• २९ वैशाख २०८१, शनिबार

तीन सय सैँतिस बैङ्क गाभिएर एक सय नौ कायम

blog

काठमाडौँ, वैशाख १६ गते । सञ्चालनमा रहेका कुल ३४७ बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभिएर १०९ वटा संस्था कायम भएका छन् ।

बैङ्क तथा वित्तीय संस्था गाभ्ने/गाभिने सम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०८० फागुन मसान्तसम्म कुल ३४७ बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभिएका छन् । 

बैङ्क तथा वित्तीय संस्थाहरूलाई एकआपसमा गाभ्न/गाभिन प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैङ्कको नीतिगत व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । विगत एक वर्षको अवधिमा मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई वाणिज्य बैङ्कको सङ्ख्या २० कायम भएको छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०८० फागुन मसान्तसम्म कुल ३४७ बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभिएर १०९ वटा संस्था कायम भएका छन् । केही खारेज पनि भएका छन् । 

समीक्षा अवधिमा वित्तीय पहुँच विस्तार भइरहेको राष्ट्र बैङ्कले जनाएको छ । २०८० फागुन मसान्तसम्म २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क गरी बैङ्क तथा वित्तीय संस्थाको कुल सङ्ख्या ११० रहेको छ ।

चालु आवको फागुन मसान्तसम्म वाणिज्य बैङ्कका पाँच हजार ४१, विकास बैङ्कका एक हजार १३५, वित्त कम्पनीका २८८ र लघुवित्त वित्तीय संस्थाका पाँच हजार १३० गरी बैङ्क तथा वित्तीय संस्थाका कुल शाखा सङ्ख्या ११ हजार ५९४ पुगेको छ । यस अनुसार बैङ्क तथा वित्तीय संस्थाको प्रतिशाखाबाट औसतमा करिब दुई हजार ५१५ जनसङ्ख्याले सेवा प्राप्त गर्न सक्ने देखिएको राष्ट्र बैङ्कले जनाएको छ ।

यस्तै चालु आवको फागुन मसान्तमा राष्ट्र बैङ्कले   बैङ्कबाट विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र लिएका संस्थाको सङ्ख्या तीन हजार ५२७ रहेको छ । यी संस्थामध्ये विपे्रषणसम्बन्धी कारोबार गर्ने कम्पनीको सङ्ख्या ३६ र मनिचेन्जर कम्पनीको सङ्ख्या ३३२ रहेको छ । इजाजतपत्र प्राप्त मनिचेन्जरमध्ये १५३ वटा काठमाडौँ उपत्यकाभित्र र १७९ वटा काठमाडौँ उपत्यकाबाहिर सञ्चालनमा रहेका छन् ।

समीक्षा अवधिमा विदेशी मुद्राको कारोबार गर्न स्वीकृति लिएका फर्म/कम्पनीमा होटेल २३६, ट्रेकिङ १,७३९, ट्राभल एजेन्सी ९७०, कार्गो ६४, एयरलाइन्स ७२, वाणिज्य बैङ्क २०, विकास बैङ्क आठ, वित्त कम्पनी छ अन्य ४४ रहेका छन् ।