• ८ जेठ २०८१, मङ्गलबार

भिसा लागेपछि भगवानकाे मूर्ति दर्शन गरेका तिवारी बन्नुभयाे मूर्तिकार

blog

जानु पाण्डे

कपिलवस्तु, जेठ १४ गते । कतारको भिसा लगाएका कपिलवस्तु बाणगंगाका सुनिलकुमार तिवारी तिलौराकोट दर्शन गर्न पुग्नुभएको थियो । विदेशी पर्यटकले बुद्ध नगरी तिलौराकोटको माटो लुकाएर लैजान लागेको देखेपछि उहाँको मनमा यहाँको माटोबाट केही गर्ने सोच पलाएको थियो ।

सानैदेखि माटोको मूर्ति बनाउन मन पराउने तिवारीले यहाँको माटोको बुद्धको मूर्ति बनाएर विक्री गर्ने अठोट गर्नुभयो । विदेश नजाने अठोट गर्दै भिसा त्यागेर उहाँले तौलिहवामा मूर्ति बनाउन सुरु गर्नुभयो । अहिले उहाँ मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।


दुई दशक भारतमा श्रमिकको जीवन बिताउनुभएका उहाँ आफ्नो देशमा काम गर्दै रमाउन लाग्नुभएको छ ।

“म कक्षा ३ मा पढ्दादेखि माटोको मूर्ति बनाउन चाहना राख्थे । अरुले मूर्ति बनाएको देखेपछि चाहना लाग्न सुरु भएको थियो । केही वर्ष दसैँको बेलामा दूर्गा मूर्ति बनाउँदै खाली समय काम गर्दै आए पनि ५ वर्ष यता व्यवसायिक रुपमा मूर्ति निर्माण गर्दै विक्री गर्न लागेको छु ।

परम्परागत सीप मात्र भए पनि युट्युब हेर्दै, भारतको विभिन्न सहरमा मूर्ति बनाएको अवलोकन गरेर सिकेको थिएँ” उहाँले बताउनुभयो ।

 

पत्नी, दुई छोरी र एक छोराले उहाँको काममा सघाउने गर्नुहुन्छ । थप एक जना कामदारलाई रोजगारी दिनुभएको छ । उहाँले माटो, सिमेन्ट र फाइवरको प्रयोग गरी मूर्ति बनाउने गर्नुहुन्छ । उहाँले एउटा मूर्तिलाई २५ रुपैयाँ देखि ५ लाख रुपियाँसम्म बिक्री गर्नुभएको छ ।

वार्षिक २० लाख भन्दा बढीको मूर्ति विक्री हुने गरेको छ । निर्माण गरिएका मूर्तिलाई सामाजिक सञ्जाल, टिकटकको प्रयोग गरी प्रचार प्रसार गर्दै आउनुभएको छ । सामाजिक सञ्जालको प्रयोगपछि काठमाडाैँ, पोखरा, धनगढी, दाङ, अर्घाखाँचीलगायतका स्थानबाट मूर्तिको माग हुने गरेको छ । 

शुरुमा माटोको प्रयोग गरी नमूना मूर्तिको बनाउने र नमूना मूर्तिबाट फाइबरको साँचो बनाउने उहाँ बताउनुहुन्छ ।


पसल अगाडि निर्माण भएका मूर्ति देख्नुभएपछि प्रदेशमन्त्री डिल्लीबहादुर चौधरीले थारु म्युजियमका लागि मूर्तिको अर्डर दिनुभएको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार हाल तिलौराकोट आउने स्थानीय र विदेशी पर्यटक समेत मूर्ति लिन आउने गरेका छन् ।