चुडीमा बल्यो बिजुली
डडेल्धुराको भागेश्वर गाउँपालिका–१ चुडी गाउँमा पहिलो पटक बिजुली बलेको छ । लघु जलविद्युत् आयोजना निर्माण गरेपछि गाउँमा बिजुली बलेकोे हो । चुडी गाउँमा करिब एक करोड १५ लाख रुपियाँ लागतमा चमा गाड लघु जलविद्युत् योजना पूरा भएको निर्माण समितिले जनाएको छ ।
सडक बनाउन हेलिकप्टरमार्फत मेसिन ढुवानी :छाङरुमा नेपाली सेनाको क्याम्प राखिने
लोकेन्द्र जोशीदार्चुला, वैशाख १० गते । दार्चुला–टिङ्कर सडक निर्माणमा प्रयोग गरिने ठूला मेसिन (हेभी इक्विपमेन्ट) नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिरहेको छ । बुधबार दार्चुला आएको हेलिकप्टरले व्यास गाउँपालिकाको सदरमुकाम सुन्सेराबाट व्यास गाउँपालिका–२, दुम्लिङसम्म मेसिन ओसार्ने काम गरिरहेको हो ।सडक बाटो नभएपछि हेलिकप्टरले स्काभेटर, ब्याकहोलोडर, कम्प्रेसरका पार्ट ढुवानी गरिरहेको छ ।मेसिनका स–साना पार्टभित्र राखेर ओसारिरहेको छ भने ठूला पार्ट झुन्ड्याएर ल्याउने गरेको छ । निर्माण सामग्री ढुवानी गर्नुअघि बिहीबार सुरक्षा अधिकारीले सडकको हवाई निरीक्षण गरेका थिए । नेपाली सेनाले निर्माण गरिरहेको सडकको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नेपाली सेनाका प्राविधिक महासेनानी इन्दिवर गुरुङ, विकास निर्माण कार्यदल, २ नम्बर गण दार्चुलाका गणपति रमेश गुरुङ, सशस्त्र प्रहरी बल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका गणपति त्रिभुवन विष्ट, राष्ट्रिय अनुसन्धान अधिकृत महेशप्रसाद अवस्थी, गुरु गोरख गुल्मका गुल्मपति कृष्णचन्द्र ठकुल्ला, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्र विष्टलगायतको टोलीले स्थलगत अनुगमन गरेको हो । नेपाल सरकारले दार्चुला–टिङ्कर सडकखण्डअन्तर्गत व्यास गाउँपालिकाको कोठेधारदेखि टिङ्करसम्मको ७३.२ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । नेपाली सेनाले अहिले पाँच ठाउँबाट सडक निर्माणको काम गरिरहेको जनाएको छ । व्यास गाउँपालिकाको तल्लो दुम्लिङ, फुलचिम, कोठेधार र मालबाट सडक निर्माणको काम गरिरहेको नेपाली सेनाका विकास निर्माण कार्यदल २ नम्बर गण दार्चुलाका गणपति रमेश गुरुङले जानकारी दिनुभयो ।चालू आर्थिक वर्ष २०७८÷०७९ मा सात किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएको नेपाली सेनाले अहिलेसम्म तीन किलोमिटर सडक निर्माण गरिसकेको जनाइएको छ । सडक निर्माणका लागि चालू आर्थिक वर्षमा सेनालाई २२ करोड ५० लाख रुपियाँ बजेट प्राप्त भएको छ । क्याम्प राख्ने तयारीदार्चुला–टिङ्कर सडक निर्माणका लागि नेपाली सेनाले व्यास गाउँपालिका–१, छाङरुमा क्याम्प राख्ने तयारी गरेको छ । व्यास गाउँपालिका–२, कोठेधारमा सडक निर्माण भइरहेको र माथिबाट पनि सडक निर्माण गर्न छाङरुमा सेनाको क्याम्प स्थापना हुन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । क्याम्प स्थापना हुने ठाउँको नेपाली सेना र जिल्ला सुरक्षा समितिले हेलिकप्टरमार्फत छाङरु पुगेर अनुगमन गरेको छ । साथै सेनाले निर्माण गरिरहेको सडकसमेत हवाई अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । नेपाली सेनाले दार्चुला–टिङ्कर सडक निर्माणका लागि गत आर्थिक वर्षमा नै सुन्सेरा र दुम्लिङमा क्याम्प स्थापना गरेको थियो । केपी ओली नेतृत्वको सरकारले कोठेधारदेखि