• १३ साउन २०८१, आइतबार

सूर्यमुखी खेती गर्ने किसान घट्दै

blog

तेलहन बालीको रुपमा लगाइने सूर्यमुखी खेती । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, पुस २० गते ।
 तेलहन बालीको रूपमा लगाइने सूर्यमुखी खेतीमा रोगकिराको प्रकोप र गुणस्तरीय बिउँ नपाउँदा सुनसरीका किसानले सूर्यमुखी खेती लगाउन छाडेका छन् । जिल्लाको उत्तरी क्षेत्र महेन्द्रनगर, प्रकाशपुर, मधुवन र भोक्रहाका किसानले सूर्यमूखी खेती गर्न छाडेका हुन् ।

सूर्यमुखी खेतीमा बढी रोग किराको प्रकोप र गुणस्तरीय बिउँ नपाउँदा  वराहक्षेत्र १० प्रकाशपुरकी टेक कुमारी बस्नेतले दुई वर्षदेखि सूर्यमुखी खेती नै लगाउन छाड्नु भएको छ ।

उहाँ भन्नुहुन्छ, “प्रत्येक वर्ष दुई कठ्ठामा तेलहन बालीको रूपमा सूर्यमुखी खेती गर्दै आएको थिए । गुणस्तरीय बिउँ पाउन छाडेपछि र रोग किरा बढी देखिन थालेपछि दुई वर्षदेखि सूर्यमुखी रोप्न छाडियो । पहिलाको जस्तो राम्रो बिउँ नपाउनु र पाएको बिउँ हाँगा छुट्टिएर आउँछ । यस्तो बोटमा फूल राम्रो नलाग्ने हुँदा धेरै किसानले सूर्यमुखी रोप्न छाडेका छन् ।”

कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार सुनसरी जिल्लामा गत आर्थिक वर्ष ०७८/०७९ मा दुई सय एक हेक्टर क्षेत्रफलमा खेती भएकोमा दुई सय ६४ मेट्रिक टन उत्पादन भएको थियो ।

गत वर्षदेखि नै किसानहरूले राम्रो बिउँ नपाउँदा कम खेती गर्ने थालेका छन् । सूर्यमुखी खेतीको उत्पादन क्षेत्र प्रकाशपुर मधुवन, सालबन्दी र भोक्राह क्षेत्रमै कम खेती भएको छ । खेती लगाउने सिजन सुरु हुन लाग्दा समेत किसानहरूले सूर्यमुखी खेती लगाउनेतर्फ चासो देखाएका छैनन् । यस वर्षको डाटा आउन अझै एक महिना लाग्ने उहाँले बताउनुभयो ।

वराहक्षेत्र ९ का कृषक दामोदर काफले भन्नुभयो “दुई वर्षअघि पाँच कठ्ठामा लगाएको सूर्यमुखी उत्पादन राम्रै भएको थियो । गत वर्ष डेढ कठ्ठा क्षेत्रफलमा सूर्यमुखी लगाए ता पनि साना साना फूल लागेकाले उत्पादन सोचेजस्तो भएन । राम्रो खालको बिउँ पाइन छाडेकाल यो वर्ष फूल खेती गरिन् ।”

गत वर्षदेखि सूर्यमुखीको बिउ सिजनमा नपाउँदा वराहक्षेत्र १० का श्याम कटुवालले फूल खेती गर्न सक्नु भएन । “किसानहरूले घरमै राखेको बिउँ रोप्दा नउम्रने, उम्रेको बिउँ पनि हाँगा छोडेर आउने बोट अग्लो हुने हुँदा उपचार गरेर कम्पनीहरूले निकालेको बिउँ मात्रै राम्रो हुन्छ । तेस्रो राम्रो बिउँ बजारमा आउनै छाड्यो” उहाँले भन्नुभयो ।

सूर्यमुखी खेती गर्ने कृषकहरुको सङ्ख्या सुनसरीको ग्रामीण क्षेत्रमा घट्दो छ । तेल राम्रो आउने र खान पनि राम्रो हुने हुँदा अरू खेती गर्न छाडेर सूर्यमुखी खेती गर्दै आएका थिए । पछिल्लो समय रोग किरा र राम्रो बिउँ नआउँदा किसानले रोप्न छाडेका छन् । 

सूर्यमुखी फूलको बिउँ धनीया कम्पनीको आउँथ्यो, तर दुई वर्षदेखि धनीया कम्पनीको बिउँ नआउँदा किसानले खेती गर्न छाडेको शिवम कृषि भण्डार  भोक्राहाका धर्मनाथ भगवातले बताउनुभयो । उहाँले भन्नुभयो “गत वर्ष ७० शतप्रति किसानले खेती नै लगाएनन् ।”

वराहक्षेत्र नगरपालिका कृषि शाखाका प्राविधिक निर बहादुर राई भन्नुहुन्छ  “नगरको ८, ९, १० वडाका किसानहरूले सूर्यमुखी खेती गर्दै आएकोमा नगरले प्याकेज कार्यक्रम गरेर फूल खेतीलाई प्रोत्साहन गरेको थियो । तर पछिल्ला वर्षहरू देखि किसानले सूर्यमुखी खेती कम गर्दै आएका छन् ।”

प्राविधिक राई भन्नुहुन्छ, “वराहक्षेत्र नगरपालिका सूर्यमुखी खेतीका लागि जिल्लामै राम्रो उत्पादन क्षेत्रका रूपमा अगाडि हो ।” सूर्यमुखी खेतीमा पछिल्ला वर्षदेखि विभिन्न समस्या देखिन थालेपछि किसानहरू तोरी खेतीतर्फ आकर्षित भएका छन् ।” सूर्यमुखी खेतीलाई वर्षाको जुनसुकै ऋतुमा लगाउन सकिन्छ तर तराईका क्षेत्रहरूमा माघ, फागुन महिनामा रोपिन्छ ।