पेट्रोलियम पदार्थमा भएको लगातारको मूल्य वृद्धिले विकास निर्माणको काम प्रभावित भएको छ । डिजेलको मूल्य वृद्धिसँगै निर्माण सामग्रीमा मूल्य वृद्धि भएकाले निर्माण व्यवसायीले काम रोकेका छन् । आर्थिक वर्षको अन्तिम असार महिनामा विकास निर्माणको काम दुरत गतिमा हुनुपर्ने भए पनि यसपालि भने सुस्त गतिमा रहेको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले डिजेलमा भएको मूल्य वृद्धिको कारणले विकास निर्माणको काम प्रभावित भएको जानकारी दिनुभयो । निर्माण व्यवसायी सार्वजनिक खरिद नियमावलीमा सुधार गर्नुपर्ने माग पनि राख्दै आएका छन् ।
आगामी आर्थिक वर्षका लागि बजेट निर्माणमा स्थानीय तह व्यस्त छन् । असार १० गतेभित्रै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुुपर्ने कानुनी व्यवस्थाअनुसार स्थानीय तह बजेट ल्याउने तयारीमा जुटेका हुन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ (३) बमोजिम गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने व्यवस्था छ ।