फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख ९ गते । कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । महानगरपालिकाको उजुरी फछ्र्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत गिरीलाई गएको चैत ७ गते अख्तियारले नियन्त्रणमा लिएको थियो ।
‘‘गिरीले अख्तियारमा उजुरी परी पत्र आएको छ, उक्त उजुरीसँग सम्बन्धित प्रमाण मेटाई दिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको’’ भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले उहाँलाई सेवाग्राहीसँग २५ हजार लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा गिरीले सेवाग्राहीसँग रकम माग गरी लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । उहाँविरुद्ध कसुरमा बिगो २५ हजार कायम गरी बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको हो ।