अलैँची बगानमा सिमल तरुल खेती
किसानले अहिले पनि धेरै प्रजातिका उपभोग्य वस्तुको खेती एकैठाउँ गर्ने अर्थात् परम्परागत बहुबाली खेती लगाउने गर्दछन् । खेतमा धान, आलीमा दाल–भटमास, कन्लामा कोदो र फिलुङ्गे साथै मकैबारीमा कोदो, सिमी, बोडी, मस्यामजस्ता परम्परागत बहुबाली खेती गर्ने चलन रहिआएको छ ।
पशुपतिमा फोटो खिच्न निषेध
पशुपतिनाथ मन्दिर परिसर, आर्यघाट र सन्ध्या आरतीमा फोटो र भिडियो खिच्ने विषयमा प्रकाशित सूचनाको चौतर्फी आलोचना भएपछि पशुपति क्षेत्र विकास कोषले प्रस्टीकरण दिएको छ । निजी कम्पनीलाई मन्दिर परिसरबाहिरको फोटो र भिडियो खिच्ने जिम्मा दिने कोषको निर्णय र ठेक्कामा भएको सम्झौता अधिकारभन्दा बाहिर गएर उक्त कम्पनीले सूचना जारी गरेपछि तीव्र आलोचना भएको हो ।
सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने व्यवस्था
सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ । दर्ताबाहेकका अन्य कसुरमा पाँच लाख रुपियाँसम्म जरिबाना र सामाजिक सञ्जाल व्यवस्थापन परिषद्, केन्द्रलगायतका प्रशासनिक निकाय पनि विधेयकले प्रस्ताव गरेको छ ।
उमेर नमिल्दा बालगृहमा झडप
डेढ वर्षभित्र विभिन्न छ वटा बाल सुधागृहमा झडप भएका छन् । भक्तपुरमा सुधारगृह नै तोडेर बालबालिका भागेका थिए । क्षमताभन्दा बढी बालबन्दी राखिएकाले अधिकांश बालगृहमा झडप हुने गरेको पाइएको छ । देशका नौ वटा बाल सुधारगृहको क्षमता ५७५ भए पनि ती गृहमा एक हजार १६० बालबालिका छन् । बाल सुधारगृहमा लगातार झडप हुन थालेको १८ महिना पुग्यो । २०७९ असार ६ गते रुपन्देहीको बाल सुधारगृहमा झडप भएपछि समस्या सुरु भएको हो ।
उपचाररत तिम्सिनाको अस्पतालबाट उद्धार
उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बस्न बाध्य हुँदै आउनुभएका इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद शर्मा तिम्सिनाको उद्धार गरिएको छ ।
होमस्टे प्रवर्धनका लागि महोत्सव
कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको थारु होमस्टे गाउँ भादामा होमस्टे महोत्सव जारी रहेको छ । होमस्टेको प्रचारप्रसार एवम् प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको हो ।
सूर्यमुखी खेती गर्ने किसान घट्दै
तेलहन बालीको रूपमा लगाइने सूर्यमुखी खेतीमा रोगकिराको प्रकोप र गुणस्तरीय बिउँ नपाउँदा सुनसरीका किसानले सूर्यमुखी खेती लगाउन छाडेका छन् । जिल्लाको उत्तरी क्षेत्र महेन्द्रनगर, प्रकाशपुर, मधुवन र भोक्रहाका किसानले सूर्यमूखी खेती गर्न छाडेका हुन् ।
रैथाने थारू आलु खेती गर्ने महिला समूहलाई कृषि उपकरण
कैलालीमा रैथाने थारु आलु गर्ने महिला कृषक समूहलाई कृषि उपकरण सहयोग गरिएको छ । कैलारी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा थारु आलु खेतीमा संलग्न कृषक समूहलाई कृषि उपकरण सहयोग दिएको हो ।
राष्ट्रपति पौडेल आज तनहुँ आउनु हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रबार गृह जिल्ला तनहुँ आउँदै हुनुहुन्छ । जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो ।
निर्माण सम्पन्न नहुँदै भवन जीर्ण
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा निर्माणाधीन कबर्ड हलको काम अलपत्र छ । निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अझै कबर्ड हलले पूर्णता पाएको छैन ।
