सरकारले आउँदो आइतबार असोज २ गतेदेखि काठमाडौँ उपत्यकामा दशैँलक्षित बजार अनुगमन गर्ने तयारी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा विज्ञसहितको ११ वटा टोलीले दशैँलक्षित बजार अनुगमन गर्ने तयारी गरेको हो । विभागका अनुसार चाडपर्वमा बढी सामान माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्नेजस्ता समस्या नहुन् भनेर सरकारले अनुगमनलाई प्राथमिकतामा राखेको हो ।
काठमाडौँ, भदौ ३० गते । चाडपर्वको समयमा चामलको मूल्य प्रतिकेजीमा पाँचदेखि १० रुपियाँसम्म महँगो भएको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार गएको असारमा सोना मसुली चामल प्रतिकेजी ५५ रुपियाँ रहेकामा भदौदेखि बढेर ६० रुपियाँ पुगेको छ । स्टिम जिरा मसिनो चामल प्रतिकेजीको मूल्य ७५ रुपियाँ थियो भने अहिले एक केजीमै १० रुपियाँ बढेर ८५ रुपियाँ पुगेको छ । यसै अवधिमा पोखरेली चामल प्रतिकेजी ८५ रुपियाँ रहेकामा अहिले ९५ रुपियाँ छ भने लङ्ग्रेन बासमती चामल प्रतिकेजी १४५ रुपियाँ रहेकामा अहिले १५० रुपियाँ पुगेको छ । सङ्घका अनुसार चामल मात्र नभएर दशैँमा बढी माग हुने चिउरा, मैदा, आँटा, गरम मसला, जिरा, धनियाँलगायतका सबै खाद्यवस्तुको पनि भाउ बढेको छ । गत असारमा प्रतिकेजी १३५ रुपियाँ रहेको ताइचिन चिउरा अहिले बढेर १५० रुपियाँ पुगेको छ । दुई महिनाको अवधिमा चिउरा १५ रुपियाँ बढेको छ । आँटा प्रतिकेजीमै १० रुपियाँ बढेको छ भने मैदा प्रतिकेजीमा पाँच रुपियाँ बढेको सङ्घले जनाएको छ । कालीमाटीका खाद्यका थोक तथा खुद्रा व्यापारी महेश महर्जनले पछिल्लो पटक चामल, आँटा मात्रै होइन हरेक खाद्यवस्तुको भाउ बढेको बताउनुभयो । पछिल्लो पटक चामलको भाउ प्रतिकेजीमा १० रुपियाँ बढेको उहाँको भनाइ छ । उहाँका अनुसार चामल मात्रै होइन, एक वर्षको बीचमा खाद्यवस्तुको मूल्य २०–३० प्रतिशतसम्म बढेको हो । अर्का खुद्रा किराना व्यापारी विनोद अधिकारीले भन्नुभयो, “बजारमा कुन वस्तुको भाउ बढ्यो, भन्नुभन्दा पनि कुन वस्तुको भाउ बढेको छैन, त्यो खोज्नुपर्ने बेला आएको छ, नबढेको केही वस्तु नै भेटिँदैन ।”उहाँका अनुसार रुस र युक्रेनको लडाइँपछि इन्धनको मूल्य अत्यधिक बढ्यो । इन्धनको मूल्य बढेपछि त्यसको सोझो असर ढुवानी भाडामा प¥यो । ढुवानी भाडा बढ्नेबित्तिकै त्यसको असर सम्पूर्ण उपभोग्य वस्तु तथा सेवामा पर्न गएको छ । नेपाल खुद्रा व्यापार सङ्घका महासचिव आमुलकाजी तुलाधरले पछिल्लो पटक खानेतेल केही घटे पनि अन्य खाद्यवस्तुको भाउ बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषिप्रधान देश भने पनि हामीकहाँ भारतबाट चामल आउने र अहिले भारतमा नै महँगो भएका कारण मूल्य बढेको छ ।” गत साता मात्रै भारतले धान चामल निर्यातमा २० प्रतिशत कर वृद्धि गरेको छ । नेपालमा वार्षिक करिब ५० अर्ब रुपियाँको धान र चामल आयात हुने गरेको छ । धेरैजसो आयात भारतबाटै हुन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष कुल ४७ अर्ब ३५ करोड रुपियाँको धान र चामल आयात भएको छ । कुल आयात हुने वस्तुमा धान र चामलको हिस्सा २ दशमलव ५ प्रतिशत छ । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले विभिन्न बहानामा दैनिक उपभोग्य वस्तु चामललगायतका वस्तुको मात्रै नभएर हरेक वस्तुको मूल्यवृद्धि हुँदासमेत सरकारका नियमन गर्ने निकाय रमिते बनेको आरोप लगाउनुभयो । “कानुनी रूपमा बजार अनुगमन र नियमन गर्ने अधिकार सङ्घमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, प्रदेश र स्थानीय सरकार तीनै तहका सरकारले गर्नुपर्छ तर बजारमा वाणिज्य विभागबाहेक प्रदेश र स्थानीय सरकारको उपस्थिति शून्यजस्तै रहेको छ अनि कसरी बजार सुध्रिन्छ,” महर्जनले प्रश्न गर्नुभयो । बजार अनुगमनमा स्थानीय सरकार बढी जिम्मेवार नहुँदासम्म बजारको बेथिति अन्त्य नहुने अर्का उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताउनुभयो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले विभागसँग भएको जनशक्तिको भरपूर प्रयोग गरेर दशैँ लक्षित बजार अनुगमनलाई प्राथमिकता दिएको दाबी गर्नुभयो । उहाँका अनुसार अहिले दैनिक चार÷पाँचवटा टोलीले फरकफरक ठाउँ र वस्तुको अनुगमन गर्ने र जथाभावी मूल्य लिने, गुणस्तरमा ठगी गर्नेलाई कानुनअनुसार कारबाही हुँदै आएको छ । चामलको भाउ बढ्नुको कारण पनि खोजी गरिने निर्देशक भट्टराईको भनाइ छ ।
