• ३० वैशाख २०८२, मङ्गलबार

काभ्रेमा बाढीमा बगेकी महिलाको खोजी जारी

blog

ढलमल खोलामा आएको बाढीमा परेर बेपत्ता हुनुभएको महिलाको खोजी गरिँदै । तस्बिर : सशस्त्र प्रहरी

काभ्रे, वैशाख ३० गते । काभ्रेको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा बेपत्ता भएका महिलाको खोजीकार्यका लागि विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले सोमबार अविरल वर्षाका कारण ढलमल खोलामा आएको बाढीमा परेर सोही ठाउँ बस्ने ३५ वर्षीया रेनुका गिरी बेपत्ता हुनुभएको जानकारी दिनुभयो ।

खेतबारीबाट काम गरी घर फर्कने क्रममा उहाँलाई सोमबार साँझ खोलाले बगाएको थियो ।

डिएसपी थापाका अनुसार उहाँको खोजीका लागि मङ्गलबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वनाथ जिसीको कमाण्डमा विपद् व्यवस्थापनसहितको टोली परिचालन भएको छ ।

सोमबार घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेश पनौतीबाट सशस्त्र प्रहरी निरीक्षक भिमसेन केसीको कमाण्डमा खटिएको सुरक्षा फौजले उहाँको खोजी गरेको थियो ।