• १८ जेठ २०८२, आइतबार

‘शुक्लाम्बरा’ उपन्यासको विमोचनसँगै चार साहित्यकार सम्मानित

blog

भारतीय साहित्यकारलाई सम्मान गर्नु हुँदै वरिष्ठ कथाकार रेग्मी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ १७ गते । नेपालगन्जमा साहित्यकार तारा खत्री रोकायाद्वारा लिखित ‘शुक्लाम्बरा’ उपन्यासको विमोचनसँगै चार जना साहित्यकारलाई सम्मान गरिएको छ । 

पूर्णतारा फाउन्डेसन तथा भेरी साहित्य समाज, केन्द्रीय समिति नेपालगन्जद्वारा आयोजना गरिएको कार्यक्रममा उपन्यासको विमोचनसँगै तीन जना भारतीय साहित्यकार र भेरी साहित्य समाजका पूर्व महासचिवलाई सम्मान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत रेग्मीले साहित्यकार तारा खत्री रोकायाद्वारा लिखित ‘शुक्लाम्बरा’ उपन्यासको विमोचन गर्नुभयो भने भारतीय साहित्यकारहरू शारिक रब्बानी, विणा वाहिनी चौबे, इर्शाद राही र भेरी साहित्य समाजका पूर्व महासचिव लेकप्रसाद प्याकुरेललाई सम्मान गर्नुभयो ।

साहित्यकार सुमित्रा न्यौपानेले ‘शुक्लाम्बरा’ उपन्यासको परिचर्चा गर्दै उपन्यास भित्र भएका विभिन्न पक्षलाई केलाएर हेर्दा उपन्यास समय सान्दर्भिक भएको बताउनुभयो । 

साहित्यकार ईश्वरीप्रसाद रिजालले उपन्यासबारे टीप्पणी गर्दै हुम्लाको परिवेशलाई उपन्यासले राम्रोसँग उतारेको बताउदै नेपालगन्जलाई जुन गहिराइमा उतार्नु पथ्र्यो त्यो उतार्न नसकेको बताउनुभयो । 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल, डा.कृष्णप्रसाद घिमिरे, भेरी साहित्य समाज, केन्द्रीय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत र सल्लाहकार डा. हरि तिमिल्सिना लगायतले साहित्यको विकासमा पुस्तकहरुको निकै सराहनीय योगदान रहने गरेको बताउनुभयो । सो कार्यक्रममा भारतीय साहित्यकार शारिक रब्बानी, विणा वादिनी चौबे, इर्शाद राई, नेपाली साहित्यकारहरू सुन्दर गुरुङ, डा. डक्टप्रसाद धिताल, पार्वती पुन उषा, अन्सर नेपाली लगायतले आफ्ना रचना वाचन गर्नुभयो ।