• १७ असार २०८१, सोमबार

बुटवल–नारायणगढ सडक निर्माण पूरा हुने आशा पलायो

blog

होमराज रानाभाट 

नवलपरासी, मङ्सिर २१ गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल–नारायणगढ सडकको निर्माणका लागि पुनः म्याद थपिएपछि निर्माण कार्यले तीव्रता पाउन थालेको छ। निर्माण सुरु गरिएको ४२ महिनासम्म सम्पन्न हुन नसकेको सो सडकखण्ड अब भने पूरा हुने आशा गरिएको छ। 

यस ४२ महिनामा १८ प्रतिशत मात्र काम भएको थियो। सरकारले ३८६ दिनका लागि पुनः म्याद थपेपछि सडक निर्माणले तीव्रता पाएको बुटवल–नारायणगढ सडकखण्ड सरकारी पक्षका प्रमुख इन्जिनियर रमेश दृष्टिले बताउनुभयो। 

निर्माणका लागि पुनः थप अवधि आगामी २०२३ को सेप्टेम्बर २७ सम्म रहेको छ। सो अवधिसम्म सडक निर्माण हुने सम्भावना रहेको छ। तर, इन्जिनियर दृष्टि भने सो अवधिमा निर्माण सम्पन्न हुनेमा शङ्का गर्नुहुन्छ। 

सम्झौता भएर निर्माण सुरु भएको नारायणगढ–बुटवल सडकखण्डले निर्माणको गति लिन नसक्दा सो आयोजना सन् २०२२ मा पूरा नहुने भएको हो। अहिले पुनः म्याद थप भएपछि निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ। आगामी वैशाखभित्र २० किलोमिटर कालोपत्रे हुने गरी काम अघि बढेको प्रमुख दृष्टिले बताउनुभयो। हिजोआज दिनरात निर्माण कार्य भइरहेको छ, ठेकेदार पक्षले धमाधम काम गरिहेको छ, उहाँले भन्नुभयो, अब समयमा नै निर्माण हुन्छ कि भन्ने आशा जगाएको छ। 

सन् २०१८ को डिसेम्बर १९ मा सम्झौता भई २०१९ फेब्रुअरी ७ बाट निर्माण कार्यको थालनी गरेको चिनियाँ ठेकेदारले झन्डै ४२ महिनाको अवधिमा सडकको माटो खन्ने, फिलिङ गर्ने, पुल बनाउने, रुख कटान, बिजुली पोल सार्ने काम र खानेपानीको पाइप सार्ने काम सम्पन्न गरिसकेको छ। 

सो आयोजनाको गैँडाकोट दाउन्ने पहिलो खण्ड र दाउन्ने बुटवल दोस्रो खण्डका रूपमा स्वीकृत भई झन्डै १६ अर्ब ९९ करोडमा चिनियाँ कम्पनी चाइना स्टेट कन्सट्रक्सनले ४२ महिना अघि ठेक्का पाएको थियो। ठेक्का सुरु भएको एक हजार २७८ दिन अर्थात् ७ जुलाई २०२२ मा ११३ किलोमिटर सडक निर्माण सक्ने सम्झौतामा व्यवस्था भए पनि सुरुको ४२ महिनामा १८ प्रतिशत काम भएको थियो। अहिले पुनः म्याद थपिएको चार महिनामा १५ प्रतिशतभन्दा बढी काम भएको आयोजनाले जनाएको छ। 

एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सुरु भएको यो आयोजना राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहे पनि कामले गति लिन नसक्दा सम्झौता अवधिभन्दा झँडै दुई वर्ष पछाडि धकेलिने भएको छ। सन् २०२४ सम्म आयोजना सम्पन्न हुने जनाइएको छ ।

सुुरुमा ‘ईआईए’ गर्दा ११३ किलोमिटर क्षेत्रभित्र पर्ने नौ हजार दुई सय रुख कटान गरिने उल्लेख भए पनि अहिले त्यो सङ्ख्या बढेर ४९ हजार ८६० पुगेको अर्का इन्जिनियर डीपी जैसीले बताउनुभयो। सो सडकको दुई तिर रहेका चार हजार ८३९ विद्युत्को पोल सार्ने काम भइरहेको छ। 

एक हजार २५ वटा टेलिफोनको पोल, २०२ सोलार पोलसमेत सार्ने कार्य भइरहेको छ। यस सडकमा ४३ वटा ठूला, ३९ वटा साना र ४६२ वटा कल्भर्ट पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। 

सडक बजार क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्ने क्षेत्रमा तीन लेनको सडक निर्माण भइरहेको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनका प्रमुख व्यवस्थापक लिनले बताउनुभयो। यो सडक निर्माण कार्यमा ५० जना चिनियाँ र २३४ जना नेपाली प्राविधिकहरूले काम गरिरहेका छन्। सडक डिभिजन कार्यालय बुटवलले सडक निर्माणको कामका विषयमा बारम्बार निरीक्षण गरी समयमा नै सम्पन्न गर्न निर्देशन दिँदै आएको छ।