डिजिटल मुद्रामा चासो
डिजिटल मुद्राको प्रयोग र कार्यान्वयनका सन्दर्भमा दक्षिण एसियाली मुलुकले समेत चासो र प्रयत्न अगाडि बढाएका छन्। भौतिक मुद्राको साटोमा केही देशले प्रयोगमा ल्याइसकेको यस्तो मुद्राको कार्यान्वयन र त्यसका चुनौतीका सन्दर्भमा सदस्य देशबीच कम्तीमा बहस सुरु भएको छ। सँगै डिजिटल मुद्रा र कर प्रणालीका विषयमा समेत पूर्वतयारीका उपाय खोज्ने क्रममा सदस्य राष्ट्र जुटेका छन्।
धान उत्पादन बढ्ने
अनुकूल मौसम, रोग र कीराको प्रकोपमा कमी आएका कारण यो वर्ष धान उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन पाँचदेखि ८ प्रतिशतसम्म बढ्ने आकलन छ। यो वर्षअनुकूल मनसुनी सक्रियता देखिएको, उन्नत बीउ र रासायानिक मलको आपूर्ति पनि सहज भएका कारण उत्पादन वृद्धि हुने देखिएको दाबी मन्त्रालयले गरेको हो। मन्त्रालयले अहिले सातै प्रदेशको धान उत्पादनको तथ्याङ्क अद्यावधिक गरिरहेको छ। मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको तथ्याङ्क भने आउन बाँकी छ। यो वर्ष मुलुकभर १५ लाख चार हजार ४८६ हेक्टर क्षेत्रफलमा ९४ प्रतिशत धान रोपाइँ भएको थियो। यो वर्ष खेतीयोग्य जमिनको क्षेत्रफल र उत्पादन दुवै बढ्ने देखिएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय योजना आयोगबाट विशेष अनुदानका लागि प्रस्ताव आह्वान
राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहमा सङ्घीय समपूरक अनुुदान तथा विशेष अनुदानका लागि प्रस्ताव आह्वान गरेको छ। समपूरक अनुदानसम्बन्धी कार्यविधि, २०७७ र विशेष अनुदानसम्बन्धी कार्यविधि, २०७७ को व्यवस्थाबमोजिम प्रदेश सरकार र स्थानीय तहबाट सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदानअन्तर्गत आव २०८०/८१ मा कार्यान्वयन हुने आयोजना/कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको हो। आगामी पुस मसान्तभित्र राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको विद्युतीय (अनलाइन) प्रणालीमार्फत पठाउन आयोगले सूचित गरेको छ।
कलम उद्योग स्थापना
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा कलम उद्योग सञ्चालनमा आएको छ। शुक्रबारदेखि सञ्चालनमा आएको वीणाशक्ति पेपर एन्ड स्टेसनरी प्रोडक्ट नामक कलम उद्योगमा २५ करोड रुपियाँ लगानी भएको बताइएको छ। बारा जिल्लाको चैनपुरमा स्थापना भएको यस कलम उद्योगले २४ घण्टामा चार लाखसम्म विभिन्न प्रकारका कलम उत्पादन गर्ने सो उद्योगका सञ्चालक मनोजकुमार मरोदियाले बताउनुभयो। यो उद्योगले मुलुकमा खपत हुने कलमको ४० देखि ५० प्रतिशत माग पूरा गर्ने उहाँले बताउनुभयो।
अवर्गीकृत श्रमिक धेरै
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ सार्वजनिक गरेको छ। नेपालमा श्रम आप्रवासन, श्रम आप्रवासनको स्थितिलगायतका विषय समेटिएको प्रतिवेदन सार्वजनिक गरिएको हो। अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा मूल समारोह समितिद्वारा आइतबार आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र सचिव एकनारायण अर्यालले संयुक्त रूपमा प्रतिवेदन सार्वजनिक गर्नुभयो। सो अवसरमा श्रममन्त्री कुँवरले श्रमिकबारे राज्य गम्भीर हुनुपर्ने बताउनुभयो। श्रम गन्तव्य देशका समस्या केलाउने र श्रमिकका दुःखमा मलम लगाउन सरकार तयार रहेको उहाँको भनाइ थियो। विदेशबाट फर्किएका श्रमिकको सामाजिक सुरक्षादेखि उनीहरूको मर्यादित पुनस्र्थापनामा सरकार अगाडि बढ्ने पनि उहाँले बताउनुभयो।
दोलखाका किसान तोरी खेतीप्रति आकर्षित
दोलखाको सैलुङ गाउँपालिका–५ का किसानहरू नगदे बाली तोरी खेतीप्रति आकर्षित भएका छन् ।
अदुवाभन्दा पिँडालु महँगो
दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पालन गरेको अदुवाभन्दा पिँडालुले बजार पाउन थालेको छ ।
मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिनुभएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अब सरकारले बेलायत, क्यानडा, दक्षिण कोरियालगायतका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत गरेको हो।
परासी क्षेत्रको विद्युत् आपूर्तिमा सुधार
नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ। परासीमा रहेका र भविष्यमा आउने उद्योग र स्थानीयवासीलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। परासी क्षेत्रका सिमन्ट, स्टिललगायतका ठूला उद्योग र गार्हस्थ्य उपभोक्तालाई विद्युत् आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड बन्ने प्राधिकरणको भनाइ छ।
पुल बनेपछि जोडियो सदरमुकामसँग रोशीजैदु
बत्तीमुनिको अँध्यारो भनेजस्तै विकासमा पछि परेको सोलुखुम्बुको सदरमुकाम वडाको एउटा गाउँ सोलुदूधकुण्ड नगरपालिका –५ को रोशी र जैदुक्षेत्र सदरमुकाम सल्लेरीसँग सडक सञ्जालमा जोडिएको छ ।
बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)को बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयरको बाँडफाँड गरिएको हो ।
सुन प्रतितोला एक लाख पाँच सय पुग्यो
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. एक लाख पाँच सय तोकिएको छ ।
चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा
चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ ।
बढ्न थाल्यो अण्डाको मूल्य
चितवन, पुस ३ गते । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु. तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो ।यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु. तीन सयमा बिक्री हुँदै आएको थियो । सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु. चार सय ३५ पर्न आउँछ । उहाँले भन्नुभयो, “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु. ३० हुँदा अण्डा प्रतिक्रेट रु. तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु. ६५ पर्दा अण्डाको मूल्य उस्तै छ ।”औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उहाँको भनाइ छ । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु. चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु. १६ थियो । नेपालमा अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन लागिपरेको पोेख्रेल बताउनुहुन्छ ।हालै मात्र देशभरका धेरै कुखुरापालक व्यवसायी सङ्गठित भएर अघि बढेका हुन् । पोख्रेलले लागत मूल्यसम्म पाउन सके पनि कृषकहरू बच्न सक्ने बताउनुभयो । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् । बिचौलियाको चलखेललाई रोकेर कृषकको हितमा सरकार लाग्नुपर्ने व्यवसायीको भनाइ छ ।उहाँले भन्नुभयो, “सरकारले ध्यान नदिए आत्मनिर्भर पोल्ट्री व्यवसाय धराशायी हुन्छ ।” निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु. एक खर्बभन्दा बढी लगानी छ । यसको आधाभन्दा बढी बैंकको ऋण भएको व्यवसायी बताउँछन् ।
बजेटबारे जानकारी गराउन परिपत्र
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आठवटा स्थानीय तहलाई चालू आर्थिक वर्षको नीति कार्यक्रम र बजेट सभाबाट पास गरी सोको जानकारी गराउन परिपत्र गरेको छ । असार १० गतेभित्र सभामा बजेट पेस गरी असार मसान्तभित्र सभाबाट बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ती स्थानीय तहले अहिलेसम्म पनि सभाबाट बजेट पास नगरेपछि मन्त्रालयले बिहीबार परिपत्र गरेको हो ।
किसान सस्तोमा उखु बेच्न बाध्य
रौतहटको श्रीराम सुगर मिल बन्द भएपछि रौतहटका उखु उत्पादक किसानले कम मूल्यमै सखर उद्योगलाई उखु बिक्री गर्न थालेका छन् । रौतहटको अर्को बाबा बैजुनाथ सुगर मिलले क्रसिङ सुरु नगरेका कारण पनि किसान सखर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । गत वर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपियाँ तोकेको थियो । यस वर्ष मूल्य तोक्न ढिला भएको छ । किसानले सखर उद्योगलाई प्रतिक्विन्टल चार सय रुपियाँमा उखु बेचेका छन् ।
श्रमिकको पुनः एकीकरणमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण
आप्रवासी श्रमिक र उनीहरूका परिवारका सदस्यको अधिकार संरक्षण गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताह शुक्रबारदेखि सुरु भएको छ । सो अवसरमा शुक्रबार सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनः एकीकरणसम्बन्धी छलफल गरेको हो । छलफलमा वैदेशिक रोजगारीमा रहेका र रोजगारीमा जाने श्रमिकको हकहितको संरक्षणका लागि स्थानीय तहबाट पुनः एकीकरणको काम गर्नुपर्ने तत्काल हुनुपर्ने आवश्यकता औँल्याइयो ।
