• २२ जेठ २०८२, बिहिबार

देखासिकीको विकास, गाडी गुड्ने ठाउँमा बत्ती

blog

हुलाकी सडकको बिच भागमा जडान गरिएको बत्ती । तस्बिर : ज्योति पन्थी

बबई समाचारदाता

बबई (बर्दिया), जेठ २० गते । यहाँका स्थानीय तहमा पछिल्ला दिनमा सडकको बिच भागमै  ‘हाइमास्ट’ बत्ती जडान गर्ने काममा प्रतिस्पर्धा जस्तै देखिएको छ । उज्यालोका लागि यो बत्ती राम्रो मानिए सडकको बिचमा जडान गर्दा यसले दुर्घटनाको जोखिम भने बढाएको छ । विशेष गरी तराईका विभिन्न जिल्लामा उज्यालो दिने नाउँमा सरोकारवाला निकायसँगको समन्वयबिना नै देखासिकी गरेर स्थानीय तहले बत्ती बाल्ने होडबाजी नै चलेको छ । 

सडकको मापदण्ड पूरा नगरी यस्ता खालका बत्ती जडान गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको हो । हुलाकी सडक अन्तर्गत पर्ने मधुवन नगरपालिका–९ मा रहेको १२ नं. चोकमा जडान गरिएको ‘हाइमास्ट’ बत्तीले दुर्घटना निम्त्याउने सङ्केत देखिएको छ । हुलाकी सडकको मापदण्ड पूरा नगरी सडकको बिच भागमा नियमविपरीत ‘हाइमास्ट’ बत्ती जडान गरिएको छ ।

मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले सडकमा जथाभाबी ‘हाइमास्ट’ बत्ती जडान गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको स्विकार्नुभयो । सडक साँघुरो हुँदाहुँदै ‘हाइमास्ट’ बत्ती लगाइएपछि यात्रुलाई सडकमा आवतजावत गर्न समस्या परेको छ । 

गुलरिया–राजापुर हुलाकी सडकमा बत्ती जडान गर्ने समयमा खनिएको खाडलका कारण हुलाकी सडकका दुवैतर्फ कालोपत्रे सडक भत्किएको छ तर हालसम्म मर्मतसम्भार गरिएको छैन । सडकको बिच भागमा मापदण्ड पूरा नगरी ‘हाइमास्ट’ बत्ती जडान गरिएका कारण कुनै दिन ठुलै दुर्घटना हुन सक्ने राजापुरबाट नेपालगन्ज जाँदै गरेका राजापुरवासी केशव शर्माले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका ट्राफिक प्रहरी कृष्ण डाँगीले सडकको बिचमा गाडिएको ‘हाइमास्ट’ बत्तीका कारण दुर्घटनाको जोखिम देखिएको बताउनुभयो । सडकको बिच भागमा बत्ती लगाउने प्रचलन पछिल्लो समय स्थानीय तहमा फेसन जस्तै भएको देखिन्छ । 

हुलाकी सडक आयोजना बाँकेका प्रमुख लीलाबहादुर भण्डारीले सडकको एक किनारामा लगाएर दुर्घटना न्यूनीकरण गर्न स्थानीय तह सव्रिmय हुनुपर्नेमा स्थानीय तहले नै नियम मिचेर बिच भागमा बत्ती जडान गर्ने गरेको बताउनुभयो ।