• ८ मंसिर २०८१, शनिबार

प्रयोगमै नरहेका विषादीको परीक्षण

blog

काठमाडौँ, चैत ८ गते । नेपाल र भारतमा उत्पादित तरकारीमा प्रयोगमा नै नरहेका विषादीको परीक्षण गरेर आमउपभोक्तालाई झुक्याउने काम गरिँदै आएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालामार्फत देशका २२ स्थानमा द्रुत विषादी अवशेष विश्लेषण (आरबीटीआर) प्रविधिमार्फत प्रयोगमा नै नरहेका विषादी परीक्षण गर्ने गरिएको छ। खाद्य विभागले विभिन्न १५ स्थानमा र केन्द्रीय प्रयोगशालाले कालीमाटीसहित विभिन्न सात स्थानमा आरबीटीआर प्रविधिमार्फत तरकारीको परीक्षण गर्दै आएको छ। 

नेपाल र भारतमा प्रतिबन्ध लगाइएकाले प्रयोगमा नरहेका अर्गायानो–फोस्फेट र कार्बामेट्स समूहका विषादी परीक्षण गरेर राज्यको साधनस्रोतको दुरुपयोग हुँदै आएको छ। बाली संरक्षणविज्ञ डा. डिल्लीराम शर्माले भन्नुभयो, “नेपाल र भारतमा प्रयोग नहुने समूहका विषादी परीक्षण गरिँदै आएको छ। परीक्षणपछि विषादीरहित तरकारी भएको प्रतिवेदन तयार गरी आमउपभोक्तालाई धोका दिने काम गरिएको छ। यो तमासा रोकिनुपर्छ।” 

झन्डै १० वर्ष पहिले नै प्रतिबन्ध लगाएका विषादी परीक्षण गरेर राज्यको साधनस्रोत दुरुपयोग गरिरहेको उहाँको तर्क छ। उहाँका अनुसार नेपाल र भारतमा पछिल्लो पटक तरकारी उत्पादनमा बढी प्रयोग हुने सिन्थेटिक पाइथोराइड र ट्राइथाइट कार्बामेट दुई समूहका विषादीको अधिक प्रयोग हुने गरेको छ। 

कालीमाटी फलफूल तथा तरकारी बजारसहित देशका विभिन्न ठाउँमा गरी सात स्थानमा आरबीटीआरको प्रविधिमार्फत प्रयोगशाला सञ्चालनको नेतृत्व गर्नुभएका बाली संरक्षणविज्ञ डा. शर्माले भन्नुभयो, “कालीमाटीमा २०७१ साल असारमा प्रयोगशाला सञ्चालन गर्दा अर्गायानो–फोस्फेट र कार्बामेट्स विषादीको प्रयोग ७० प्रतिशतको हाराहारीमा थियो तर अहिले १० प्रतिशतभन्दा पनि कममा झरेको छ।” अचेल सिन्थेटिक पाइथोराइड र ट्राइथाइट कार्बामेट समूहका विषादीको प्रयोग बढी हुने गरेको छ। केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख नरहरि घिमिरेले प्रयोगशालाको परीक्षणको स्तर वृद्धि गरी विषादी समूहको परीक्षण प्रविधि समयानुकूल बनाउन सरकारसँग बजेट माग गरेको तर अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा कार्यक्रम प्रभावित भएको बताउनुभयो। 

उहाँले चालु आर्थिक वर्षदेखि सिन्थेटिक पाइथोराइड र ट्राइथाइट कार्बामेट दुई समूहका विषादी थप गरेर परीक्षण गर्नुपर्छ भन्ने पक्षमा आफूहरू रहेको बताउनुभयो। केन्द्रीय प्रयोगशालाले आवश्यक पर्ने प्राविधिक जनशक्तिको क्षमता वृद्धि गर्न र प्रयोगशालाको स्तर वृद्धिलगायतको विवरण खुलाएर बजेट निकासाका लागि कृषि तथा पशुपन्छी मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको निकै महिना भइसकेको छ।

“आमनागरिकको स्वास्थ्यसँग जोडिएको विषादी परीक्षणको विषयमा बजेट माग गर्दा उपलब्ध गराइँदैन। परिणाम मात्रै राम्रो खोजेर कसरी दिन सकिन्छ ?” उहाँले प्रतिप्रश्न गर्नुभयो।

