• १९ असार २०८१, बुधबार

हलेसी मन्दिरमा सीसी क्यामरा जडान

blog

राजकुमार भट्टराई  

खोटाङ, मङ्सिर २४ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानस्थित त्रि–धार्मिक स्थल हलेसी मन्दिर परिसरमा पुनः सीसी क्यामरा जडान गरिएको छ। मन्दिरको सुरक्षाका र आपराधिक क्रियाकलाप हुन नदिन पुनः क्यामरा जडान गरिएको नगरपालिकाका मेयर विमला राईले जानकारी दिनुभयो।  

पहिले जडान गरिएको क्यामरा चट्याङले बिगारेपछि एक वर्ष हलेसी मन्दिर सीसी क्यामराविहीन बनेको थियो। क्यामरा नहुँदा मन्दिरको भेटीलगायत विभिन्न सामान हराएपछि मेयर राईको निर्देशनमा पुनः जडान गरिएको नगर प्रवक्ता एवं वडाध्यक्ष कमल गिरीले बताउनुभयो। 

सुरुमा हलेसी महादेव मन्दिर व्यवस्थापन समिति र हलेसी महादेव स्थान विकास समितिको १५ लाख बजेटमा जडान गरिएको क्यामरा चट्याङले बिगारेपछि अहिले हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको आठ लाख ६४ हजार बजेटमा १९ वटा क्यामरा जडान गरिएको छ। अध्यारो समयमा पनि प्रस्ट देखिने सीसी क्यामरा ग्यारेज टोल, ट्राफिक चोक, सालपा चोक, रिट्ठाबोटे, मन्दिर प्राङ्गण, डाँडाबजारलगायत मन्दिर परिसरमा जडान गरिएको छ। क्यामराको कन्ट्रोल रुम अर्थात् डेस्टप इलाका प्रहरी कार्यालय हलेसीमा राखिएको वडाध्यक्ष गिरीले बताउनुभयो। अहिले चट्याङले नबिगार्ने गरी वारेन्टी र ग्यारेन्टीसहितको क्यामरा जडान गरिएको उहाँको भनाइ छ। 

धार्मिक तथा सांस्कृतिक रूपले प्रसिद्ध मानिने तीर्थ स्थल हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहि आएको छ। यहाँ हिन्दु, बौद्ध र किराँत धर्म मान्नेहरूले आ–आफ्नै तरिकाले पूजापाठ गर्ने गर्छन्।