केशब राज भट्ट
बैतडी, वैशाख ३० गते । स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएपछि पालिका तथा वडा कार्यालयको सेवा प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय सेवा ऐन जारी गर्नुपर्ने भन्दै स्थानीय तहका कर्मचारीहरु आइतबारदेखि कार्यालयमा तालावन्दी गरेर आन्दोलनमा उत्रिएका हुन् ।
प्रदेशका अन्य स्थानीय तहजस्तै बैतडीका १० वटै स्थानीय तहमा कर्मचारीहरुले अत्यावश्यक बाहेकका सेवा अवरुद्ध गरेका छन् ।
कर्मचारीहरु तालाबन्दी गरेर आन्दोलनमा उत्रेपछि सेवा प्रभावित भएको छ । कर्मचारीहरु आन्दोलित भएपछि नगरपालिका कार्यालयमा आएका सेवाग्राही काम नगरी रित्तै फर्किरहेको पाटन नगरपालिका-४ का हरिष भट्टले बताउनुभयो । पुर्चौडी नगरपालिकामा कर्मचारीले तालाबन्दी गरेर आन्दोलनमा उत्रेपछि सेवा प्रभावित भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताउनुभयो ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलन सशक्त बनाउने भन्दै मंगलवार प्रदेशको अस्थायी राजधानी धनगढी तर्फ हिँड्नुभएको छ । पालिकामा अत्यावश्यक बाहेकका सेवा उपलब्ध गराउन नसकिने पालिकाहरुले कर्मचारीहरुले सूचना मार्फत जानकारी गराएका छन् ।
स्थानीय सेवा ऐन नल्याउँदा कर्मचारीहरुको वृति विकासमा असर परेको कर्मचारीहरुको गुनासो छ । देश संघीय संरचना गईसकेपछि ६ ओटा प्रदेशले स्थानीय सेवा ऐन जारी गरेर लागू गरिसक्दा समेत सुदूरपश्चिममा ऐन नआउँदा समस्या भएको सूर्नया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले बताउनुभयो ।
यस्तै, कर्मचारीहरु आन्दोलनमा उत्रेपछि नगरपलिकामा काम नभएर घर फर्किनु परेको दशरथचन्द नगरपालिका-२ का लक्ष्मण बोहराले बताउनुभयो ।