संसद् क्यालेन्डरबारे परामर्श
प्रतिनिधि सभाको कामकारबाही तालिकाबद्ध गर्न सभामुख देवराज घिमिरेले कार्यतालिका (क्यालेन्डर) निर्माणको परामर्श थाल्नुभएको छ । सभामुख घिमिरेले बिहीबार राजनीतिक दलका प्रमुख सचेतकसँग क्यालेन्डर निर्माण गरेर सभा र समिति सञ्चालनबारे परामर्श लिनुभएको हो । तत्कालका लागि कम्तीमा १५ दिनदेखि बढीमा एक महिनासम्मको क्यालेन्डरमा सचिवालयले गृहकार्य गरेको छ । सङ्घीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले कार्यतालिकाबारे सचिवालयले पनि गृहकार्य गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सभामुखको परामर्शसँगै सचिवालयले विषयवस्तु पहिचान र कार्य दिनलगायतका विषय समेटेर कार्यदलको प्रारम्भिक मस्यौदामा काम गरिरहेको छ ।
केन्द्रीय समिति सानो बनाउन प्रस्ताव
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विधान मस्यौदा समितिले १५० सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ । विधानमा २९९ जना केन्द्रीय सदस्य भनिए पनि हाल ४११ पुर्याएकोमा चौतर्फी आलोचना भएपछि केन्द्रीय समिति चुस्त र कामकाजी बनाउन १५० जनाको प्रस्ताव गरेको समितिले जनाएको छ ।
राष्ट्रिय सभामा एमालेले खोज्यो सहकार्य
प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा सहकार्यको प्रस्ताव गरेको छ । त्यसका लागि आगामी निर्वाचनमा एमालेलाई छ सिट दिन प्रस्ताव गरेको छ ।
थारु आयोगका पदाधिकारी धनगढीमा
थारु आयोगले थारु समुदायको विविध सवालमा प्रदेश, स्थानीय तहका जनप्रतिनिधि र बुद्धिजीवीसँग छलफल गरेको छ । आज धनगढीमा कार्यक्रम आयोजना गरेर आयोगले थारु समुदायका लागि हुनुपर्ने नीतिगत व्यवस्था, समावेशिता, पाउनु पर्ने सेवा सुविधालगायतको विषयमा छलफल गरेको हो ।
गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
भोजपुरको पूर्वी अरुण गाउँपालिकाले आज बिहीबार नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गरेको छ । गाउँपालिकाका अध्यक्ष सालिकराम खत्री, संविधान सभा सदस्य लोकमणि ढकाल र उपाध्यक्ष विनीता ढकालले एकसाथ नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गर्नुभएको हो ।
माघे सङ्क्रान्ति मेला सञ्चालन हुने
म्याग्दी सदरमुकाम बेनीमा माघे सङ्क्रान्ति मेला सञ्चालन हुनेभएको छ । मौलिक कला, संस्कृति र स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गत महिला उद्यम विकास समितिको आयोजनामा पुस २९ गतेदेखि माघ २ गतेसम्म मेला सञ्चालन हुने भएको हो ।
विद्यार्थीलाई न्यानो कपडा वितरण
पूर्वी मकवानपुरमा ९४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । राधा माधव समिति नेपाल अन्तर्गतको डिजाइन यूथ क्लब नेपाल मकवानपुरले बागमती गाउँपालिका–८ को भैरव प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको हो ।
अमिल्दो ऐन संशोधन गर्न सरकारसँग माग
पार्टी प्यालेस र क्याटरिङ व्यवसाय सञ्चालनमा अवरोध गर्ने विभिन्न ऐन कानुन, नीतिहरू संशोधन गर्न सम्बद्ध व्यवसायीले माग गरेका छन् ।
जङ्गली हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीय त्रसित
उत्तरी मोरङको जङ्गल क्षेत्रका गाउँमा हात्ती आतङ्क भइरहेको बेला मोरङको दक्षिणपूर्वी रतुवामाई नगरक्षेत्रमा पनि हात्ती देखिएका छन् ।