घिमिरेका अनुसार यी दुई समूहका विषादी परीक्षण गर्न सकेमा नेपालमा प्रयोग हुने ९५ प्रतिशत विषादीको परीक्षण हुन्छ। उहाँले अहिलेसम्म बजेट निकासा हुने वा नहुने भन्ने टुङ्गो नलागेकाले यो वर्ष सुरु गर्न नसकिने अवस्था रहेको बताउनुभयो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले तत्कालीन समयका लागि आरबीटीआर प्रविधिमार्फत अर्गायानो–फोस्फेट र कार्बामेट्स समूहका विषादी परीक्षण गर्ने गरिए पनि विस्तारै अन्य समूहमा परीक्षणका लागि प्रयोगशालाको स्तर वृद्धि गर्नुपर्ने बताउनुभयो। 

प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार नेपालमा हाल १६५ प्रकारका विषादी दर्ता भएर प्रयोगमा रहेका छन्। तरकारीमा सिन्थेटिक पाइथोराइड र ट्राइथाइट कार्बामेट समूहका विषादीको प्रयोग हुने गरेको छ। गत आर्थिक वर्ष २०७८/७९ मा ७८३ मेट्रिक टन रासायनिक विषादी भित्रिएको थियो। आर्थिक वर्ष २०७७/७८ मा ६६३ मेट्रिक टन रासायनिक विषादी भित्रिएको थियो। यसले पनि विषादीको माग बर्सेनि बढेको पुष्टि हुन्छ। आर्थिक वर्ष २०५४/५५ मा नेपालमा जम्मा ५६ मेट्रिक टन रासायनिक विषादी भित्रिएकोमा आर्थिक वर्ष २०७८/७९ मा झन्डै १४ गुणा बढेर ७८३ मेट्रिक टन पुग्यो। 

केन्द्रका प्रमुख सावित्री बरालका अनुसार नेपालमा विषादीको औसत प्रयोग विदेशको तुलनामा बढी होइन तर आएको विषादीको ८५ प्रतिशत तरकारी र फलफूल बालीमा मात्रै प्रयोग हुनु चिन्ताको विषय हो। नेपालमा हाल भित्रिएको रासायनिक विषादी प्रतिहेक्टर ३९६ ग्राममा मात्रै प्रयोग हुन्छ, जुन अन्य देशको तुलनामा असाध्यै कम हो। जब कि माल्टामा प्रतिहेक्टर १६ केजी ७७ ग्राम रासायनिक विषादीको प्रयोग भएको पाइन्छ।

यस्तै कोरियामा प्रतिहेक्टर १४ दशमलव ७४ ग्राम, जापानमा १४ दशमलव १८ ग्राम, चीनमा १० दशमलव ४५ ग्राम, अमेरिकामा तीन केजी ८८६ ग्राम रहेको छ। भारतमा प्रतिहेक्टर २६१ ग्राम विषादी प्रयोग भइरहेको छ। आँकडाले नेपालको विषादी प्रयोग न्यून देखाउँछ । अझ हिमाली र अधिकांश पहाडी क्षेत्रमा विषादीको प्रयोग शून्यजस्तै छ। तराई र उपत्यका वरपरका व्यावसायिक तरकारी खेती गरिने स्थानमा भने जथाभावी रूपमा विषादीको प्रयोग भइरहेको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख बरालले बताउनुभयो । केन्द्रका अनुसार तरकारी बालीमा देशभर औसतमा एक हजार छ सय ग्राम प्रतिहेक्टर विषादी प्रयोग भइरहेको छ। 

अध्ययनअनुसार विश्वमा प्रत्येक वर्ष करिब २० लाख मेट्रिक टन विषादीको खपत हुने गरेको छ। जसमा ४७ दशमलव ५५ झारनाशक, २९ दशमलव ५५ कीटनाशक, १७ दशमलव ५५ ढुसीनाशक र पाँच दशमलव ५५ अन्य पर्दछन्। बर्सेनि विश्वमा करिब दुई करोड ६० लाख मानिसमा विषादीको असर पर्ने र २२ लाख मानिसको मृत्यु हुने गरेको छ।