सुनसरीमा महिनावारी स्वच्छता दिवसको अवसरमा विभिन्न सचेतना मुलक कार्यक्रम भएको छ । जिल्लाको सदरमुकाम इनरुवामा साझेदारी नेपालले विभिन्न स्थानमा महिनावारी स्वच्छतासम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले हाजिरीजवाफ, अन्तरक्रिया र फोटो प्रदर्शनी सम्पन्न गरेको हो ।
काठमाडौं, जेठ १४ गते । नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडिपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका ‘लघु फिल्म प्रतियोगिता’मा ‘द बास्केट’ले पहिलो बनेको छ । चलचित्र विकास बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा जातीय विभेदलाई निरुत्साहित गर्ने भाव समेटिएको फिल्मले २ लाख नगदसहित पुरस्कार जितेको हो ।२० फिल्ममध्ये सुरेन्द्र प्रजापतिको ‘शुन्य’ दोस्रो र राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ तेस्रो भएको थियो । शर्मा क्रिएसनको ‘अछोप’ले सान्तवनामा चित्त बुझाएको थियो । उनीहरुले क्रमशः १ लाख ५० हजार, ५० हजार र २५ हजार रुपैंयाँ प्राप्त गरे । विजेता चार फिल्मसँगै निर्णायकले छानेका २० फिल्मका सहभागीलाई सहभागिताको प्रमाण पत्र दिएको थियो ।निर्देशक समाज र युनडीपीले जातप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी गत डिसेम्बरमा सूचना प्रकाशित गरिएकाे थियाे ।प्रतियोगिताको जुरीमा कानुन न्याय, तथा संसदीय व्यवस्था मन्त्रालयका सह–सचिव फणिन्द्र गौतम, निर्माता, निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल थिए ।
नव निर्वाचित गाउँपालिका उपप्रमुख धाना धामीले महिला हिंसा नियन्त्रण गर्ने बताउनुभएको छ । बैतडीको सिगासमा मदिराका कारण महिलामाथि घरेलुहिंसा बढेको बताउनुहुँदै उपप्रमुख धामीले मदिरा नियन्त्रण पहिलो प्राथमिकतामा रहेको बताउनुभएको हो ।
धनुषास्थित मिथिला नगरपालिका–११ स्थित शिकारी डाँडा वन क्षेत्रमा अतिक्रमण बढेपछि वन अतिक्रमण रोक्न काँडे तारको घेरा लगाउन थालिएको छ ।
गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीले कार्यालय परिसरमा सरसफाई गरेको छ ।
कपिलवस्तुको मायादेवी गाँउपालिकाअन्तर्गत कक्षा ८ का छात्राहरुलाई अध्ययनमा सहजताका लागि साइकल वितरण गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत कक्षा ८ का ५२ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो ।
गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुंगा नगरपालिकामा हरित शहरको रुपमा विकास गर्नको लागि आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको छ ।
स्थानीय तह निर्वाचनमा सहभागि हुन स्वदेश फर्किएका नेपालीहरु निर्वाचन सकिएलगत्तै रोजगारीका लागि पुनः भारत फर्किन थालेका छन् ।
नेकपा (आमोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले आत्मनिर्भर उन्मुख अर्थतन्त्रलाई जोड दिएको बताउनुभएको छ ।
ललितपुर, जेठ १४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले आज यहाँ आयोजना गरेको जनचेतनामूलक साइकल यात्रा समापन गर्दै उहाँले विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको उल्लेख गर्नुभयो । मन्त्री भुसालले महिलाको स्वास्थ्यमा सबै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “महिलाको जैविक बनावटको सम्मान गरौँ, महिला स्वाथ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो, “यो गर्वको कुराे हो तर पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो ।”मन्त्री भुसालले महिनावारीका समयमा महिलालाई सफा र स्वच्छ राख्नुपर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाज विकासका क्रममा महिलाका विषयमा पनि चेतनास्तर बढ्दै गएकाले अबका दिनमा चेतनास्तर प्रवद्ध्र्रन गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो । आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले नेपाली महिला महिनावारीका समयमा विभेदको सिकार हुने भएकाले महिनावारी हुँदा गरिने विभेद हटाउन सके हिंसा न्यूनीकरण हुने बताउनुभयो । बिहान वसन्तपुरबाट सुरु भएको साइकल ¥याली जमल, दरबारमार्ग, पुतलीसडक, अनामनगर, बिजुलीबजार, माइतीघर मण्डला, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मङ्गलबजारस्थित दरबार स्क्वायर पुगेर समापन गरिएको थियो । ¥यालीमा ३०० भन्दाबढी व्यावसायिक साइकलयात्रीको सहभागिता थियो । पुनःप्रयोग गर्न मिल्ने प्याड र वातावरणमैत्री साइकलको सम्बन्ध मानव स्वास्थ्य र स्वच्छ वातावरणका हिसावले महत्वपूर्ण रहेको सन्देश दिन उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । एक्सपोज नेपालले सन् २००७ देखि नेपालमा महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध र महिनावारी स्वच्छताका क्षेत्रमा काम गरिरहेको छ । उक्त संस्थाले चार हजार ९०० महिलालाई पुनःप्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम दिइसकेको छ ।
