• २ असार २०८१, आइतबार

राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबिच सम्झौता

blog

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ।

काठमाडौँ, जेठ ९ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभागबिच मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र मुद्रण विभागका महनिर्देशक रेखा कँडेलले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौता भएपश्चात् मुद्रण विभागमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई विभागको सिफारिसमा अधिकतम १५ लाख रुपियाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ ।

बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ । हाल बैंकको आधार दर ७.३५ प्रतिशत छ । सम्झौता अनुसार विभागका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । याे सम्झाैतापश्चात् दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

उक्त अवसरमा विभागका वरिष्ठ मुद्रण अधिकृत पद्मराज पाठक, बैंकका विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक अनिश रायमाझीलगायत कर्मचारीको उपस्थिति  थियो । बैंकको हाल ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७१ वटा एक्स्टेन्सन काउण्टर छन् ।