• ४ चैत २०८२, बुधबार

झापामा लागुऔषध ब्राउन सुगरसहित सात जना पक्राउ

blog

बिष्णुप्रसाद पोखरेल
दमक, चैत ४ गते ।
झापाको भद्रपुर नगरपालिकामा प्रहरीले लागुऔषधविरुद्ध सञ्चालन गरेको विशेष चेकजाँच अभियानको क्रममा लागुऔषधसहित सात जनालाई पक्राउ गरेको जनाएको छ । मङ्गलबार राति गरिएको दुई छुट्टाछुट्टै जाँचमा ठूलो परिमाणमा ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर–६ स्थित श्रवण यादवको घरमा लागुऔषध रहेको गोप्य सूचनाका आधारमा छापा मारेर घर खानतलासी गर्दा प्लास्टिकसहित ५४ ग्राम ४३० मिलिग्राम र प्लास्टिकबाहेक ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जनाउनु भयो ।

प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आङ्शकामा उक्त घरमा रहेका ३१ वर्षीय श्रवण यादव, २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशीलाई पक्राउ गरेको छ । यसैगरी, मङ्गलबार रातिनै भद्रपुर–५ स्थित बसपार्क क्षेत्रमा पनि प्रहरीले थप चार जनालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा ३० वर्षीय शुभम शाह, जयकरण कहार, ३५ वर्षीय दुलाल शेख र २९ वर्षीय मोहम्मद अमिरबाब रहेका छन् । उनीहरुको साथबाट प्लास्टिकसहित १५ ग्राम ९० मिलिग्राम र प्लास्टिकबाहेक १० ग्राम २०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको भनाइ छ ।