बिन्दु थापा
पाल्पा, वैशाख ९ गते । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर पाल्पाको विद्युत् आपूर्ति व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले कालीगण्डकी रिडी १३२ केभी प्रसारण लाइन आयोजनाबाट विद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएकोमा आयोजना नै आर्थिक अभावमा गुज्रिएको अवस्थामा बजेटका लागि सामूहिक पहल गर्न आवश्यक रहेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले आज आयोजना गरेको सर्वपक्षिय बैठकमा सभामुख घर्ती मगरले भन्नुभयो, “कर्मचारीबाट पहल भएको होला त्यसले पुगेन, पोलिटिकल पहल पनि गर्नुपर्छ, यो सरोकारको विषय हामी सबैको हो ।’’
उहाँले आयोजनामा समस्या देखिएकाले सम्पन्न गर्न सङ्घीय सरकारमा लविङ र पहलकदमी लिन आवश्यक रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशसभाका सदस्य वीरबहादुर रानाले साझा समस्यालाई राजनीतिकभन्दा माथि राखेर हल गर्न सकिने बताउनुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीको अध्यक्षतामा जिल्लाका राजनीतिक दलका प्रमुखहरू, जिल्ला समन्वय समितिका प्रमुख, पालिकाका प्रमुख/अध्यक्षहरू, जिल्लाका सम्बन्धित कार्यालय प्रमुखहरूको उपस्थितिमा बसेको बैठकले आयोजनाका लागि बजेटको माग गर्ने, आयोजना सञ्चालनको क्रममा देखिएको मुआब्जा, वन क्षेत्रका समस्या हल गर्न निर्णय समेत गरेको छ ।
२०७५ सालमा स्थापना गरिएको कालीगण्डकी रिडी १३२ केभी प्रसारण लाइन आयोजना सम्पन्न गर्न उद्योग मन्त्रालय, अर्थ मन्त्रालय उर्जा मन्त्रालय विद्युत् प्राधिकरणबिच सम्झौता भएको थियो । आयोजना सम्पन्न गर्न एक अर्ब ४५ करोड स्वीकृत लागत रहेको छ । आयोजनाको भौतिक प्रगति ६९.६४ प्रतिशत र वित्तीय प्रगति ४५ प्रतिशत रहेपनि भुक्तानी गर्ने रकम नहुँदा आयोजनाले गति लिन नसकेको कालीगण्डकी रिडी १३२ केभी प्रसारण लाइन आयोजना आयोजना प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।
२०७५ सालमा स्थापना भएको यो आयोजनाले सिजी सिमेन्ट उद्योग, तानसेन खानेपानी आयोजना र पाल्पा जिल्लामा विद्युत् आपूर्ति सहज बनाउने उद्देश्य लिएको छ । आयोजना सम्पन्न गर्न अझै ८० करोड बजेट आवश्यक रहेको छ । चालु आवमा केही बजेट व्यवस्था भए पनि उद्योग मन्त्रालयले सहजीकरण नगर्दा निकास हुन नसकेको आयोजना प्रमुखले जानकारी दिनुभयो । विद्युत लाइन विस्तारको क्रममा टावर बनाउदा अर्गलीमा गूठीको सन्दर्भमा मुआब्जा र वन क्षेत्रमा केही समस्या देखिएको प्रमुख पौडेलले बताउनुभयो ।
अहिले पाल्पामा बुटवलबाट ३३ केभीको विद्युत् लाइनबाट आपूर्ति व्यवस्थापन गरिएको छ । बुटवल ३३ केभि पाल्पा आउँदा घटेर २८.५ केभी सम्म झर्ने गरेकाले विद्युत् सामाग्री नचल्ने समस्या देखिएको छ । आयोजनाले कालीगण्डकी जलविद्युतबाट लाइन विस्तार गर्ने गरी काम सुरु गरेको हो । यसले विद्युत् आपूर्तिमा सहज हुने अपेक्षा गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, लुम्बिनी प्रादेशिक कार्यालय पाल्पा वितरण केन्द्रका प्रमुख इ. दिलिप मरासिनीले पाल्पामा विद्युतका ग्राहक ४० हजार आठ सय ४४ रहेको र विद्युतको माग बढेको जानकारी गराउँदै पाल्पामा १३३/३३/११ केभीको सब स्टेसन नबनाउँदा सम्म माग पूरा गर्न नसकिने बताउनुभयो ।