मुलुकको औद्योगिक क्षेत्र आर्थिक सङ्कटमा परेको छ। बजारमा तरलता अभाव, बैङ्कको चर्काे ब्याजदरले आर्थिक गतिविधि चलायमान नहुँदा समग्र औद्योगिक क्षेत्र सङ्कटमा पर्न थालेको हो । सिमेन्ट, फलाम, डन्डी, प्लास्टिक, अटोमोबाइल, साबुन, शृङ्गार, बिस्कुट, सर्फ तथा पेय पदार्थलगायत अन्य उद्योग आर्थिक समस्यामा परी उत्पादनमा कटौती हुन थालेको सम्बन्धित उद्योगीले जानकारी दिएका हुन् । बजारमा खपत कम हुुँदा निर्माण सामग्रीका उद्योग पनि बन्द हुने अवस्थामा पुगेका छन् । अर्थविद् डा. चिरञ्जीवी नेपालले अर्थतन्त्रमा शिथिलता आएकाले यसलाई समयमै सम्बोधन नगरे आर्थिक मन्दीतर्फ जाने जोखिम रहेको बताउनुभयो।
कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढेको हो । पर्यटकको आगमन बढेसँगै विगत तीन वर्षदेखि सुनसान अवस्थामा रहेका यहाँका होटल भरिभराउ छन् । असोजदेखि कात्तिकसम्म मुस्ताङ घुम्ने उपयुक्त समय भएकाले आन्तरिक र विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो । जोमसोममा रहेको एमोनाइट होटलकी सञ्चालक लक्ष्मी शेरचनले यसपालि पर्यटकको आगमन ह्वात्तै बढेको बताउनुभयो । “विगतका वर्ष कोरोना महामारीका कारण पर्यटक आगमन शून्य भयो । यसपालि असोज पहिलो सातादेखि नै पर्यटक आउन थालेको छन्,” उहाँले भन्नुभयो । ५० जनाको क्षमता रहेको होटलमा एक महिनादेखि भरी हुने गरेको शेरचनले जानकारी दिनुभयो ।
प्रतिबद्धताअनुसार वैदेशिक लगानी नआएपछि विदेशीलाई व्यावसायिक भिसामा कडाइ गरिएको छ। नेपालमा लगानी गर्छु भनेर प्रतिबद्धता गर्ने तर लगानी नगरेपछि भिसामा कडाइ गरिएको उद्योग विभागले जनाएको छ।
तीन दशकअघि पाँच सय रुपियाँबाट हस्तकलाको व्यवसायमा प्रवेश गर्नुभएकी रुक्मणीदेवी श्रेष्ठ हाल तीन करोड रुपियाँको व्यवसाय सञ्चालन गर्नुहुन्छ। सिन्धुपाल्चोकमा जन्मिनुभएकी रुक्मणीदेवीमा सानैदेखि केही गर्नुपर्छ भन्ने सोच थियो। त्यतिबेला काठमाडौँ आएर बुन्ने काटी र एक किलो ऊनी धागो किनेर उहाँले टोपी, मोजा बुन्न थाल्नुभयो। बिहे भ
नापतौल यन्त्र बिगारी ठगी गर्ने वा तोकिएको परिमाणमा सामान उपलब्ध गराउने व्यवसायीलाई तीन लाख रुपियाँसम्म जरिवानाको व्यवस्था भएको छ। विद्यमान स्ट्यान्डर्ड नाप र तौल ऐनलाई संशोधन गरी नापतौल यन्त्रमा गडबडी गर्नेलाई अधिकतम तीन लाख रुपियाँ जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था गरिएको हो।
विगत केही समययता आयात निर्यातमा गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा ४१ अर्ब ८२ करोड १९ लाख रुपियाँको निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ७१ प्रतिशत कम हो । आव २०७८/७९ को पहिलो तीन महिनामा ६५ अर्ब ५२ करोड आठ लाख रुपियाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले घोषणापत्र जारी गरेका छन् । नेपाली कांग्रेसले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने, न्यूनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश ५ दशमलव ६ प्रतिशतबाट बढाएर ९ प्रतिशत पु-याउने लक्ष्य राखेको छ ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आयात निर्यात दुवै घटेको छ । आयात निर्यात घटेसँगै व्यापार घाटा घटे पनि राजस्व सङ्कलनमा प्रतिकूल प्रभाव परेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७९/८० को साउनदेखि असोज मसान्तसम्म आयात निर्यात दुवै घटेको हो । सरकारले विदेशी मुुद्रा सञ्चिति बढाउन केही वस्तुुको आयातमा कडाइ गरेको छ ।
