• ३० असार २०८२, सोमबार

टयाक्टर दुर्घटनामा चालकको मृत्यु

blog

वासुदेव शर्मा 

जाजरकोट, असार ३० गते । जाजरकोटमा टयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सोमवार बिहान भेरी नगरपालिका-१० फेराबजारदेखि छेडाचौर जाँदै गरेको खाली टयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने सहचालक वीरेन्द्र परियार गम्भीर घाइते हुनुभएको हो । 

सोमवार बिहान फेराबजारदेखि छेडाचौर जाँदै गरेको कर्णाली प्रदेश ०१००२ त ०६०७ नम्बरको टयाक्टर भेरी नगरपालिका-१० आलीगाँउ नजिक सडकदेखि करिब ५० मिटर तल खसेपछि टयाक्टर चालक भेरी नगरपालिका ९ का २० वर्षीय धनबहदुर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार टयाक्टरसहित मृत्यु भएका चालक विकको शव टयाक्टरमै च्यापिएपछि भेरी नगरपालिको जेसिबीले शव निकालिएको हो । सोही टयाक्टरका सहचालक भेरी नगरापालिका७ का १५ वर्षीय वीरेन्द्र परियार घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक हरिराम डाँगीले बताउनुभयो । 

टयाक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका परियारलाई उपचारका लागि जाजरकोट अस्पतालमा ल्याएको छ । टयाक्टरले च्यापिएको शव निकालेपछि पोष्टमार्टमका लागि जाजरकोट अस्पताल ल्याउने प्रहरी निरीक्षक डाँगीले बताउनुभयो ।