• ९ वैशाख २०८२, मङ्गलबार

टीकाराम गौतम स्मृति प्रतिष्ठानद्वारा पुरस्कार वितरण

blog

फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन पत्रकार देवराज गुरुङलाई पुरस्कार वितरण गर्नुहुँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ९ गते ।
ताप्लेजुङस्थित टीकाराम गौतम स्मृति प्रतिष्ठानले पत्रकारसहित दुई व्यक्ति र एक संस्थालाई पुरस्कार वितरण गरेको हो । मङ्गलबार सदरमुकाम फुङ्लिङमा आयोजित १५ औँ स्मृतिसभा कार्यक्रममा प्रतिष्ठानले टीकाराम गौतम स्मृति पुरस्कार वितरण गरेको हो ।

प्रतिष्ठानले टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार रेडियो ताप्लेजुङका स्टेशन म्यानेजर देवराज गुरुङलाई प्रदान गरेको छ । पुरस्कृत गुरुङ लामो समयदेखि जिल्लामा रहेर पत्रकारिता पेशासँगै मानवअधिकार रक्षाको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । यस्तै, टीकाराम गौतम समाजसेवी पुरस्कार फुङ्लिङ नगरपालिका–५ का दिनेश खवासलाई प्रदान गरिएको छ ।

समाजसेवी खवासले ताप्लेजुङमा हालसम्म ब्लड बैङ्क (रक्त सङ्कलन केन्द्र) नरहेको अवस्थामा तत्काल विरामीहरुलाई रगतको आवश्यक पर्दा रक्त समूह अनुसार रक्तदान गर्ने तथा रगत उपलब्ध गराउने व्यक्तिको खोजी गरी बिरामीलाई सहयोग पु¥याउँदै आउनुभएको छ ।

त्यस्तै, ताप्लेजुङका रेडक्रस उपशाखाहरुमध्ये फुङ्लिङ उपशाखालाई उत्कृष्ट छनोट गरी प्रतिष्ठानले पुरस्कृत गरेको छ । यता पुरस्कृत व्यक्ति तथा संस्थालाई फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पुरस्कार वितरण गर्नभएको छ । पत्रकार तथा समाजसेवी व्यक्तिलाई सम्मानपत्रसहित जनही १० हजार १०५ रुपियाँ राशिको नगद पुरस्कार र संस्थातर्फ रेडक्रस उपशाखालाई १५ हजार १०५ रुपियाँ राशीको नगद पुरस्कार प्रदान गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाका तत्कालीन सभापति टीकाराम गौतमको २०६६ कात्तिक ११ गते हृदयघात भई निधन भएको थियो । २०१३ वैशाख ९ गते जन्मनुभएका गौतमको निधनपछि उहाँका परिवारले प्रतिष्ठान स्थापना गरी २०६९ देखि प्रत्येक वर्ष दिवंगत गौतमको जन्मदिनको दिन वैशाख ९ गते पुरस्कार वितरण कार्यक्रम गर्ने गरिएको छ ।