प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।
अमृतप्रसाद पौडेलम्याग्दी, जेठ १४ गते । नेपालबाट निकै ठूलो संख्यामा युवा रोजगारीका लागि विदेशीमा जाने गरेको भए पनि म्याग्दीका एक युवाले सिलाइकटाइबाटै मनग्य आम्दानी गर्नुभएको छ । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लिकी मिनाकुमारी पुनले पछिल्लो झण्डै एक दशकदेखि बेनीमै सिलाइकटाईबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ ।वि.सं. २०६८ सालमा बुटवलमा सिलाइकटाई ट्रेनिङ इन्सिच्युटमा तालिम लिएरपछि घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको सिलाइकटाई तालिम लिएपछि २०७० मा आधिकारिक रुपमा टेलरिङ सेन्टर शुरु गर्नुभयो । अहिले उहाँ सो क्षेत्रको प्रशिक्षक एवम् उत्कृट टेलरिङ गुरु मानिनुहुन्छ । उहाँले हालसम्म तीन सय जना भन्दा धेरैलाई तालिम दिइसक्नुभएको छ । सिकाएका विद्यार्थीमध्ये अहिले करिब २० प्रतिशतले मात्रै व्यवसाय सञ्चालन गरिरहेको उहाँ बताउनुहुन्छ । मासिक करिब एक लाख रुपियाँको ब्यापारमा करिब २५–३० हजार बराबरको सामग्री खरिदमा खर्चपछि करिब ७० हजार रुपियाँको फाइदा हुने उहाँले बताउनुभयो । अहिले उहाँको टेलरिङ सेन्टरमा नियमित रुपमा ६ जनाले तालिम लिइरहनुभएका छ भने अहिलेसम्म आङ्गता भएका परिवारका सदस्यहरु २२ जनालाई तालिम दिनुभएको छ ।
रमेश विश्वकर्मागुल्मी, जेठ १४ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाका कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ । गाउँपालिकाका गाउँपालिका अध्यक्ष युवराज केसी, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीलगायतले एक औपचारिक कार्यक्रमकाबीच उक्त औजारहरु वितरण गर्नुभएको हो । औजारहरु वितरण गर्दै गाउँपालिकाका अध्यक्ष केसीले कृषिको माध्यमबाट नै गाउँपालिकालाई समृद्ध बनाउन सकिने भएकाले आधुनिक कृषितर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी आर्र्थिक आय–आर्जन वृद्धि गर्ने सकिने उल्लेख गर्नुभयो । आगामी दिनमा पनि सबै कृषकलाई पुग्नेगरी औजार वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । गाउँपालिकामा आ.व.२०७७/०७८ देखि शुरु भएको स्मार्ट कृषि गाउँ कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश सरकार र चन्द्रकोट गाउँपालिकाको संयुक्त साझेदारीमा गाउँपालिका भित्रका वडाहरु ३, ४ र ६ मा लागू भइरहेको छ । चक्रेश्वर स्मार्ट कृषि बाख्रा तथा तरकारी पकेट समूह गठन भई समूहमा कार्यक्रम सञ्चालनमा आएकोमा चालू आ.व.को प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत कृषकहरुलाई मिनी टीलर, च्याप कटर, तौल मेसिन, सिंचाई पाईप, दाना खुवाउने डुडलगायतका औजार उपकरणहरु वितरण गरिएको हो ।
भक्तपुर, जेठ १४ गते । सार्वजनिक जग्गासहित व्यक्तिको जग्गा कीर्ते गरी बिक्री गर्न रु पाँच करोड २० लाख बैना लिएर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारीलाई कमल विनायकबाट र भक्तपुर नपा–८ बस्ने ईश्वर गाइजुलाई भक्तपुरस्थित मालपोत कार्यालयको गेटबाट पक्राउ गरिएको जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको हो । परिसरका प्रहरी नायब उपरीक्षक राजु केसीका अनुसार खोटाङ बुईपा–३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नपा–१४ बस्ने धनीराम राईसमेतको जाहेरीका आधारमा काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी प्रहरी परिसर भक्तपुरलाई बुझाएको हो । महाशाखाले पक्राउ परेका व्यक्ति र मिसिल भक्तपुर परिसरलाई बुझाएको तथा भक्तपुर प्रहरीले आजैबाट थप अनुसन्धान गरि कानुनी प्रक्रिया अगाडि बढाएको केसीले बताउनुभयो । पक्राउ परेका अधिकारी र गाइजुले भक्तपुर साविक सुडाल गाविस–४ ‘क’ मा रहेको विभिन्न कित्ता नम्बरका अरुकै नामको जग्गा सम्बन्धित जग्गाधनीसँग अनुमति नलिई अनुमति लिएको छाँै भन्दै झुक्याएको र त्यससँगै रहेको कि.नं. ३९९ को ०–४–०–० क्षेत्रफल सरकारी जग्गासमेत बिक्री गर्न करारनामा गरी बैनाबापत रु पाँच करोड २० लाख लिएर ठगी गरेको अभियोग छ ।
बनेपा, जेठ १४ गते । काठमाडौँ विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् ।कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् । दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०.२८ (१०३२ जना) र महिलाको प्रतिशत ३९.७२ (६८०) रहेको छ । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका १५७ रहेका छन् । कार्यक्रममा पाँच जनालाई काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलोपटक उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । सत्ताइसौँ दीक्षान्त समारोहसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट अहिलेसम्ममा ३८ हजार ३३६ उत्तीर्ण हुनेछन् ।