उत्कृष्ट ग्राहक सेवाका लागि नेपाल बैङ्कमा अत्याधुनिक कल सेन्टर
नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।
मुद्दती निक्षेपमा डेढ अर्बभन्दा बढी लगानी गर्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा डेढ अर्बभन्दा बढी रकम लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ७८ करोड रुपियाँ वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूमा एक अर्ब ४२ करोड ४० लाख रुपियाँ, विकास बैङ्कहरूमा २६ करोड ७० लाख रुपियाँ र फाइनान्स कम्पनीहरूमा आठ करोड ९० लाख रुपियाँ गरी कुल एक अर्ब ७८ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैङ्कले उक्त निक्षेप २०८० असोज २ देखि २०८१ असोज ३ सम्म ३६७ दिन अवधिका लागि राख्न लागेको हो ।
नेपाल बैङ्क र एडिबीबिच सम्झौता
नेपाल बैङ्क लिमिटेडले एसियाली विकास बैङ्कसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । बैङ्कले एसियाली विकास बैङ्क (एडिबी) सँगको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत सम्झौता गरेको हो । कार्यक्रमले व्यापार वित्तीय आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पु-याउने अपेक्षा गरिएको छ । २०२२ मा एडिबी टिएससिएफपीले गरेको १० हजारभन्दा बढी व्यावसायिक कारोबारमार्फत ७.७ बिलियन डलरभन्दा बढीको व्यापारिक सहयोगमध्ये ६० प्रतिशतभन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेको बताइएको छ ।
करिब डेढ लाखलाई सहुलियतपूर्ण कर्जा प्रवाह
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कुल एक लाख ४५ हजार ७७८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैङ्कले नेपाल सरकारको ब्याज अनुदानमा बैङ्क तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८० असार मसान्तमा कुल एक लाख ४५ हजार ७७८ ऋणीलाई प्रवाह भएको हो । समीक्षा अवधिमा एक खर्ब ९७ अर्ब छ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ३५० ऋणीलाई प्रवाह भएको एक खर्ब ३५ अर्ब ७६ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ७१८ महिला उद्यमीलाई प्रवाह भएको ५८ अर्ब ३८ करोड कर्जा रहेको छ ।
स्याङ्जामा बाह्रै महिना सुन्तला
सुन्तलाको लागि प्रसिद्ध स्याङ्जामा १२ महिना सुन्तला पाइन्छ भन्दा अचम्म लाग्ला, तर अचम्म मान्नु पर्दैन यहाँ हरेक महिना फरक फरक जातको सुन्तला पाइने गर्दछ ।
चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
उत्पादनमूलक क्षेत्रले पाउँदै आएको दुई करोड रुपियाँको सुविधा बढेर चार करोड पुगेको छ । नेपाल राष्ट्र बैङ्कले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको प्रतिबद्धता अनुसार राष्ट्र बैङ्कले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको हो ।
नबिललाई ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’
नबिल बैङ्क लिमिटेड बैङ्क तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरसिप एकाडेमीले शुक्रबार आयोजना गरेको ‘सेल्स समिट’ कार्यक्रममा बैङ्कलाई उक्त अवार्डबाट सम्मान गरिएको हो । कार्यक्रममा नेपाल बैङ्कर्स एसोसिएनका अध्यक्ष सुनिल केसीले नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो ।
बैंकरलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञान आवश्यक छ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताउनुभएको छ ।
पचपन्न खर्ब अठार अर्ब रुपियाँ कारोबारमा आधारित तरलता प्रवाह
आर्थिक वर्ष २०७९/८० मा कुल ५५ खर्ब १८ अर्ब १९ करोड रुपियाँ (कारोबारमा आधारित) तरलता प्रवाह भएको छ । यस्तै रिभर्स रिपोमार्फत ८८ अर्ब २० करोड र निक्षेप सङ्कलन बोलकबोलमार्फत २० अर्ब गरी कुल एक खर्ब आठ अर्ब २० करोड रुपियाँ तरलता प्रशोचन गरिएको छ ।