चितवन समाचारदाता
चितवन, जेठ २० गते । चितवनको कालिका नगरपालिकामा जिपिएस प्रणाली सञ्चालन गर्न घर तथा सडकको नामाङ्कन सुरु गरिएको छ । घर, चोक, सडक खोज्नका लागि कुनै व्यक्तिको सहाराबिना इन्टरनेटको माध्यमबाट सजिलै पत्ता लगाउने प्रविधिको विकास गर्न जिपिएस प्रणाली सुरु गरिएको हो । चितवन घर भएर अमेरिकामा बस्दै आउनुभएका डा. रामहरि सुवेदीले यो प्रणाली लागु गर्नका लागि सहयोग गर्नुभएको हो । नगरपालिकाको वडा नं. २, ३, ४ र ५ पुरानो पदमपुर क्षेत्र हो । यस क्षेत्रमा धेरै बाटो र बस्ती भएकाले नयाँ व्यक्ति आउँदा घर पत्ता लगाउन समस्या हुने भएपछि यहीँबाट जिपिएस प्रणालीको सुरुवात गरिएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो ।
“विकसित देशमा जाँदा आफू जाने स्थानका बारेमा कुनै व्यक्तिलाई सोध्न पर्दैन,” उहाँले भन्नुभयो, “त्यही प्रविधि हामीले भिœयाउन किन सक्दैनौँ भन्ने लागेको थियो, अहिले त्यसैको सुरुवात गर्दैछौँ ।” केही महिनाअगाडि यही प्रणाली अन्तर्गत पदमपुर क्षेत्रको चोकको नम्बर लगाइएको थियो । अब घरमा नम्बर लगाइएको हो ।
अन्य स्थानका सडक, चोक र घर नम्बर इन्टरनेटमा प्रविष्ट गरिएपछि जहाँबाट पनि यहाँको बारेमा हेर्न सकिने उहाँले भन्नुभयो । आगामी दिनमा कालिका नगरपालिकाका सबै वडामा यही प्रणाली सुरु गरिने उहाँले जानकारी दिनुभयो । नेपालमा नै यस प्रणालीको सुरुवात गर्ने कालिका नगरपालिका मात्रै भएको उहाँको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने पदमपुरमा वन्यजन्तुको आव्रmमणबाट मानिसलाई जोखिम भएको, बुढीराप्तीका कारण कटान र डुबान भएको भन्दै २०५७ सालमा पूर्वी चितवनको जङ्गल फँडानी गरेर बस्ती स्थानान्तरण गरिएको थियो । पदमपुर क्षेत्रमा योजना अनुसार ठुला र सिधा बाटो निर्माण गरी बस्ती बसालिएको छ । सडक नम्बर अनुसार टोलको नाम राखिँदै आएको हो । उस्तै बाटो र घर भएकाले यहाँ आउनेले घर पत्ता लगाउन समस्या हुँदै आएको थियो । खोज्न हुने समस्यालाई समाधान गर्न यहीँबाटै जिपिएस प्रणाली सुरु गरिएको नगरपालिका प्रमुख रेग्मीले बताउनुभयो ।
वडाध्यक्ष मकरमान श्रेष्ठले भन्नुभयो, “यस वडामा ८५० घरधुरी रहेका छन् । यी सबैमा हामीले नम्बर लगाउछौँ । सडक र चोकको पनि नाम र नम्बर लगाएपछि सिस्टममा प्रविष्ट गरिने छ ।” जिपिएस प्रणालीबाट घर खोज्ने कार्य छिटो हेर्न मिल्ने गरी काम भइराखेको उहाँले जानकारी दिनुभयो ।
सोमबार नगरपालिकाको वडा नम्बर ४ को बिपी चोकदेखि पूर्वतर्फ जिपिएस प्रणालीमा आधारित आधुनिक मापदण्डको घर नम्बर टाँस गरिएको छ । चालु आर्थिक वर्षको थोरै बजेटबाट यो कार्य सुरु गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यस प्रणालीको विकासका लागि पालिकाले आउँदो वर्ष बजेट विनियोजन गर्ने तयारी गरेको छ । वडाले अलग्गै बजेट छुट्याएर काम गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।