हेटौँडा–काठमाडौँ छोटो दुरीका दुवै मार्ग बन्द
हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दुरीका दुवै मार्गमा सवारी आवागमन बन्द गरिएको छ । कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा सवारीसाधनको आवागमन बन्द गरिएको हो ।
भाषा परीक्षा फाराम भर्ने म्याद दुई दिन थप
सरकारले पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न तोकिएको समयमा दुई दिन थप भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकस्तरको निर्णय अनुसार आवेदन दिने समय दुई दिन थप गरिएको हो ।
उच्च अदालतमा उनन्चालिस न्यायाधीश सिफारिस
काठमाडौँ, पुस १९ गते । न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश सिफारिस गरेको छ । परिषद्को बुधबारको बैठकले जिल्ला न्यायाधीश, न्याय, कानुन तथा सरकारी वकिल समूहका कर्मचारी र कानुन व्यवसायीबाट ३९ जनाको नाम सिफारिस गरेको हो । परिषद्को सिफारिसमा उच्च अदालतमा प्रधान न्यायाधीशबाट न्यायाधीशको नियुक्ति र पदस्थापन हुने व्यवस्था छ ।
भारतका विदेशमन्त्री आज आउनुहुँदै
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर बिहीबार नेपाल आउँदै हुनुहुन्छ । यो उहाँको दोस्रो नेपाल भ्रमण हो । यसअघि उहाँ विदेशमन्त्रीमा नियुक्त भएलगत्तै सन् २०१९ मा नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँ बिहीबार बिहान काठमाडौँ उत्रनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्रीको नेतृत्वमा दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित संयुक्त आयोगको बैठक आयोजना हु्ँदै छ । नेपाल भ्रमणको अवसरमा भारतका विदेशमन्त्री जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुहुने छ ।
थलियो पाख्रीबास कृषि अनुसन्धान केन्द्र
कैयौँ सफल अनुसन्धानका कारण प्रसिद्धि कमाएको धनकुटाको पाख्रीबासस्थित कृषि अनुसन्धान केन्द्रले यतिबेला साख गुमाउँदै गएको छ । तरकारी र दलहनबाली, फलफूल तथा पशुपन्छीको नयाँ जात सिफारिस गर्नुका साथै बिउ उत्पादनमा निकै प्रगति गरेको यो केन्द्रको दुर्दशा आर्थिक र जनशक्ति कटौती हुन थालेपछि सुरु भएको हो । पूर्वी पहाडको कृषि विकासका लागि बेलायती सरकारको सहयोगमा २०२८ सालमा स्थापित केन्द्रलाई २०५५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । केन्द्र प्रमुख तीर्थराज रिजालले नेपाल सरकारको मातहतमा आएपछि कर्मचारी कटौती हुन थालेको र यसले गर्दा अनुसन्धानमा असर परेको जानकारी दिँदै भन्नुभयो, “केही समय राम्रैसँग सञ्चालन भयो । पछि क्रमशः बेवास्ता गरिन थालियो । अहिले त थलिँदै गएको छ ।” यसै केन्द्रका कारण पूर्वी पहाडमा धेरै कृषकलाई व्यावसायिक बन्न मद्दत मिल्नुका साथै यहाँको कृषि क्षेत्र नै फेरिन पुगेको छ । पाख्रीबासले अनुसन्धान गरेको पाख्रीबास कालो बङ्गुर, गिरिराज कुखुरा, खरी बाख्रा, विभिन्न तरकारी, दलहन तथा फलफूल अहिले पनि निकै लोकप्रिय छन् । नेपाली बजारमा कालो धराने बङ्गुर नामबाट प्रसिद्धि कमाएको यो जातको बङ्गुर केन्द्रले नै विकास गरेको हो । यसको वास्तविक नाम पाख्रीबास कालो बङ्गुर राखिए पनि धरानबाट यसले व्यावसायिकता पाएकाले धराने कालो बङ्गुरका नामले चर्चा कमाएको छ । कुनैबेला यसको पाठा लिन दुई वर्षसम्म पर्खिनुपर्ने हुन्थ्यो ।