सयपत्री मालाको आयातमा प्रतिबन्ध लगाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सयपत्री फूलका मालाको आयातमा रोक लगाएको हो । केन्द्रले माला आयातका लागि अनुमति दिन बन्द गरेको छ ।
गरिबी निवारणको राष्ट्रिय लक्ष्य हासिल हुन चुनौतीपूर्ण रहेको देखिएको छ । खासगरी कोभिड–१९ महामारी र युक्रेन–रुस युद्धका कारण आर्थिक गतिविधि सङ्कुचन भएकाले त्यसको प्रभाव गरिबी निवारणमा परेको बताइएको छ । सरकारी तथ्याङ्कअनुसार अहिले निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८.७ प्रतिशत रहेको छ भने बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या १७.४ प्रतिशत रहेको छ । प्रतिव्यक्ति आय एक हजार चार सय अमेरिकी डलर रहेको छ ।
खाद्यान्नमा नेपाल बचतकै अवस्थामा रहे पनि बर्सेनि निकै ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ । मुलुकमा आव २०७८/७९ मा एक करोड सात लाख ७२ हजार मेट्रिक टन खाद्यान्न (धान, मकै, गहुँ, कोदो, फापर, जौ) उत्पादन हुने गरेको तथ्याङ्क छ । यस उत्पादनबाट बीउ, जर्ती, पशुु आहार, भण्डारण तथा प्रशोधन नोक्सानी कटाएर ७५ लाख ३० हजार मेट्रिक टन उपभोग योग्य खाद्यान्न उपलब्ध हुने कृषि तथा पशुुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ ।
आगामी तिहारका लागि तीन लाख सङ्ख्यामा माला आयात गरिने भएको छ ।तिहारमा खपत धेरै हुने हुँदा स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा तीन लाख सङ्ख्यामा सयपत्री माला आयात गर्न लागिएको हो । तिहार आउन दुई साता बाँकी रहँदा व्यवसायीले तिहारलाई लक्षित गरेर माला आयात गर्ने तयारी गरेका छन् ।
काठमाडौं, असोज १४ गते। महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उद्घाटन गरिएको छ। काठमाडौँ महानगरपालिका–३०, मैतीदेवी कविकुज्जस्थित महाकवि देवकोटाको घरलाई पुनः निर्माण गरी सङ्ग्रहालय बनाइएको हो। नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गत रहने सो सङ्ग्रहालय निर्माणका लागि नेपाल सरकारले देवकोटा परिवारसँग उक्त घर, जग्गाको मोहियानी हक प्राप्त गरेको थियो। उक्त जग्गा गुठी संस्थान अन्तर्गतको गुठी रहेकाले संस्थानको हक यथावत रहने गरी प्रज्ञा प्रतिष्ठानका लागि नेपाल सरकारले जग्गाको मोहियानी हक खरिद गरेको थियो। नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ महानगरपालिका वडा नम्बर ३० लगायतका निकायले २०७५ सालबाट सङ्ग्रहालय निर्माणको पहल गर्दै आएका थिए। भित्रीबाटो समेत एक रोपनी १ पैसामा फैलिएको देवकोटा निवासको सम्पूर्ण जग्गाको मूल्य पाँच करोड रुपियाँ मूल्याङ्कन गरिएको थियो। सङ्ग्रहालयमा तीन तला, देवकोटाले अध्ययन गर्ने कोठा लगायत १६ कोठा, वाचनालय, लिफ्ट र आधुनिक सञ्चार सुविधा उपलब्ध छ। करिव सात करोड रुपियाँमा निर्माण गरिएको सङ्ग्रहालयमा देवकोटाका कृति, श्रव्य दृश्य सामग्री तथा उनले