टिङ्करसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । वर्तमान सरकारले तुसरपानीदेखि कोठेधारसम्म थप चार किलोमिटर सडक निर्माणको जिम्मा पनि सेनालाई दिएको छ । कोठेधार–टिङ्कर सडकको नयाँ डीपीआर तयार गरेर नेपाली सेनाले सडक निर्माण गरिहेको छ । सरकारले सेनालाई जिम्मा दिँदा ८७ किलोमिटर डिपिआरको कोठेधार–टिङ्कर सडकको जिम्मा दिएको भए पनि सेनाले घुम्ती घटाएर तथा कुनै ठाउँमा मार्ग परिवर्तन गरेर कोठेधारदेखि टिङ्करसम्म ७४ किलोमिटरको नयाँ डीपीआर तयार गरेर सडक निर्माण गरिरहेको छ । तुसरपानीको फतङगाडबाट सेनाले सडक निर्माण गर्ने भएकाले व्यास गाउँपालिका–३, तुसरपानीमा वर्षात्का कारण अवरुद्ध भएको सडक मर्मत गरिँदै छ । सडक अवरुद्ध हुँदा नेपाली सेनालाई फतङगाडसम्म निर्माण क्षेत्रमा सामग्री ढुवानी गर्न समस्या भइरहेकाले दार्चुला–टिङ्कर सडक आयोजनाले सडक सफा गर्ने काम गरिरहेको छ । तुसरपानी गाउँको तल्लो क्षेत्रमा स्थानीयले पहिरो खसेको भन्दै सडक खुलाउन विवाद गरेपछि रिठिङगाड नदीको मार्ग भएर सडक खुलाउने काम भइरहेको बताइएको छ ।
एसइई परीक्षा दिन उमेर र पदले छेकेन
अछाम जिल्लाको ढकारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउदले ३९ वर्षको उमेरमा एसइइ परीक्षा दिनुभएको छ ।
कैलालीमा ९१ जनाको सामूहिक राजीनामा
फूलबारी(कैलाली), वैशाख ९ गते । कैलालीमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसका वडा सभापतिसहित ९१ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका छन् ।जिल्लाको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यले शुक्रबार नगर सभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा दिएका हुन् । ‘विगत लामो समयदेखि बलियो सङ्गठनका कारण नेपाली काँग्रेसको जित निश्चित भएको हुँदा वडा नम्बर १८ कमिटीका तर्फबाट उम्मेदवार नभएका कारण क्रियाशील सदस्यबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेका छौँ,’ वडा सभापति भक्तबहादुर थापाले बताउनुभयो । सामूहिक राजीनामा दिनेहरुमा नेपाली काँग्रेस कैलालीका पूर्व जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्व क्षेत्रीय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष सालीभान खड्कालगायतका नेता कार्यकर्ता छन् । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा उक्त वडा माओवादी केन्द्रले जितेका कारण भागबण्डाका क्रममा माओवादीले नै पाउने भएपछि काँग्रेसका नेता कार्यकर्ता असन्तुुष्ट बनेका थिए ।
हेलिकप्टरमार्फत मतपेटिका र कर्मचारी पठाउने तयारी
दार्चुलाको सबैभन्दा विकट मतदान केन्द्र रहेको व्यासमा हेलिकप्टरमार्फत मतपेटिका र कर्मचारी पठाउने तयारी भइरहेको छ ।स्वदेशतर्फको बाटो भएर व्यास गाउँपालिका–१, छाङरु र टिङ्कर जान नसकिने भएपछि हेलिकप्टरमार्फत कर्मचारी र निर्वाचन सामग्री पठाउने तयारी गरिएको हो । नेपालतर्फबाट हिँडेर जानसमेत पैदल बाटो छैन । अप्ठ्यारो गरी जाने हो भने छाङरु, टिङ्कर पुग्न पाँच दिन लाग्दछ । व्यासको वडा नम्बर १ मा दुईवटा मतदान केन्द्र छन् । छाङरुको कैलाशपति आधारभूत विद्यालयमा ३७५ जना र मोती महिला सङ्घ आधारभूत विद्यालय टिङ्करमा २३१ जना मतदाता रहेका छन् ।
आर्थिक सङ्कटमा क्याम्पस
