• ९ वैशाख २०८२, मङ्गलबार

गुल्मी महोत्सव व्यस्त प्रेम

blog

कृषक प्रेम नेपाली

रमेश विश्वकर्मा 

गुल्मी, वैशाख ९ गते। गुल्मीको सदरमुकाम तम्घासमा जारी दोस्रो गुल्मी महोत्सवको ८ नम्बर स्टलमा कृषि उपज बिक्रीवितरणका लागि राखिएको छ। जिल्लामा उत्पादित कृषि उपजको बजारीकरण र प्रवर्धनका लागि आयोजक गुल्मी चेम्बर अफ कमर्सले निःशुल्क स्टल उपलब्ध गराएको छ। यस स्टलमा मौसमी तथा बेमौसमी तरकारी तथा तरकारीका बिरुवा अवलोकनका लागि मात्र होइन, बिक्रीवितरणका लागि पनि राखिएको छ। 

रेसुङ्गा नगरपालिका–६ सिमाघाट र धुर्कोट गाउँपालिका–४ मा अवस्थित आरएनपी नवोदय बहुउद्देश्यीय कृषि फर्मबाट उत्पादित कृषि उपजहरू अहिले यस स्टलमा बिक्रीवितरणका लागि राखिएको हो। यो स्टलमा अहिले बेमौसमी मेरिगोल्ड फूलको बिरुवा, गोलो लौका, टिमुर, कुरिलो, तिते करेला, तोरी घिरौलालगायतका बिरुवा बिक्रीवितरण भइरहेको कृषक प्रेम नेपालीले बताउनुभयो। अहिले बिरुवा लगाउने समय पनि भएकाले तरकारी तथा फलफूलका बिरुवा धेरै बिक्रीवितरण भइरहेको उहाँले बताउनुभयो। 

‘व्यापार पनि राम्रो भइरहेको छ। दिनभर बिक्रीवितरणमा व्यस्त भइन्छ।’ नेपालीले भन्नुभयो, ‘अहिले विभिन्न बेमौसमी फूलका बिरुवासँगै तरकारीका बिरुवा बिक्रीवितरण भइरहेको छ।’ यसका साथै ब्रोकाउली, जिरी सागको पनि राम्रो व्यापार भइरहेको नेपालीले बताउनुभयो। ‘जिरी साग भारतमा प्रतिकेजी १२ सय पर्छ। यसलाई सलादका रूपमा र ब्रगरमा पनि सजाएर प्रयोग गर्ने गरिन्छ।’ उहाँले भन्नुभयो, ‘सस्तो मूल्यमा यसको बिक्रीवितरण भइरहेकाले छ।’ मेला सञ्चालन भएको चार दिनको अवधिमा यस स्टलबाट २५ सय विभिन्न प्रजातीका तरकारी तथा फलफूलजन्य बिरुवाको बेर्ना बिक्रीवितरण भइसकेको उहाँले बताउनुभयो।

टिपुर र धुपिको बिरुवा एक सय रुपियाँ र अरू तरकारीका बेर्नाहरू प्रति ५० रुपियाँका दरले बिक्री वितरण भइरहेको छ। लगाउने समय भएका कारण पनि यतिबेला कृषकहरूको ध्यान यस स्टलमा केन्द्रित भएको छ। नेपाली व्यावसायिक कृषक हुुनुहुन्छ। आरएनपी नवोदय बहुउद्देश्य कृषि फर्म दर्ता गरी उहाँले झण्डै एक दशकदेखि व्यावसायिक कृषिमा लाग्नुभएको हो। यस फर्मबाट बेमौसमी तरकारी, खाद्यान्न, पशुपालन, मत्स्य पालन, स्ट्राबेरी खेती, फूल खेती हुँदै आएको नेपालीले बताउनुभयो। १२० रोपनी क्षेत्रफलको जग्गा भाडामा लिएर उहाँले कृषि गर्दै आउनुभएको छ। त्यसमध्ये ८५ रोपनी क्षेत्रफल जग्गामा हाल विभिन्न कृषि उपज उत्पादन भइरहेका छन्। ३५ रोपनी क्षेत्रफलमा घाँस खेती गरिरहेको बताउनुभयो। 

भाडामा वार्षिक डेढ लाख खर्चिने गर्नुभएको छ। अहिले नेपालीको फर्मबाट दैनिक दुई क्विन्टल ब्रोकाउली बिक्रीवितरण भइरहेको छ। फर्निचर व्यवसायबाट राम्रो आम्दानी हुन नसकेपछि पेशा परिवर्तन गरी कृषि पेसामा लाग्नुभएका नेपालीले अहिले गाउँमै वार्षिक ३५, ३६ लाख रुपियाँको आर्थिक कारोबार गर्नुहुन्छ। खर्च कटाउँदा वार्षिक १५, १६ लाख रुपियाँ आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ। ४६ वर्षीय नेपालीलाई कृषि फर्ममा श्रीमतीसँगै छोराले सघाउनुहुन्छ। यसका अलवा चार जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। मौसमी कामदारका रूपमा मासिक २०/२२ जनाले रोजगारी प्राप्त गरेको उहाँले बताउनुभयो। उत्पादित कृषि उपजको बिक्रीवितरणका लागि बजारको समस्या नभएको नेपालीले बताउनुभयो। 

दोस्रो गुल्मी महोत्सवको ८ नम्बर स्टलमा पुग्दा नेपालीको कृषि कर्म देखिन्छ। जहाँ स्थानीय उत्पादनप्रति नै धेरैको ध्यान जाने गरेको छ।