंहले ३० युनिटसम्म विद्युत् छुट दिने निर्णय गर्नुभएको छ । प्रमुख सिंहले वीरगञ्जको घण्टाघर क्षेत्रको जीर्ण सडक मर्मत कार्यलाई पहिलो प्राथमिकतामा राख्नेसमेत बताउनुभएको छ ।
बालविवाह र छाउपडी प्रथा अन्त्य गर्न माग
कर्णालीमा कुसंस्कारका रुपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिनुभएको छ । क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वारा सोमबार जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा सुरेन्द डा केसीले बालविवाहमुक्त कर्णाली निर्माणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न जरुरी छ भन्नुभयो । “छाउपडी प्रथाका कारण पनि यहाँका महिलाको अवस्था निकै दयनीय छ ”, उहाँले भन्नुभयो, “ बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो छ ।”
रोग पहिचानका लागि शिविर
म्याग्दीको बेनी नगरपालिकाले नसर्ने रोगको पहिचान तथा रोकथामका लागि स्क्रिनिङ शिविर सुरु गरेको छ । ग्रामीण क्षेत्रका सर्वसाधारण नागरिकलाई घरदैलोमै पुगेर नसर्ने रोगको पहिचान गरी स्वास्थ्य सेवा दिने उद्देश्यले निःशुल्क रूपमा शिविर सुरु गरिएको हो ।