• १९ असार २०८१, बुधबार

टोलटोलमै न्याय सम्पादन

blog

सन्तोष राउत

सोलुखुम्बु, मङ्सिर २४ गते । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको न्यायिक समितिले टोलटोलमै पुगेर न्याय सम्पादन गर्न थालेको छ। गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक बीना राईको नेतृत्वको टोलीले चालू आर्थिक वर्षमा पाँचवटा उजुरी यथास्थानमै पुगेर न्याय सम्पादनको काम गरेका हो।

न्यायिक समितिमा परेको उजुरीमा वादी–प्रतिवादी दुवैलाई गाउँपालिका झिकाइ दर्जनाँै पटक छलफल गराइन्थ्यो तर पछिल्लो समय न्यायिक समिति आफैँ उजुरीकर्ताको घरमा पुग्दा स्थानीयले खुसी व्यक्त गरेका छन्। 

छिमेकीले जग्गाको साँध सिमाना मिचेको विषयमा वडा नम्बर १ को विकट गाउँ टुहुरेमा बस्दै आउनुभएका नेचासल्यान–२ का ८० वर्षीय तिलकध्वज राईले दिएको उजुरी सोही स्थानमा पुगेर छलफल गराइएको थियो। छिमेकीले बारीमा लगाएको अन्नबालीमा पशु चौपाया छोडिदिने, रुख बिरुवा काटेर लगिदिने गरेकोले कारबाही गरी आफुलाई न्याय दिलाउन उहाँले माग गर्नुभएको थियो।

दुईवटै वडाका वडाध्यक्ष तथा समितिका सदस्यसहित आफू उजुरकर्ताको घरमै पुगेर छलफलबाट मुद्दाको किनारा लगाएको उपाध्यक्ष राईले बताउनुभयो। पालिकाको इजलासमा बोलाउने र जनतालाई दुःख दिने परिपाटीको अन्त्य गर्दै जनतालाई सहज सेवा प्रदान गर्न सम्बन्धित स्थलमै पुगेर न्यायिक निरूपण गर्ने अभियान थालेको उपाध्यक्ष राईको भनाइ छ। घरमै आएर फैसला गरिँदा गरिब र वृद्धहरूले सहज रूपमा न्याय पाएको ८० वर्षीय तिलकध्वज राईको भनाइ छ। 

नेचासल्यान–३ का खिलनाथ भट्टराईले पनि चार महिनाअघि सडक उपभोक्ता समितिले बाटो खन्दा आफ्नो जग्गा मिचेको भन्दै न्यायिक समितिमा उजुरी गर्नुभएको थियो। उपाध्यक्षसहितको टोली विवादित थलोमै पुगेर दुई पक्षलाई झिकाएर गरिएको छलफलपछि उजुरी किनारा लगाइएको थियो। नेचासल्यान गाउँपालिकामा चालू आर्थिक वर्षको पाँच महिनामा २० वटा उजुरी न्यायिक समितिमा परेका छन्। त्यस मध्ये १२ वटा उजुरीको न्यायिक निरुपण भइसकेको र बाँकी प्रक्रियामा रहेको पालिकाले जनाएको छ।