कैलालीको धनगढी उपमहानगरपालिका–१८ स्थित फूलबारी बहुमुखी क्याम्पस चरम आर्थिक सङ्कटमा परेको छ । दिगो आर्थिक स्रोतको अभावमा क्याम्पस आर्थिक सङ्कटमा परेको हो । जसका कारण क्याम्पस एक करोड १० लाख रुपियाँको ऋणमा डुबेको छ भने प्राध्यापकले विगत तीन वर्षदेखि तलब पाएका छैनन् ।
वडाबाट प्रयोग गर्दै आएको सवारी साधन फिर्ता
बाजुराको बूढीगङ्गा नगरपालिका–३ का वडा अध्यक्ष खडकबहादुर अधिकारीले वडाबाट प्राप्त गरेर प्रयोग गर्दै आउनुभएको सवारी साधन फिर्ता गर्नुभएको छ ।
महेन्द्रको शालिक अनावरण
अविनाश चौधरीधनगढी, वैशाख ५ गते । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया चौकमा स्वर्गीय राजा महेन्द्रको शालिक पुनस्र्थापना गरिएको छ । चोकमा रहेको शालिक २०६२–६३ सालको जनआन्दोलनको क्रममा तोडफोड गरिएको थियो । आन्दोलनकारीले महेन्द्रको शालिक तोडफोड गरेको डेढ दशकपछि अत्तरिया चौकमा पुनः शालिक पुनस्र्थापना गरिएको हो । सोमबार एक कार्यक्रमवीच श्री लोमस गिरी महाराजले शालिकको अनावरण गर्नुभयो । यसअघि, अत्तरिया चौकमा २०४३ फागुन ७ गते स्वर्गीय राजा महेन्द्रको शालिक राखिएको थियो । त्यो बेला तत्कालीन राजा स्वर्गीय वीरेन्द्र वीरविक्रम शाहले शालिकको अनवारण गर्नुभएको थियो । जनआन्दोलनका क्रममा शालिक तोडफोड भएपछि स्थानीय राजनीतिक दल, युवा, बुद्धिजीवी, व्यवसायीको अग्रसरतामा पुनः शालिक पुनस्र्थापना गरिएको हो ।
गठबन्धन दलहरू छलफलमै :एमालेले चवालीस वडामा टुङ्ग्यायो उम्मेदवार
अमरगढी समाचारदाताडडेल्धुरा, वैशाख ५ गते । स्थानीय तहको निर्वाचन हुन २६ दिन बाँकी रहँदा सत्ता गठबन्धन दलहरूबीच डडेल्धुरामा कुन पालिका कसले लिने भन्नेमा सहमति हुन सकेको छैन । केन्द्रको निर्णयअनुसार गठबन्धनमा जाने सहमति गरेका दलले मनोनयनको दिन नजिकिँदासम्म ठोस निर्णय गर्न सकेका छैनन् । काँग्रेस जिल्ला कार्य समिति सभापति भीमबहादुर साउदले शनिबार बैठक बसेर उम्मेदवारको सहमति गरिने बताउनुभएको थियो तर आइतबारसम्म पनि सहमति हुनसकेको छैन । नेकपा माओवादी केन्द्रले सातवटा पालिका रहेको डडेल्धुरामा एउटा नगरपालिकासहित दुईवटा गाउँपालिकामा दाबी गरिरहेको छ । माओवादीले परशुराम नगरपालिका, आलिताल गाउँपालिका र अजयमेरु गाउँपालिकामा दाबी गरेको हो । माओवादीले ०७४ को स्थानीय चुनावमा अजयमेरु जितेको थियो । नेकपा (एमाले)ले सदरमुकाम रहेको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा जितेकोमा अहिले नवदुर्गाका अध्यक्ष र उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेका छन् । समाजवादीले नवदुर्गा र अमरगढी नगरपालिका दाबी गरेको छ । अमरगढीका निर्वाचित उपप्रमुख पनि अहिले समाजवादीमा छन् । गत चुनावमा पर्शुराम नगरपालिका, अजयमेरु, भागेश्वर, गन्यापधुरा र आलिताल गाउँपालिका जितेको काँग्रेसले सातैवटा पालिकामा दावेदारी गरिरहेको छ । काँग्रेसको सातौँ जिल्ला अधिवेशनबाट असन्तुष्ट बन्नुभएका तत्कालीन जिल्ला कार्य समिति सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले सातवटा पालिकामा काँग्रेस एक्लै लड्नुपर्ने र आफूहरूको चित्त नबुझे सातै पालिका र ५२ वटै वडामा बागी उम्मेदवार बनाउने चेतावनी दिइरहनुभएको छ । डडेल्धुरामा गठबन्धनको विपक्षी दल नेकपा (एमाले)ले भने ५२ वटा वडा रहेको डडेल्धुराका ४४ वडामा वडाध्यक्ष र सदस्यको उम्मेदवारीको टुङ्गो लगाइसकेको छ भने बाँकी वडामा पनि सहमतिका आधारमा टुङ्ग्याइने एमाले डडेल्धुरा अध्यक्ष प्रकाशबहादुर साउदले बताउनुभयो ।