• १९ असार २०८१, बुधबार

कृषियोग्य जमिनको वर्गीकरण थालनी

blog

माग्दे गाउँपालिकाले तयार पारेको भू–उपयोग किताब देखाउनुहुँदै प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी । तस्बिर : अमरराज नहर्की

तनहुँ समाचारदाता 

दमौली, मङ्सिर २४ गते । कृषिलाई प्रतिफलमुखी बनाउने उद्देश्यले यहाँको म्याग्दे गाउँपालिकाले भूमि वर्गीकरणको कार्य गरिरहेको छ। वर्गीकरणका लागि विभिन्न १८ चरण पार गर्नुका साथै भू–उपयोग योजना किताबसमेत प्रकाशित गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो। 

प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार अमिनलाई तालिम र चार महिना लगाएर परामर्श सेवाबाट विवरण लिई भू उपयोग ऐन, २०७६ का आधारमा डिजिटलाइजेसन गरिएको छ। भू–उपयोग परिषद् गठन गरिसकिएको छ। वडा स्तरमा अन्तरक्रिया, ८२ वटा टोलमा माइकिङ, गाउँपालिकाका सबै विवरण सङ्कलन र दर्ता, सातवटै वडाको भू–उपयोग योजना, तयारी र निर्माण गरिसकिएको छ। यस्तै सडक विवरण र मापदण्ड तय, भू–उपयोग योजना कार्यान्वयन समिति, परिषद् गठन, स्वीकृतिको सूचना प्रकाशन र भूमि वर्गीकरण प्रतिवेदन पठाउने कार्यलगायत १८ चरणका काम भइसकेका छन्। 

अधिकांश कृषकहरू नाम मात्रैका भएको र व्यावसायिक हुन नसकेकाले प्रतिफलमुखी कृषि बनाउन भूमि वर्गीकरणको कार्य थालनी गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो। “कृषकले दुःख गरिरहेका छन् तर उनीहरूको आर्थिक अवस्था उकास्न सकिएको छैन। जग्गा वर्गीकरण गरी कृषकलाई व्यवसायी बनाई आम्दानी दिलाउने काम तीव्र रूपमा गरिरहेका छौँ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो। खण्डीकृत जमिनमा परम्परागत रूपमा निर्वाहमुखी खेती प्रणालीको अवलम्बन गरिँदा प्रतिफलमुखी नहुने भएकाले वर्गीकरण गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ। 

कृषि विकासका लागि भएका सरकारी प्रयासहरू एकीकृत रूपमा नभई छरिएर जाने गरेकाले प्रतिफलमुखी हुन नसकेको, नाफामूलक व्यवसायका रूपमा स्थापित गर्न नसक्दा यस क्षेत्रमा लगानीका लागि निजी क्षेत्र र रोजगारीका लागि युवा उद्यमीहरू आकर्षित हुन नसकेकाले वर्गीकरण कार्य गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो। “जमिनको वर्गीकरण गरेर परिणाममुखी कृषि पेसा बनाउन चाहेका छौँ,” उपाध्यक्ष घिमिरेले भन्नुभयो। गुणस्तरीय कृषि उत्पादन, सामग्रीहरूको उपलब्धता सुनिश्चित गर्न कृषि उपज उत्पादनमा यान्त्रिकीकरण अवलम्बन गर्न र कृषि विकासका लागि आवश्यक सिँचाइ, कृषि सडक, ग्रामीण विद्युतीकरण, कृषि उद्योगसँगको समन्वय गरी बजारमुखी उत्पादन गरी कृषिलाई व्यवसायका रूपमा अघि बढाउने योजना गाउँपालिकाको छ।