• ९ वैशाख २०८२, मङ्गलबार

एमसिए नेपालद्वारा ४०० केभी दमौली सब स्टेसनको निर्माण सुरु

blog

नयाँ दमौली सब स्टेसन व्यास नगरपालिका–१३ मा काम हुँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख ९ गते । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सब स्टेसन निर्माण सुरु गरेको छ । व्यास नगरपालिका–१३ मा निर्माण सुरु भएको एमसिए–नेपालका कार्यकारी निर्देशक खड्कबहादुर विष्टले जानकारी दिनुभयो ।

निर्माणको लागि गत साउन १६ गते (३१ जुलाई २०२४) भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता भए बमोजिम वैशाख ४ गतेदेखि निर्माण सुरु भएको उहाँले जानकारी दिनुभयो । 

निर्माण सम्पन्न भएपछि नयाँ दमौली सब स्टेसन पनि सोही कम्पनीसँग २०८१ साल जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सब स्टेसन जस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठुला सब स्टेसनमध्ये एउटा बन्नेछ । निर्देशक विष्टका अनुसार उक्त नयाँ दमौली सब स्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सब स्टेसनबिच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्ने छ । 

यी तीनवटै सब स्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान दिने छ । एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजना अन्तर्गत तीन वटा सब स्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । 

अहिले १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणको कार्य अघि बढिरहेको छ । त्यस्तै, बाँकी २९७ किमी प्रसारण लाइन निर्माणका लागि काम अघि बढेको छ ।