• १७ असार २०८१, सोमबार

झोलुङ्गे पुल निर्माण

एक घण्टाको यात्रा पाँच मिनेटमा

blog

फाइल तस्बिर

बागलुङ समाचारदाता

बागलुङ, मङ्सिर २१ गते । झोलुङ्गे पुलहरूको जिल्लाका रूपमा चर्चा कमाएको बागलुङमा फेरि एउटा लामो तथा अग्लो झोलुङ्गे पुल थपिएको छ। बागलुङ नगरपालिका–४, कुँडुले फाँटदेखि म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौर जोड्ने ढोडेनी खोलामाथिमा ३८८ मिटर लामो र १७० मिटर अग्लो पुल निर्माण गरिएको हो। 

यसअघि बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि नेपालकै लामो र अग्लो झोलुङ्गे पुल (गण्डकी गोल्डेन ब्रिज) निर्माण गरिएको थियो। ढोडेनी खोलामा पुल निर्माण भए पछि एक घण्टाको पैदल यात्रा पाँच मिनेटमा सीमित भएको छ। बर्खामा खोला तर्न र घुमाउरोबाटो धेरै समय खर्च गरेर हिँड्नुपर्ने समस्याको अन्त्य भएको बागलुङ नगरपालिका–४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले बताउनुभयो। 

अहिले पुलबाट वारपार गर्ने भन्दा पनि अवलोकनका लागि पुग्नेको सङ्ख्यामा उल्लेख्य रूपमा वृद्धि भएको छ। पुल निर्माण सम्पन्न भए पनि हस्तान्तरणको काम बाँकी रहेको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो। उक्त पुल निर्माणमा तीन करोड ५० लाख रुपियाँ खर्च भएको छ। सम्झौता मितिको करिब चार महिना ढिला गरी पुल निर्माण सम्पन्न भएको हो। गएको असार मसान्तभित्र काम सक्ने गरी गत वर्षको असोजमा पुल शिलान्यास गरिएको थियो। पुल निर्माणका लागि बागलुङतर्फ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटालगायतले करिब डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो। 

म्याग्दी जिल्लाको रत्नेचौर र ज्यामरुककोट आसपासका क्षेत्रका स्थानीयले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार र व्यापार व्यवसायलगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहजता थपेको छ।  पुल निर्माणसँगै धार्मिक गन्तव्यका रूपमा विकास भइरहेको बागलुङको पञ्चकोट र कुँडुलेमा रहेको सालग्राम सङ्ग्रहालय अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ।