पानीका मुहान संरक्षण गर्दै पालिका
गुराँस गाउँपालिकाले पानीको मुहान संरक्षण र नयाँ आयोजनाको सर्वेक्षण कार्यक्रम अघि बढाएको छ। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा गाउँपालिकाले बृहत् खानेपानी योजना निर्माण गर्न सर्वेक्षण कार्य सुरु गरेको हो। गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीका अनुसार एक घर एक धारा निर्माणका लागि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँग छलफल गरी गाउँपालिकाभित्र रहेका पानीको मुहानको खोजी र नयाँ योजनाको सर्वेक्षण थालिएको हो।
लाइसेन्स वितरणमा समस्या
यातायात व्यवस्था कार्यालयले सञ्चालन गर्ने आईडीएल सफ्टवेयरमा देखिएको समस्याका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण हुन सकेको छैन। साउन महिनाबाट लाइसेन्स वितरण गर्ने अनुमति पाएको यातायात व्यवस्था कार्यालय दिपायल र डडेल्धुराले हालसम्म लाइसेन्स वितरण गर्न सकेको छैन।
सुदूरपश्चिम प्रदेशमा समानुपातिकबाट सत्र महिला
प्रत्यक्षबाट महिला प्रतिनिधित्व शून्य रहेको सुदूरपश्चिम प्रदेशमा समानुपातिकबाट १७ जना महिलाको प्रदेश सभामा प्रतिनिधित्व हुँदै छ। प्रत्यक्षमा महिलालाई टिकटबाट वञ्चित गरेका राजनीतिक दलहरूले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउन समानुपातिकबाट १७ जना महिलालाई प्रदेश सभा सदस्यका लागि छान्न लागेका हुन्।
नदीजन्य पदार्थको अवैध उत्खनन, ठेक्का नलाग्दा राजस्व गुम्दै
दाङ देउखुरीमा नदीजन्य पदार्थको अवैध उत्खनन बढ्न थालेको छ। स्थानीय सरकारले समयमै ठेक्का लगाई उत्खननको अनुमति नदिएकाले अवैध उत्खनन बढ्न थालेको हो। भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ नखोल्दा सेवाग्राही मर्कामा परिरहेका छन्। यता विचौलियाले अवैध उत्खनन गर्दा राजस्व गुमेको छ।
एक घण्टाको यात्रा पाँच मिनेटमा
झोलुङ्गे पुलहरूको जिल्लाका रूपमा चर्चा कमाएको बागलुङमा फेरि एउटा लामो तथा अग्लो झोलुङ्गे पुल थपिएको छ। बागलुङ नगरपालिका–४, कुँडुले फाँटदेखि म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौर जोड्ने ढोडेनी खोलामाथिमा ३८८ मिटर लामो र १७० मिटर अग्लो पुल निर्माण गरिएको हो। यसअघि बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि नेपालकै लामो र अग्लो झोलुङ्गे पुल (गण्डकी गोल्डेन ब्रिज) निर्माण गरिएको थियो। ढोडेनी खोलामा पुल निर्माण भए पछि एक घण्टाको पैदल यात्रा पाँच मिनेटमा सीमित भएको छ। बर्खामा खोला तर्न र घुमाउरोबाटो धेरै समय खर्च गरेर हिँड्नुपर्ने समस्याको अन्त्य भएको बागलुङ नगरपालिका–४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले बताउनुभयो।
बुटवल–नारायणगढ सडक निर्माण पूरा हुने आशा पलायो
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल–नारायणगढ सडकको निर्माणका लागि पुनः म्याद थपिएपछि निर्माण कार्यले तीव्रता पाउन थालेको छ। निर्माण सुरु गरिएको ४२ महिनासम्म सम्पन्न हुन नसकेको सो सडकखण्ड अब भने पूरा हुने आशा गरिएको छ। यस ४२ महिनामा १८ प्रतिशत मात्र काम भएको थियो। सरकारले ३८६ दिनका लागि पुनः म्याद थपेपछि सडक निर्माणले तीव्रता पाएको बुटवल–नारायणगढ सडकखण्ड सरकारी पक्षका प्रमुख इन्जिनियर रमेश दृष्टिले बताउनुभयो।
आँखाका बिरामीलाई निःशुल्क ई–रिक्सा
धनुषाको ढल्केबरस्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले आँखाका बिरामीका लागि निःशुल्क ई–रिक्साको व्यवस्था गरेको छ। अस्पतालले आँखा जँचाउन आउनेजाने बिरामीका लागि ई–रिक्साको निःशुल्क व्यवस्था गरेको हो। आँखा जाँच गराउने आउनेहरूलाई सहजताका लागि निःशुल्क ई–रिक्साको व्यवस्था मिलाइएको रेयुकाई एईको मासुनागा आँखा अस्पतालका महासचिव हीरामणि शर्माले बताउनुभयो। उहाँले आँखाका बिरामीलाई थप आर्थिक भार नपरोस् भनेर यो व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
आलुको बजारीकरण जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’
रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उहाँले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्नुहुन्छ ।
डोटीमा चितुवा आतंक : आक्रमणबाट ६ जना घाइते
डोटीमा चितुवाको आक्रमणमा परी ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका ५ बटाला गाउँका ६ जना घाइते भएका हुन्।