काठमाडौँ उपत्यकामा सिटामोल अभाव भएको छ । उपत्यकासहित मुलुकभर डेङ्गुको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल अभाव भएको हो । डेङ्गुविरुद्धको खास उपचार र औषधि नभएका र बिरामीले ज्वरो नियन्त्रणका लागि सिटामोल प्रयोग गर्नुपर्ने भएपछि सिटामोलको माग बढेको हो । डेङ्गुको सङ्क्रमणमा उच्च ज्वरो आउने भएकाले सिटामोल खान दिइन्छ ।
नेपालीले विदेशमा काम गरेर पठाएको विपे्रषणबाट अर्थतन्त्रलाई ठूलो भरथेग त भइरहेकै छ तर नेपाल विपे्रषण ल्याउने मुलुकमात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौं रुपियाँ पनि लगिरहेका छन् । विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब आठ अर्ब रुपियाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । राष्ट्र बैङ्कका अनुसार यो रकम औपचारिक माध्यमबाट गएको विप्रेषण मात्रै हो ।
सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन थालेको छ । चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्ने जस्ता समस्या नहुन् भन्ने उद्देश्यसाथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन सुरु गरेको जनाएको छ । विभागले विशेषगरी नियमित बजार अनुगमन गर्दै आए पनि चाडपर्वमा खाद्यान्न, लत्ताकपडा र सवारीसाधनमा अनुगमन बढी केन्द्रित गरेको जनाएको छ । विभागका निर्देशक होमनाथ भट्टराईले विभागले तीजदेखि नै चाडपर्व लक्षित गरेर दैनिक चारवटा टोलीले अनुगमन गर्दै आएको जानकारी दिनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आइतबार बिहान ११ बजे मन्त्रालयकै कल सेन्टरमा छिर्दै गर्दा सप्तरीबाट विष्णुदेव साहको फोन आयो । मन्त्री कुँवरले फोन उठाउनेबित्तिकै साहले रुन्चे स्वरमा भन्नुभयो, “मन्त्रीज्यू ! गएको वैशाख २ गते सडक दुर्घटनामा परी मृत्यु भएको मेरो भाइ सुरेन्द्रप्रसाद साहको शव साउदीमै अलपत्र छ, छिटो नेपाल झिकाउन पहल गरिदिनुप-यो ।”
सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको जेठ २४ गते चिनी खरिदका लागि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद प्रक्रिया अगाडि बढ्न नसकेको हो । अर्थ मन्त्रालयले चिनी खरिद स्वीकृति मागको फाइल मन्त्रालयमा आए पनि खरिदको विषयमा अहिलेसम्म कुनै छलफल नभएको दाबी गरेको छ । मन्त्रालयका सूचना अधिकारी कमलकुमार भट्टराईले चिनी खरिदको फाइल आएको छ तर यसको प्रक्रिया अहिलेसम्म अगाडि बढेको जानकारी छैन भन्नुभयो ।
तीजको मुखमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । तीजमा ताजा हरियो तरकारीको माग बढेको तर उत्पादन घटेकाले तरकारीको मूल्य वृद्धि भएको हो । गत सातासम्म प्रतिकेजी ७०–७५ रुपियाँ थोक र ९० रुपियाँ खुुद्रा मूल्य रहेको स्थानीय काउली तीजसम्म आइपुुग्दा थोकमा १३० रुपियाँ र खुद्रामा दोब्बरभन्दा बढीले महँगिएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा थोकमा प्रतिकेजी स्थानीय काउली १२० रुपियाँसम्म कारोबार भएको छ भने त्यही बजारमा खुद्रामा १८० रुपियाँ प्रतिकेजीमा किनबेच भइरहेको छ । सो बजारमा एक साताअघि स्थानीय काँक्रो प्रतिकेजी ७०–७५ रुपियाँमा बिक्री भएकामा अहिले बढेर थोकमै १४० रुपियाँ पुगेको छ । खुद्रामा त प्रतिकेजी दुई सय रुपियाँ पुगेको छ । चाडपर्वमा बढी माग हुने काउली, च्याउ, तामा, गाँजर, घिउ सिमी, काँक्रोलगायतका तरकारीको मूल्य वृद्धि भएको छ । उत्पादन स्थलमै महँगो भएकाले काठमाडौँसम्म आइपुग्दा यसको मूल्य अझै बढेको व्यापारी बताउँछन् ।
