• ४ असार २०८१, मङ्गलबार

रोपाइँ गर्न जाँदा बगिने डर

blog

रोपाइँ गर्न त्रियुगाको भेल बाढी तर्दै महिला । तस्बिर : भक्तिविलास पोखरेल

गाईघाट, साउन ५ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. १० स्थित खैराहाझोडाका किसान हरेक वर्ष आफ्नो खेतमा रोपाइँ गर्न जाँदा ज्यान जोखिममा पार्न बाध्य छन् । घर र खेतको बीचमा बग्ने त्रियुगा नदी वारपार गर्न झोलुङ्गे पुल छैन । रोपाइँको समयमा हरेक साँझ बिहान त्रियुगाको बाढी तर्नुपर्दा खैराहाका किसानको ज्यान जोखिममा पर्छ ।  

शिवनगर र खैराहाझोडा जोड्ने चार सय मिटर लामो त्रियुगा नदीको झोलुङ्गे पुल निर्माण गर्ने भनी झण्डै चार वर्ष पहिले नै विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय मूल्याङ्कन प्रतिवेदनसमेत तयार गरिएको भए पनि लागतअनुसारको बजेट र आवश्यक निर्माण सामग्रीहरूको अभाव हुँदै आएको छ । 

मानु खाएर मुरी उब्जाउने बेलामा घरमा सुतेर बस्दा पनि चिन्ता, खेतमा काम गर्न जाउँ भने बाढीले बगाउँला भन्ने झन् ठूलो चिन्ताले आफूहरूलाई सताउने गरेको स्थानीय किसान बिन्दा पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो “यहाँ झोलुङ्गे पुल निर्माण हुन्छ भन्नेमा वर्षाैंदेखि आस गरेर पर्खिरहेका छौँ तर अझै हाम्रो माग पूरा हुन सकेको छैन ।” 

गाईघाटस्थित पूर्वाधार विकास कार्यालय उदयपुरका अनुसार आर्थिक वर्ष २०७८।०७९ मा सङ्घीय सरकारले लागत अनुमानअनुसार रकम र पुल निर्माणका लागि फलामे लठ्ठाहरूसमेत उपलब्ध नगराउँदा खैराहा शिवनगरलगायत उदयपुर र खोटाङ जिल्लाका निर्माणाधीन अवस्थामा रहेका नौवटा झोलुङ्गे पुलको निर्माण कार्यले गति लिन नसकेको हो । 

सो कार्यालयले ग्रामीण सडक निर्माणमा तीव्रता दिएको भए पनि सोसँगै सम्पन्न गरिनुपर्ने खोटाङ र उदयपुर जिल्लाका बिकट पहाडी गाउँ वस्तीहरूलाई जोड्ने विभिन्न नौवटा लामातरी तथा छोटोतरीका झोलुङ्गे पुलसमेत बजेट अभावमा निर्माण हुन नसकेको कार्यालयका प्रमुख डिइ जितेन्द्रकुमार कर्णले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७६।०७७ बाट क्रमागत रूपमा निर्माणको काम सुरु गरिएको बहुवर्षीय योजनाअन्तर्गत उदयपुर जिल्लाका छ र खोटाङ जिल्लाका तीनवटा गरी जम्मा नौवटा झोगुङ्गे पुलको फाउन्डेसन जगहरू निर्माण गरिएको भए पनि बाँकी काम अगाडि बढ्न नसकी बीचैमा थाँती रहँदै आएको छ । 

तर आर्थिक वर्ष २०७९।०८० मा भने प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत खोटाङ जिल्लाका छवटा र उदयपुर जिल्लाका १७ वटा गरी जम्मा २३ वटा लामो तथा छोटो तरीका झोलुङ्गे पुलहरू निर्माण गर्न प्रत्येक पुलको लागि २० लाखका दरले कुल चार करोड ६० लाख रुपियाँ विनियोजन भई आएको पूर्वाधार विकास कार्यालय उदयपुरका सूचना अधिकारी इन्जिनियर मित्रमणि निरौलाले बताउनुभयो ।

सूचना अधिकारी निरौलाका अनुसार अब भने १२० मिटर लामो उदयपुरको त्रियुगा नगरपालिका–१२ को बरुवा खोला झोलुङ्गे पुल, कटारी नगरपालिका–८ को सुनकोसी नदीमा निर्माणाधीन चिपटार झोलुङ्गे पुल, चौदण्डिगढी नगरपालिका–१० स्थित विनगर खैराहाझोडा जोड्ने चार सय मिटर लामो त्रियुगा नदीको झोलुङ्गे पुल, उदयपुगढी गाउँपालिका–७ स्थित अँधेरी खोला झोलुङ्गे पुलको निर्माण कार्य एकैसाथ अगाडि बढ्ने निश्चित भएको छ ।

उहाँका अनुसार साउन महिनाबाट ठेक्का प्रक्रियाका लागि काम अगाडि बढाइने हुँदा आर्थिक वर्ष २०७९।०८० मा रौतामाई गाउँपालिका–७ स्थित पुवारे धाप झोलुङ्गे पुल, त्रियुगा नगरपालिका–१२ स्थित त्रियुगा नदीको विसनपुर झोलुङ्गे पुल, वेलका नगरपालिका–४ स्थित विज्ञानचोक रातापानी जोड्ने गिदेरी खोला झोलुङ्गे पुल निर्माणको कामले गति लिने छ । 

त्यस्तै खोटाङ जिल्लास्थित केपिलासगढी–ऐसेँलुखर्क जोड्ने रावाखोला झोलुङ्गे पुल, वराहापोखरी गाउँपालिकास्थित लवुवा खोला झोलुङ्गे पुल र हलेसी, तुवाचुङस्थित थिगुवा बाडेटार जोड्ने झोलुङ्गे पुल निर्माणको काम अलपत्र हुँदै आएकोमा अब बजेट विनियोजन भई आएकोले निर्माणको काम अगाडि बढाउन कार्यालयलाई सहज भएको सूचना अधिकारी निरौलाले बताउनुभयो ।सो कार्यालयले खोटाङ जिल्लाअन्तर्गतका विभिन्न झोलुङ्गे पुल तथा सोसँग सम्बन्धित सडकसमेतको निर्माण गर्दै आएको छ ।