हेटौँडा समाचारदाता
हेटौँडा, जेठ २० गते । केही वर्षअघिसम्म ‘रेफर अस्पताल’ का रूपमा परिचित हेटौँडा अस्पतालमा धेरै सुविधा थप भएपछि बिरामीको चाप वृद्धि भएको छ । यहाँको निजी अस्पताल र स्वास्थ्य संस्थाभन्दा सरकारी अस्पतालमा बिरामीको विश्वास बढेपछि भिड बढेको हो । हाल बहिरङ्ग (ओपिडी) सेवामा मात्रै दैनिक आठ सयभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् ।
हेटौँडा अस्पतालका निमित्त निर्देशक वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटाले नयाँ भवन निर्माणसँगै अस्पतालले सेवा प्रवाहलाई गुणस्तरीय बनाएपछि सेवाग्राहीको चाप भएको जानकारी दिनुभयो । “हेटौँडा अस्पतालको स्तरोन्नति भएसँगै सेवाग्राहीको चाप पनि बढेको छ, आवश्यक दक्ष जनशक्तिमार्फत सेवा प्रदान गर्दै आएका छौँ,” डा. सापकोटाले भन्नुभयो । अस्पतालमा हाल ४५ जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहनुभएको छ ।
हेटौँडा अस्पतालका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा दुई लाख १४ हजार ३४५ जनालाई बहिरङ्ग सेवा प्रदान गरिएको छ । साउनमा २६ हजार ३८०, भदौमा २१ हजार ७३४, असोजमा १८ हजार ३८९, कात्तिकमा १९ हजार ४१९, मङ्सिरमा १९ हजार ७८१ जनालाई बहिरङ्ग सेवा प्रदान गरिएको हेटौँडा अस्पतालका मेडिकल रेकर्डर हरिश मल्लले जानकारी दिनुभयो । त्यस्तै १० महिनाको अवधिमा दुई हजार ६८४ जनाले सुत्केरी सेवा लिनुभएको छ ।
अस्पतालले डायलासिस, सिटी स्क्यान, एमआरआई, इसिजी, एएसयु, ओसिएमसी, एआरटी, इको, टिएमटीलगायतका विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । यस्तै हाडजोर्नी, बालरोग, प्रसूति, दन्त फिजिसियन, नाक, कान, घाँटी, शल्यव्रिmया, मनोरोग, आयुर्वेद, नेफ्रोलोजिस्ट र मुटुरोगसम्बन्धी सेवा दिँदै आइरहेको छ । अस्पतालले बिरामीलाई निःशुल्क रूपमा गर्भवती सेवा, हर्नियालगायत विपन्न र निमुखाका लागि सामाजिक सेवा सञ्चालन गरिरहेको छ ।
मुटुरोगसम्बन्धी सेवा सुरु भएसँगै यो सेवाका लागि भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता पनि कम भएको छ । अस्पतालमा मकवानपुरसहित छिमेकी जिल्ला बारा, पर्सा, रौतहट र सर्लाहीका बिरामीले पनि सेवा लिइरहनुभएको अस्पतालले जनाएको छ ।