गत आर्थिक वर्ष काठमाडौँको कीर्तिपुर नगरपालिका–२ की उर्मिला महर्जनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० दिनको रोजगारी पाउनुभयो । यो कार्यक्रमबाट उहाँले दैनिक ६२५ रुपियाँका दरले ३७ हजार ५४० रुपियाँ आय गर्नुभयो । दुई छोराछोरीसहित चार जनाको उहाँको परिवारमा श्रीमान् श्रीमती दुवैको अर्को नियमित आयस्रोत छैन । छोराछोरी पढाउने र अरू खर्चका लागि यस्तै ज्यालादारी काम नै खोज्नुपर्छ । महर्जनको चार जनाको परिवारको मासिक खर्च २९ हजार रुपियाँजति छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले उहाँलाई एक सय दिनको रोजगारी त दिएन, ६० दिनकै रोजगारीले पनि राहत भएको उहाँको बुझाइ छ । “नहुनुभन्दा दुई महिना भए पनि ढुक्कसँग खान पाइने भयो । बाँकी दस महिनाका लागि त अरू काम खोज्नुपर्छ,” उहाँले भन्नुभयो ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको विराटनगर र सिमरामा शाखा कार्यालय शुभारम्भ गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार एकैसाथ भर्चुअल माध्यमबाट ती दुई कार्यालयको शुभारम्भ गर्नुभएको हो । सेवाग्राहीको माग र आवश्यकताका आधारमा शाखा विस्तार गरिएको कोषले जनाएको छ । श्रम सचिव एवं कोष सञ्चालक समितिका अध्यक्ष एकनारायण अर्यालले केन्द्रीय कार्यालयबाट हुँदै आएका सम्पूर्ण काम नयाँ शाखा कार्यालयबाट पनि हुने जानकारी दिनुभयो । उहाँले कोषका कार्यालय विस्तार भएसँगै ती कार्यालयमार्फत कोषमा सेवाग्राहीको पहुँचमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
चाडपर्व नजिकिँदै गए पनि सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी खरिदका लागि दुई महिनाअघि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद अगाडि बढ्न नसकेको हो । वाणिज्य मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले अर्थ मन्त्रालयले चिनी आयातका लागि स्वीकृत नदिँदा प्रक्रिया अगाडि बढाउन नसकेको जानकारी दिनुभयो । भन्सार छुटमा चिनी आयात गर्नका लागि सहमति दिनका लागि अर्थ मन्त्रालयमा दुई महिनाअघि प्रस्ताव पेस गरेको भन्दै उहाँले भन्नुभयो, “यो वर्ष चिनी उत्पादन कम भएको र समयमा आयात नहुँदा चाडपर्वमा अभाव भई महँगो हुन सक्ने देखिएको छ ।”
गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक हजार पाँच सयले ज्यान गुमाएका छन् । आव २०७८/७९ मा वैदेशिक रोजगारीबाट १० खर्ब सात अर्ब ३१ करोड रुपियाँ विप्रेषण भित्रिँदा एक हजार ४७९ जनाले रोजगारीकै क्रममा विदेशी भूमिमा ज्यान गुमाएका छन् । विदेशी मुद्रा आर्जनमा महत्त्वपूर्ण स्रोत रहेको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण आव २०७८/७९ मा आठ अर्ब ३३ करोड अमेरिकी डलर हो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो विप्रेषण आर्जन नेपाली मुद्रामा ९.८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले वृद्धि हो ।
सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी रकम प्राप्त थालेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी कोषमा योगदान गर्नुभएका विनयकुमार महतो र पवनबाबु प्रधानलाई विशेष सापटी योजनाअन्तर्गतको रकम प्रदान गर्नुभएको हो ।
काउली र गोलभेँडासहित विभिन्न पाँच किसिमका तरकारीमा घातक विषादीको अवशेष पाइएको छ । कालीमाटी तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशालामा परीक्षण गरेका तरकारीका नमुनामध्ये काउली, तुनेबोडी, गोलभेँडा, हरियो खुर्सानी र भेँडेखुर्सानीमा बढी विषादीको अवशेष फेला परेको पाइएको हो ।
वैदेशिक रोजगार विभागले पछिल्लो दुई महिनादेखि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ को अधिकार प्रयोग गर्दै ठगी आरोपमा असारमा तीनवटा र साउनमा दुईवटा गरी पाँचवटा म्यानपावरविरुद्धका मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गरेको हो । विभागका अनुसार ऐनमा यस प्रकारको अधिकार विभागलाई दिए पनि यसको अभ्यास भने विभागले अहिले मात्रै गर्न थालेको छ ।