नवप्रवर्तनमा नेपाल कमजोर
विश्वव्यापी नवप्रवर्तन सूचकमा नेपालले कुनै सुधार गर्न नसकेको पाइएको छ । विश्व बौद्धिक सम्पत्ति सङ्गठन (वाइपो)ले हालै सार्वजनिक गरेको ‘ग्लोबल इनोभेसन इन्डेक्स २०२२’ प्रतिवेदनमा नवप्रवर्तनमा नेपालको स्थिति कमजोर नै देखिएको हो । सूचकमा समेटिएका १३२ देशमध्ये नेपाल १११औँ स्थानमा रहेको छ । सन् २०२१ मा पनि नेपाल सूचकको सोही स्थानमा थियो । वाइपोले तयार गरेको प्रतिवेदनमा विभिन्न सातवटा विषयअन्तर्गत ८१ वटा सूचकलाई आधार मानिएको छ, जसअन्तर्गत व्यवसायको सहजता, बजारको सहजता, पूर्वाधार, मानव पुँजी तथा अनुसन्धान, सङ्गठन, रचनात्मक नतिजा, ज्ञान तथा प्रविधिसम्बन्धी आविष्कारलाई सूचकको मुख्य विषय मानिएको छ ।
आधाले घट्यो वैदेशिक लगानी प्रतिबद्धता
चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धता आधाले घटेको छ । उद्योग विभागका अनुसार साउनदेखि मङ्सिर महिनासम्म १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत वर्ष सो अवधिमा १२२ परियोजनामार्फत २९ अर्ब ९५ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।
दूरसञ्चार सेवा विस्तारमा स्थानीय सरकारको सहयोग अपरिहार्य
दूरसञ्चार सेवा विस्तारमा स्थानीय तहको भूमिका आवश्यक भएको सेवाप्रदायकले जनाएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार विराटनगरमा आयोजना गरेको प्रादेशिक अन्तक्र्रियामा दूरसञ्चार सेवाप्रदायक संस्थाका अधिकारीले यस्तो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नागरिकले सहज रूपमा सञ्चार सेवा नपाएको भन्दै सबै क्षेत्रमा सम्पर्क हुने सुनिश्चितता आवश्यक रहेको बताउनुभएको थियो । सेवा विस्तारका लागि प्रदेश सरकार र स्थानीय तहले गर्नुपर्ने सहयोग र समन्वय अभाव हुन नदिने उहाँले बताउनुभयो ।
आम्दानीले थेग्दैन सरकारको खर्च
खर्चअनुसार आम्दानी नबढ्दा सरकारको आम्दानी र खर्चमा तालमेल देखिन छाडेको छ । आम्दानीका स्रोत सङ्कुचित बन्दै गइरहेको र खर्चमा भने कुनै नियन्त्रण नहुँदा सरकारी ढुकुटी घाटामा देखिएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म सरकारको कुल आम्दानीभन्दा खर्च ७७ अर्ब ३८ करोड रुपियाँले बढी छ । कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरसम्म सरकारले विभिन्न शीर्षकमा कुल तीन खर्ब ३७ अर्ब ८२ करोड रुपियाँ आम्दानी गरेको छ जब कि सरकारको खर्च चार खर्ब ३५ अर्ब रुपियाँ नाघेको छ ।
कालीगण्डकी कोरिडोरमा सुविधासम्पन्न होटल
कालीगण्डकी कोरिडोरमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा करिब ३५ करोड रुपियाँको लगानीमा होटल नेचुरल स्प्रिङ सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण पदमार्ग र जोमसोम भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर युवा व्यवसायी राजु हमालले यस क्षेत्रकै ठूलो होटल सञ्चालनमा ल्याउनुभएको हो । हमालले यसअघि सदरमुकाम बेनीमा व्यापार गर्दै आउनुभएको थियो ।
श्रमिकलाई क्षतिपूर्ति दिलाउन आग्रह
आप्रवासन श्रमिकका क्षेत्रमा कार्यरत सङ्घसंस्थाले आप्रवासी श्रमिकको पीडालाई बेवास्ता गर्न नहुने भन्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई खुला पत्र लेखेका छन् । कतारमा रङ्गशाला बनाउने काममा नेपाली श्रमिकले भोगेको दुव्र्यवहारको क्षतिपूर्ति दिलाउन पर्ने भन्दै अहिले हजारौँ दर्शक रमाइरहेको ठाउँमा श्रमिकले भोगेको पीडालाई बेवास्ता गर्न नहुने भन्दै ती नेपाली सङ्घसंस्थाले खुला पत्र लेखेका हुन् ।
आयात प्रतिबन्ध खुला
गत वैशाखदेखि केही वस्तुको आयातमा लगाइएको प्रतिबन्ध शुक्रबारदेखि खुला भएको छ । सरकारले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै गत वैशाख १३ गतेदेखि केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । मङ्सिर २० गतेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्ध पुस १ गतेदेखि खुला गर्ने निर्णय गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध शुक्रबारदेखि खुला भएको जानकारी दिनुुभयो । आयातमा लगाएको प्रतिबन्ध खुला भएसँगै शुक्रबारदेखि व्यवसायीले एलसी (प्रतीतपत्र) खोलेर गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात गर्न पाउनेछन् ।