प्रमुख हमालको पहिलो निर्णय–पञ्चवर्षीय योजना बनाएर विकास गर्ने
अविनाश चौधरीधनगढी, जेठ ९ गते । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गोपाल हमालले पञ्चवर्षीय योजना बनाएर नगरको विकास गर्ने पहिलो निर्णय गर्नुभएको छ । सोमबार पद्भार ग्रहणपछि प्रमुख हमालले आर्थिक वर्ष २०७९/८० देखि आर्थिक वर्ष २०८३/८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाएर योजनाबद्ध विकासको काम गर्ने निर्णय गर्नुभएको हो । सीमित स्रोत साधनलाई प्रभावकारी ढङ्गबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनाबद्ध विकासको थालनी गर्न पहिलो पञ्चवर्षीय आवधिक योजना कार्यान्वयन गर्ने उहाँले बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको व्यवस्थालाई दृष्टिगत गरी आवश्यक प्रक्रियागत कारबाही चालू आर्थिक वर्षबाटै अगाडि बढाउने निर्णयमा उल्लेख छ । ‘यसको लागि चालू आर्थिक वर्षको लागि पुग्ने गरी बजेट विनियोजन भइसकेकाले सो कार्य गर्न आवश्यक निर्णय पेश गरेको छु’, निर्णयमा भनिएको छ । यसअघि, नवनिर्वाचित प्रमुख हमालले पद तथा गोपनियताको शपथ लिनु भएको थियो । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले उहाँलाई पद तथा गोपनियताको शपथ खुवाउनु भएको थियो । १२ हजार ४८ मतान्तरले नेपाली काङ्ग्रेसका उम्मेदवार एवम् निवर्तमान नगरप्रमुख नृपबहादुर वडलाई पराजित गरी हमाल प्रमुखमा निर्वाचित हुनुभएको थियो । विजयी हुनु भएका उहाँले २६ हजार ८६५ मत प्राप्त गर्नुभयो । पराजित वडले १४ हजार ८१७ मत प्राप्त गर्नुभयो ।
पुनर्वासको प्रमुख र उप्रमुखमा काँग्रेस विजयी
पुर्नवास नगरपालिकामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले जित हात पारेको छ । गत ०७४ को निर्वाचनमा दुई वडामा सिमित रहेको काँग्रेस अहिले प्रमुख र उपप्रमुखसहित चार वडामा विजयी भएको हो । ११ वडा रहेको पुनर्वासमा ०७४ मा प्रमुख र उपप्रमुखसहित पाँच वडा एमाले, चारमा मादोवादी र दुई वडामा मात्र काँग्रेस विजयी भएको थियो ।
भीमदत्त नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । १९ वडा रहेको पालिकामा १३ वडासहित प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएको हो ।
बाजुरा बूढीगङ्गाको मतगणना अझै अन्याेल
बाजुराको बूढीगङ्गा नगरपालिकाको मतगणना अझै पनि अन्यौलनै भएको छ । निर्वाचन आयोगले मतगणना गर्ने या पुनःमतदान गर्ने भन्ने निर्णय गर्न नसक्दा १० दिनपछि पनि मतगणना अझै अन्यौलमै रहेको हो ।
सुदूरपश्चिममा चौरासी पालिकाको परिणाम
सुदूरपश्चिम प्रदेशका ८८ तहमध्ये ८४ पालिकाको परिणाम सार्वजनिक भएको छ । कञ्चनपुरको भीमदत्त, पुनर्बास नगरपालिका र अछामको साँफेबगर नगरपालिकाको मत गणना जारी छ । बाजुराको बूढीगङ्गा नगरपालिकाको मत गणना गर्ने कि नगर्ने भन्नेमा विवाद रहेको छ । नेपाली कांग्रेसले बूढीगङ्गाका केही बुथ नेकपा (एमाले) ले कब्जा गरेको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै आएको छ । यद्यपि, नेकपा (एमाले) ले वैशाख ३० गतेको मतदान स्वीकार गर्दै मतगणनाको माग राख्दै आएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)ले एकअर्कालाई बूढीगङ्गामा बुथकब्जाको आरोप लगाउँदा अन्योल सिर्जना भएको छ । निर्वाचन आयोगले सो बुथको निर्वाचन बदर भने पनि पुनः मतदानको मिति तोकेको छैन ।
जिसस गठनमा गठबन्धनको मत अपुग
कैलाली जिल्लाका १३ वटै पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । अन्तिम परिणाममा दलहरूले प्राप्त जनप्रतिनिधिको सङ्ख्याअनुसार जिल्ला समन्वय समिति (जिसस) गठनमा गठबन्धनलाई बहुमत अपुग भएको छ । जिसस गठनका लागि प्रमुख÷उपप्रमुखको १४ मत आवश्यक पर्नेमा गठबन्धनले १३ मत मात्र प्राप्त गरेको छ । गठबन्धनको १३ मतमध्येमा पनि मोहन्यालको अध्यक्षमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का देवीदत्त उपाध्यायलाई अख्तियारको मुद्दा लागेकाले शपथग्रहण हुन सकेको छैन ।
‘धनगढी मोडल’मा विकास
‘सुन्दर सुदूरपश्चिम’ अभियानका एक प्रमुख अभियन्ता गोपाल हमाल यतिबेला अभियान सरोकार कार्यान्वयन गर्ने कुर्सीमा पुग्नुभएको छ । सुदूरपश्चिमलाई चिनाउन र समग्र विकासका लागि थालिएको ‘सुन्दर सुदूरपश्चिम’ अभियान थालिएको थियो । कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष हुँदा हमालले थालेको यो अभियान अझै पनि चर्चामा छ ।
पहिलो सन्तान छोरी जन्माउनेलाई एक हजार भत्ता
कर्मचारीबाट राजीनामा दिएर बैतडीको पाटन नगरपालिका-१० को वडा अध्यक्षमा विजयी हुनुभएका वडा अध्यक्षले पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गर्नुभएको छ।
कैलालीमा स्कुटर दुर्घटनामा एक महिलाको मृत्यु
चाँदनी आचार्यघोडाघोडी(कैलाली), जेठ ८ गते । कैलालीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । ट्याक्टर र स्कुटर ठोक्किँदा स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचौनीमा से १ त ६८२७ नम्बरको ट्याक्टर र सु.प.प्र. ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएका थिए । दुर्घटनामा स्कुटरमा सवार लम्कीचुहा–७ की २५ वर्षीया जमुना सिंह घाइते भएकाले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।ट्याक्टर चालक गौरीगङ्गा–७ का २७ वर्षीय पुरन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताउनुभयो । त्यसैगरी, आइतबार विहान कैलालीको लम्कीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । लम्कीचुहा नगरपालिका–७ का ३१ वर्षीय जयकुमार न्यौपाने मृत फेला परेको प्रहरीले जनाएकोे छ ।न्यौपाने लम्कीचुहा–१ स्थित विद्युत कार्यालयको गेट नजिक मृत भेटिएको र मृत्युको कारणबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।