प्रयोग गरेका सामानहरू राखिएका छन्। महाकविको घरको मौलिकता यथावत राखेर सङ्ग्रहालयमा केही आधुनिक सुविधा तथा संरचना थप गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो। सङ्ग्रहालय परिसरमा देवकोटाको पूर्णकदको सालिक राखिएको छ। यसैगरी देवकोटाले अध्ययन गर्ने कक्षमा कविता वाचन गर्दैगर्दा मन्त्रमुग्घ बन्नुभएका देवकोटाको आकर्षक सालिक राखिएको छ। दुवै सालिक वरिष्ठ मूर्तिकार बालकृष्ण तुलाधर (वर्ष ८६), ले बनाउनु भएको हो। सालिक बनाउन उहाँका छोरा कलाकार राजु तुलाधर र कलाकार विना महर्जनले सहयोग गर्नुभएको थियो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालका महाकविको योगदानलाई चिरस्थायी गर्न सङ्ग्रहालय सहायक हुने विश्वास व्यक्त गर्नुभयो। सङ्ग्रहालयमा सर्जकहरूका लागि वाचनालयको सुविधा उपलब्ध गराइने भन्दै उहाँले महाकवि देवकोटाले प्रयोग गर्नुभएका सामग्री कसैसँग भए सङ्ग्रहालयलाई उपलब्ध गराई दिनहुन आग्रह पनि गर्नुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले मानिस धन, धर्म, जातले नभएर प्रतिभा र परिश्रमले जीवन्त हुने बताउनुभयो। उहाँले देवकोटा त्यही कोटीका भएको उल्लेख गर्नुभयो। वरिष्ठ समालोचक प्रा. डा. वासुदेव त्रिपाठीले देवकोटाको तुलना केही विशिष्ट अन्तर्राष्ट्रिय साहित्य तथा साहित्यकारसँग मात्र हुनसक्ने विचार व्यक्त गर्दै उहाँको कृतित्व तथा व्यक्तित्वलाई थप उजागर गर्न सङ्ग्रहालयको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। देवकोटाकी छोरी तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय सञ्चालक समिति सदस्य अम्बिकादेवी देवकोटा रिमालले देवकोटा आफ्नो परिवारको सदस्यमात्र नभएर राष्ट्रकै प्रतिभा भएकाले यस प्रकारको सम्मानले आफूलाई उत्साही बनाएको बताउनुभयो। कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण स्थानीय सहयोग समितिका सल्लाहकार प्रा.डा पार्थिवेश्वर तिमिल्सिना, कामनपा–३० का अध्यक्ष दलबहादुर कार्की, महाकवि मार्ग टोल सुधार समितिका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठलगायतले आफ्नो टोलमा ऐतिहासिक महत्व रहने सङ्ग्रहालय निर्माण भएकामा खुशी व्यक्त गर्दै निरन्तर सहयोगको प्रतिबद्धता जनाउनु भयो।
दशैँ नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । ठूलाठूला व्यापारिक मलदेखि सडकपेटीमा सामान किनबेच गर्नेको भीडभाड बढेको छ । एक सातायता बजारमा दैनिक उपभोग्य वस्तुुदेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान किनमेल गर्ने ग्राहकको चहलपहल बढ्दै गएको हो । सार्वजनिक बिदाको दिन भएकाले शनिबार काठमाडौँको मुख्य व्यापारिक केन्द्र नयाँ सडकमा किनमेल गर्नेको भीडभाड झन् धेरै थियो । दशैँ मान्न उपत्यकाबाहिर घर जानेहरू चाँडै किनमेल गरेर घर फर्कने हतारोमा देखिन्छन् ।
लक्ष्यभन्दा बढी राजस्व काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आव २०७८/७९ मा नौ अर्ब ८७ करोड १३ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा १० अर्ब ६० करोड ४८ लाख ३७ हजार ८६० रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ । यो लक्ष्यको ११६ प्रतिशत हो ।