एक खर्ब पैँतालिस अर्बभन्दा बढीको तरलता उपयोग
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कबाट एक खर्ब ४५ अर्ब ९० करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड रुपियाँ र ओभरनाइट तरलता सुविधामार्फत एक खर्ब ४४ अर्ब ७० करोड रुपियाँ गरी कुल एक खर्ब ४५ अर्ब ९० करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका हुन् । राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणमार्फत खुद आठ खर्ब ६४ अर्ब नौ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्कहरू) बाट अमेरिकी डलर ४६ करोड ३७ लाख खुद खरिद गरी ६१ अर्ब २२ करोड रुपियाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३१ करोड ९२ लाख खुद खरिद गरी ४० अर्ब ५३ करोड रुपियाँ तरलता प्रवाह गरिएको थियो ।
डिजिटल बैङ्क खोल्न कानुन पुनरवलोकन
सरकारले डिजिटल बैङ्क स्थापनाका लागि प्रारम्भिक प्रक्रिया सुरु गर्ने भएको छ । डिजिटल बैङ्क स्थापनाका लागि विद्यमान कानुनी व्यवस्था पुनरवलोकन गर्ने निर्णयमा सरकार पुगेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा हालै सम्पन्न वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले डिजिटल बैङ्क स्थापनाको कानुनी आधार तयार गर्ने निर्णय गरेको हो ।
निक्षेप र कर्जा घट्यो
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०/८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार साउनमा निक्षेप परिचालन २.३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ७७ करोड (२.० प्रतिशत) ले घटेको थियो ।
‘जलविद्युत् लगानीमा समस्या नहुने’
राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अध्ययन सम्पन्न भएका जलविद्युत् आयोजनामा लगानीको समस्या नहुने बताउनुभएको छ । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) सँगको भेटमा उहाँले १० वर्षमा २० हजार मेगावाटका आयोजनामा लगानी सिर्जना गर्न सहज नै हुने बताउनुभएको हो ।
डलरको मूल्य अहिलेसम्मकै उच्च
अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार मङ्गलबार अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपियाँ ५४ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च बिन्दु हो । यस्तै अमेरिकी डलरको खरिद मूल्य पनि १३२ रुपियाँ ९४ पैसा रहेको छ ।
नौ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
स्रोतको चापमा रहेको सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती महिनादेखि नै आन्तरिक ऋण उठाउन थालिसकेको छ ।
स्थानीय तहमा अस्पताल खोल्न सहुलियत कर्जा
अब स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्नका लागि बैङ्क तथा वित्तीय संस्थाले २० करोड रुपियाँसम्म सहुलियत कर्जा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार जारी गरेको सूचना अनुसार बैङ्क तथा वित्तीय संस्थाले स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्न २० करोडसम्म कर्जा दिन पाउने व्यवस्था गरिएको हो ।
उत्कृष्ट ग्राहक सेवाका लागि नेपाल बैङ्कमा अत्याधुनिक कल सेन्टर
नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।
मुद्दती निक्षेपमा डेढ अर्बभन्दा बढी लगानी गर्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा डेढ अर्बभन्दा बढी रकम लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ७८ करोड रुपियाँ वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूमा एक अर्ब ४२ करोड ४० लाख रुपियाँ, विकास बैङ्कहरूमा २६ करोड ७० लाख रुपियाँ र फाइनान्स कम्पनीहरूमा आठ करोड ९० लाख रुपियाँ गरी कुल एक अर्ब ७८ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैङ्कले उक्त निक्षेप २०८० असोज २ देखि २०८१ असोज ३ सम्म ३६७ दिन अवधिका लागि राख्न लागेको हो ।