• १९ असार २०८१, बुधबार

बीस पुगी विवाह गर्ने छोरीलाई आधा लाख

blog

जनार्जन खत्री

सर्लाही, मङ्सिर २४ गते  । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपियाँ प्रदान गर्न सुरु गरेको छ। 

गएको वैशाखमा स्थानीय तह निर्वाचनपछि बसेको पहिलो कार्यपालिका बैठकले कक्षा १२ को अध्ययन पूरा गरी २० वर्ष पार गरेपछि विवाह गर्ने गाउँपालिकाभित्रका छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेको थियो। 

चन्द्रनगर गाउँपालिका–२, बबरगञ्ज दनुवारी टोल बस्ने हरदेव कुँमर दनुवारकी छोरी रेणुकुमारी सिंहलाई गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले विवाह मण्डपमै पुगेर ५० हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभएको हो। उक्त निर्णयानुसार गाउँपालिकाको तर्फबाट शुक्रबार उहाँले पहिलो पटक यस्तो रकम दिनुभएको हो। 

बाइस वर्षीया रेणुकुमारीले गाउँकै दुर्गा खोभारी माध्यमिक विद्यालय बबरगञ्जबाट कक्षा १२ उत्तीर्ण गर्नुभएको छ। गाउँपालिका अध्यक्ष महतोले अब पालिकाभित्रका अन्य 

छोरीहरूले पनि यसैगरी कक्षा १२ उतीर्ण गरी २० वर्ष पुगेपछि मात्रै विवाह गरे गाउँपालिकाले विवाह कार्यक्रममै गएर ५० हजार रुपियाँ प्रदान गर्ने बताउनुभएको छ। 

बालविवाह अन्त्य र छोरीहरूको उच्च शिक्षामा पहुँच बढाउने उद्देश्यले पद बहाली गर्दा नै यो कार्यक्रम लागू गर्ने पहिलो निर्णय गरेको गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो। गाउँपालिका अध्यक्ष महतोले भन्नुभयो, “मधेशमा बालविवाहको दर धेरै छ, हाम्रै गाउँपालिकाभित्र पनि ६५ प्रतिशत बालविवाह हुने गरेको देखियो। बालविवाहको अन्त्य गर्न र छोरीहरूको उच्च शिक्षामा पहुँच बढाउनका लागि कक्षा १२ पढेर २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने छोरीहरूलाई विवाह मण्डपमै गएर प्रोत्साहन तथा सम्मान स्वरूप ५० हजार रुपियाँ प्रदान गर्न सुरु गरेका हौँ।” 

१२ कक्षा उत्तीर्ण भएपछि पनि छोरीले स्नातक तह अध्ययनका लागि भर्ना भएर कागजात पेस गरे गाउँपालिकाले थप ११ हजार रुपियाँ सहयोग गर्ने अध्यक्ष महतोले बताउनुभयो। उहाँले शुक्रबार पहिलो पटक सम्मान गरिएको छोरीको दाइजो बिनै विवाह भएको देख्दा आफूहरू झनै खुसी भएको बताउनुभएको छ।  रेणुकुमारीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोल बस्ने २९ वर्षीय जितेन्द्र सिंहसँग दाइजोबिना नै विवाह भएको हो। रेणुकुमारीका बुवा हरदेव कुँमर दनुवारले छोरीलाई दाइजो नदिएर विवाह गरेको बताउनुभयो। 

आफूले यसअघि जेठी छोरीको पनि दाइजो नदिई विवाह गरेको कुँमरले बताउनुभयो। गाउँपालिकाले छोरीलाई विवाह मण्डपमै आएर सम्मान गर्दै पैसा दिँदा निकै खुसी लागेको कुँमरले बताउनुभयो।  गाउँपालिका अध्यक्षबाट ५० हजार रुपियाँको चेक बुझ्दै रेणुकुमारीले अन्य छोरीहरूलाई पनि आफूले जस्तै उच्च शिक्षा हासिल गर्न र उमेर पुगेपछि मात्रै विवाह गर्न सुझाव दिनुभएको छ।