• १७ असार २०८१, सोमबार

सावधानी नराख्दा सात जनाको मृत्यु

blog

बारा, जेठ १४ गते । देवताल गाउँपालिका–३, छोटकी आम्वा टोलका ४० वर्षीय रामप्रवेश महतो जेठ १० गते साँझ पानी तान्ने मोटर बनाउँदै हुनुहुन्थ्यो । घरमै जडान गरिएको पानी तान्ने मोटरमा समस्या आएपछि बनाउने क्रममा अचानक विद्युत् प्रवाह हुँदा गम्भीर घाइते भएपछि उपचारका लागि नेसनल मेडिकल कलेज वीरगञ्ज पठाइयो । यद्यपि महतोको उपचार सम्भव भएन । 

बाराका गाउँ बस्तीमा विद्युतीय असावधानीका कारण ज्यान जानेको सङ्ख्या बढ्दै गएको छ । यस वर्ष मात्र विद्युतीय करेन्ट लागेर सात जनाले ज्यान गुमाइसकेका छन् । सिँचाइ र खानेपानीका लागि मोटर चलाउने क्रममा असावधानीका कारण  करेन्ट लागेर यस्ता घटना हुने गरेका छन् । 

महागढीमाई नगरपालिका–८, बेतौनाका ३२ वर्षीय श्यामबाबु साहको शौचपछि सफाइका लागि खेतमा जाँदा करेन्ट लागी मृत्यु भएको थियो । खेतमा सिँचाइका लागि जडान गरिएको मोटरको तारबाट पानीमा करेन्ट प्रवाह भइरहेको अवस्थामा साहको मृत्यु भएको थियो ।जितपुरसिमरा उपमहानगरपालिका–७, लक्ष्मी टोलमा करेन्ट लागेर ३४ वर्षीय सर्फुदिन अंसारीको पनि मृत्यु भएको थियो । असोज ८ गते पानी तान्ने क्रममा मोटर चलाउँदा सो दुर्घटना भएको थियो । 

त्यस्तै असोज २४ गते तरकारी बारीमा सिँचाइ गर्ने क्रममा पानी तान्ने मोटरमा करेन्ट प्रवाह भई महागढीमाई नगरपालिका–८, ब्रह्मपुरीका ४५ वर्षीय रामेश्वर महतो कोइरीको पनि मृत्यु भएको थियो । भदौ १६ गते सिम्रौनगढ नगरपालिका–४ गङ्गानगरमा ४८ वर्षीय तेजालालप्रसाद यादवको मृत्यु भएको थियो । सिँचाइका लागि बिछ्याइएको तारमा करेन्ट प्रवाह हुँदा खेतमा काम गरिरहेका यादवको मृत्यु भएको थियो । 

त्यस्तै साउन २५ गते कलैया उपमहानगरपालिका–७, बरेवाका ६० वर्षीय राजाराम भगत मालीको घर ढलान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । असार १७ गते कलैया उपमहानगरपालिका–१४, बघवनका ४५ वर्षीय मदन जैसवालको चापाकलमा जडान गरिएको मोटर चलाउने क्रममा करेन्ट लागेपछि उपचारका क्रममा मृत्यु भएको थियो ।

तालिम प्राप्त व्यक्तिबाट विद्युतीय वायरिङ नहुनु, गुणस्तरहीन तार र प्लगको प्रयोग हुनु, विद्युतीय उपकरण र मर्मत सामग्रीसम्बन्धी ज्ञानको कमी हुनु, प्रालिम प्राप्त मिस्त्रीको अभाव हुनु जस्ता कारणले करेन्ट लागेर मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले पानी तान्ने मोटर बनाउने र सिँचाइका लागि खेतमा पानी लगाउने क्रममा असावधानी भएकोले करेन्ट प्रवाह भई मृत्यु हुने गरेको बताउनुभयो । 

Author

शिवशङ्कर मिश्र