• १७ असार २०८१, सोमबार

चुडीमा बल्यो बिजुली

blog

पुस्कर भण्डारी

डडेल्धुरा, वैशाख ११ गते  ।  डडेल्धुराको भागेश्वर गाउँपालिका–१ चुडी गाउँमा पहिलो पटक बिजुली बलेको छ । लघु जलविद्युत् आयोजना निर्माण गरेपछि गाउँमा बिजुली बलेकोे हो । चुडी गाउँमा करिब एक करोड १५ लाख रुपियाँ लागतमा चमा गाड लघु जलविद्युत् योजना पूरा भएको निर्माण समितिले जनाएको छ । 

२८ घरघुरी रहेको चुडीका सबै घर, एउटा प्राथमिक विद्यालय र सामुदायिक भवनमा अहिले बिजुली बलेको छ । बिजुली बलेसँगै स्थानीय अँध्यारोबाट मुक्त भएका छन् । चुडी गाउँवासीले यसअघि भने टुकी, झरो र स–साना सोलारबाट घर उज्यालो बनाउँथे । 

सो आयोजनाको बिजुली उत्पादन क्षमता साढे नौ किलोवाट रहेको छ तर गाउँमा अहिले करिब एक किलोवाट विद्युत् मात्रै खपत हुनसकेकोछ । बिजुली बलेसँगै गाउँमा मिल पनि सञ्चालन गरिएको छ । विद्युत् गृहको एक कोठामा कुटानी, पिसानी र पेलानी मिल जडान गरेर सञ्चालन गरिएको छ । 

नेपाल–भारतको सीमा नदी महाकाली नदी तटीय क्षेत्रमा पर्ने दुर्गम चुडी गाउँमा बिजुलीसँगै मिल सञ्चालन आएपछि स्थानीय कष्टकर जीवनयापनको समस्याबाट मुक्त भएका छन् । मिल नहुँदा चुडी गाउँवासी ढिकी ओखलमा धान कुट्न बाध्य थिए भने गहुँ पिस्नका लागि पाँच/छ घण्टा पैदल हिँडेर भागेश्वर–२ को रुपाल र परशुराम नगरपालिका–३ को शीर्ष पुग्नुपर्ने बाध्यता थियो । मिल सञ्चालनमा आएसँगै गाउँमै कुटानी, पिसानी र पेलानी गर्न पाउने भन्दै स्थानीय कलवतीदेवी ठकुराठीले खुसी व्यक्त गर्नुभयो । उल्यालोमा पढ्न पाउने भन्दै बालबालिका समेत खुसी देखिएका छन् । 

नेपाल सरकार, भागेश्वर गाउँपालिका, अक्सफाम नेपाल र ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुकको आर्थिक, प्राविधिक सहयोगमा सो आयोजना पूरा गरिएको हो । बिजुली बलेसँगै केही दिनअघि एक कार्यक्रमका बीच रुडुकका राष्ट्रिय निर्देशक डा. कृष्णकुमार श्रेष्ठले निर्माण समिति अध्यक्ष कालुसिंह बोहोरालाई साँचो हस्तान्तरण गर्नुभएको थियो ।

चार हजार छ सय मिटर टाढाबाट नहर बनाएर गाउँमा पानी पु-यााई सो आयोजना सञ्चालन गरिएको अध्यक्ष बोहोराले बताउनुभयो । १४० मिटर उचाईबाट विद्युत् गृहमा पानी खसालिएको प्राविधिक सहयोग गरिरहेको डिजाइन प्वाइन्टका प्राविधिक मणि राईले बताउनुभयो ।

विद्युत् गृहभन्दा तल गाउँ र खेतबारी रहेको छ । विद्युत् गृहबाट निस्केको पानी पिउन, सिँचाइ गर्न मिल्ने भएकाले पानीको बहुउपयोग प्रणाली रहेको उहाँले बताउनुभयो । नेपालका अधिकांश स्थानमा बनाइएका लघु जलविद्युत् आयोजनाको पानी पुनः प्रयोगमा ल्याउन सकिएको छैन । यस परियोजना अन्तर्गत आवश्यकता अनुसार थप तीन÷चारवटा विद्युत् गृह निर्माण गरेर विद्युत् उत्पादन गर्नसकिने प्राविधिकको भनाइ छ ।