सुविधाको ल्यापटप फिर्ता गर्न अटेर
सुदूरपश्चिम प्रदेश सभाका १५ जना निवर्तमान प्रदेश सभा सदस्यले सुविधाको ल्यापटप अझै फिर्ता गर्नुभएको छैन। सुविधाका लागि दिइएको ल्यापटप १५ जना निवर्तमान सदस्यसहित एक जना स्वकीय सचिवले फिर्ता गर्न बाँकी रहेको जनाइएको छ।
फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा जुटे स्थानीयवासी
सफा र स्वच्छ अपि हिमाल निर्माणका लागि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य भइरहेको छ।
१० वटा विद्यालय भवन पुनर्निर्माण हुन सकेनन्
गत २०७२ को भूकम्पले क्षति भएका दोलखाका १० वटा सामुदायिक विद्यालय भवन अझैसम्म पनि पुनर्निर्माण हुन सकेका छैनन् ।
कामधन्दा सकेर फुर्सदमा पढाइ
कालीकोटको शुभकालिका गाउँपालिका–७ की शर्मिला विक कक्षा ८ मा पढ्नुहुन्छ। उहाँले पढ्ने विद्यालय र घरको दूरी निकै टाढा छ। विद्यालय पुग्न डेढ घण्टाको बाटो हिँड्नुपर्छ। भीरपाखा छिचोलेर हिँड्नुपर्ने उक्त बाटोमा बीचमा जङ्गल पनि पर्छ। जङ्गली जनावरले आक्रमण गर्ने जोखिम उत्तिकै हुन्छ। विपन्न परिवारकी उहाँलाई कापी कलमकै जोहो गर्न कठिन छ। थुप्रै अभाव र अप्ठ्यारासँग सङ्घर्ष गर्दै पढिरहेकी शर्मिला नियमित विद्यालय भने जान पाउनुहुन्न। घरायसी काम र मेलापातमा अभिभावकलाई सघाएर बचेको समयमा मात्रै उहाँ विद्यालय जानुहुन्छ। उहाँ भन्नुहुन्छ, “मैले घरको सबै काम धान्नुपर्छ, घरधन्दाको कामले गर्दा नियमित विद्यालय जान पाइँदैन।”
कृषियोग्य जमिनको वर्गीकरण थालनी
कृषिलाई प्रतिफलमुखी बनाउने उद्देश्यले यहाँको म्याग्दे गाउँपालिकाले भूमि वर्गीकरणको कार्य गरिरहेको छ। वर्गीकरणका लागि विभिन्न १८ चरण पार गर्नुका साथै भू–उपयोग योजना किताबसमेत प्रकाशित गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार अमिनलाई तालिम र चार महिना लगाएर परामर्श सेवाबाट विवरण लिई भूउपयोग ऐन, २०७६ का आधारमा डिजिटलाइजेसन गरिएको छ। भू–उपयोग परिषद् गठन गरिसकिएको छ। वडास्तरमा अन्तत्र्रिmया, ८२ वटा टोलमा माइकिङ, गाउँपालिकाका सबै विवरण सङ्कलन र दर्ता, सातवटै वडाको भू–उपयोग योजना, तयारी र निर्माण गरिसकिएको छ। यस्तै सडक विवरण र मापदण्ड तय, भू–उपयोग योजना कार्यान्वयन समिति, परिषद् गठन, स्वीकृतिको सूचना प्रकाशन र भूमि वर्गीकरण प्रतिवेदन पठाउने कार्यलगायत १८ चरणका काम भइसकेका छन्।
दाउराको उज्यालोमा प्रसूति सेवा
रुकुमपूर्वको सबैभन्दा बढी सुत्केरी हुने सिस्ने स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा आधारभूत आवश्यकताका सामानसमेत अभाव छ। राति आएका बिरामी, सुत्केरी हुने र गर्भवतीको उपचार गर्नु परेमा दाउरा बालेर सेवा दिनुपर्ने अवस्था छ। ‘बर्थिङ सेन्टर’मा कार्यरत अनमी राधिका केसीले गर्भवती जाँच र सुत्केरी सेवा दाउरा बालेको उज्यालोकै भरमा दिने गरेको बताउनुभयो। उहाँले दुर्गमका गर्भवती महिलाले भोग्नु परेका समस्या र न्यूनतम आधारभूत सामग्रीको अभावमा बर्थिङ सेन्टरमा उच्च जोखिम मोलेर सुत्केरी गराउँदा निकै सकस हुने गरेको पीडा पोख्नुभयो।
टोलटोलमै न्याय सम्पादन
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको न्यायिक समितिले टोलटोलमै पुगेर न्याय सम्पादन गर्न थालेको छ। गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक बीना राईको नेतृत्वको टोलीले चालू आर्थिक वर्षमा पाँचवटा उजुरी यथास्थानमै पुगेर न्याय सम्पादनको काम गरेका हो। न्यायिक समितिमा परेको उजुरीमा वादी–प्रतिवादी दुवैलाई गाउँपालिका झिकाइ दर्जनाँै पटक छलफल गराइन्थ्यो तर पछिल्लो समय न्यायिक समिति आफैँ उजुरीकर्ताको घरमा पुग्दा स्थानीयले खुसी व्यक्त गरेका छन्।
हलेसी मन्दिरमा सीसी क्यामरा जडान
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानस्थित त्रि–धार्मिक स्थल हलेसी मन्दिर परिसरमा पुनः सीसी क्यामरा जडान गरिएको छ। मन्दिरको सुरक्षाका र आपराधिक क्रियाकलाप हुन नदिन पुनः क्यामरा जडान गरिएको नगरपालिकाका मेयर विमला राईले जानकारी दिनुभयो। पहिले जडान गरिएको क्यामरा चट्याङले बिगारेपछि एक वर्ष हलेसी मन्दिर सीसी क्यामराविहीन बनेको थियो। क्यामरा नहुँदा मन्दिरको भेटीलगायत विभिन्न सामान हराएपछि मेयर राईको निर्देशनमा पुनः जडान गरिएको नगर प्रवक्ता एवं वडाध्यक्ष कमल गिरीले बताउनुभयो।
बीस पुगी विवाह गर्ने छोरीलाई आधा लाख
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपियाँ प्रदान गर्न सुरु गरेको छ। गएको वैशाखमा स्थानीय तह निर्वाचनपछि बसेको पहिलो कार्यपालिका बैठकले कक्षा १२ को अध्ययन पूरा गरी २० वर्ष पार गरेपछि विवाह गर्ने गाउँपालिकाभित्रका छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेको थियो।