• २३ असार २०८१, आइतबार

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको अध्ययन जारी

blog

काठमाडौँ, असार २० गते । सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यादेशअनुसार अध्ययन गरिरहेको जनाएको छ । समितिले सरोकार भएका निकायसँग कागजात झिकाउने, ती निकायका अधिकारीको भनाइ सुन्ने र छलफल गरी अध्ययन गरिरहेको समितिका सचिव बबिता मिश्रले जानकारी दिनुभयो ।

यही असार २३ गते समिति गठन भएको एक महिना पूरा हुँदैछ । एक महिनामा भएका उपलब्धि सार्वजनिक गर्ने तयारीसमेत गरिएको मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको आजको बैठकमा महालेखापरीक्षक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक, सहकारी विभागका रजिष्ट्रारलगायत सम्बन्धित निकायका कर्मचारीसँग छलफल भएको छ । शुक्रबार गृहसचिव, प्रहरी महानिरीक्षकलगायत उच्च प्रहरी अधिकारीसँग छलफल गरिने समिति सचिव मिश्रले बताउनुभयो । नेपाली कांग्रेसको लामो विरोधपछि प्रतिनिधिसभाबाट छानबिन समिति गठन भएको थियो । 

समितिलाई समस्यामा परेका बचतकर्ताको रकमबारे अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्था कहाँ पुगेको छ, सोको अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुन बमोजिम प्रक्रिया पूरा गरी भए/नभएकोलगायतका विषयमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ । रासस