गत बुधबारबाट लगातार परेको पानीले सुर्खेत–जुम्ला सडकखण्ड पर्णरुपमा बन्द भएको छ । कर्णाली लोकमार्गको सयौँ ठाउँमा झरेको पहिरोले सडक पूर्णरुपमा बन्द भएको हो । लोकमार्गको कालीकोट खण्डमा मात्र ५० ठाउँमा पहिरो र बाढीले सडक कटान गरेको छ । कालीकोट खण्डको सेरीघाट पुलको दायाँतिर पचास मिटर सडक तिला नदीले बगाएकाले वैकल्पिक सडकको प्रयोग समेत बन्द भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नवलपुरको एकै वडाबाट नौ जनाले उम्मेदवारी दिएका छन् । कावासोती नगरपालिकाको वडा नं. ८ बाट मात्रै नौ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
मङ्सिर ४ गते हुने निर्वाचनका लागि बाँके जिल्लाबाट तीन मन्त्रीसहित ९९ जनाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दर्ता गराउनेहरुमा दुई जना सङ्घीय मन्त्री र एक जना प्रदेश सरकारका मन्त्री हुनुहुन्छ भने दुई जना महामन्त्री र सहमहामन्त्री हुनुहुन्छ ।
सत्ता गठबन्धनको बैठक दिउँसो २ बजे बस्दैछ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित बस्ने उक्त बैठकमा आगामी निर्वाचनको उम्मेदवार तथा बागी उम्मेदवार सम्बन्धमा छलफल गरिने देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।
सोलुखुम्बुको खुम्बुक्षेत्रमा जान लागेका सयौँ पर्यटक मौसम प्रतिकूलताका कारण रामेछापमा अलपत्र परेपछि सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा झरेका छन् ।
सात दिनको लगातारको अविरल वर्षाले बाँके र बर्दियामा आएको बाढीबाट विस्थापित भएकाहरुका लागि कतार च्यारिटि नेपालले एक सय थान ठूला त्रिपाल सहयोग गरेको छ । विस्थापित भएका बाढीपीडितलाई बस्न समस्या भएपछि दुबै जिल्लाका विपद व्यवस्थापन समितिमार्फत् सहयोग गरिएको कतार च्यारिटि नेपालका प्रमुख ईर्शाद शेखले बताउनुभयो ।
चट्याङ लागेर गम्भीर घाइते हुनुभएका बाँके बैजनाथ गाउँपालिका ३ बनखेतका एक जना वृद्धको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ ।
एक सातादेखि परिरहेको अविरल वर्षाको कारण आइतबार राति पहिरोमा घर पुरिँदा चार जनाको मृत्यु र तीन जना घाइते हुनुभएको छ ।
बाँकेको खजुरा किरण नालामा आएको बाढीले बगाउँदा रुखमा चढेर ज्यान जोगाएका दुई जनाको सोमबार बिहान सुरक्षाकर्मीहरुद्धारा उद्धार गरिएको छ ।
कालीकोटमा पहिरोमा परेर एक जना प्रहरी जवानसहित २२ जना बेपत्ता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ४ राँचुलीका १३ जना मलामीबाट घर फर्किँदै गर्दा पहिरोमा पुरिएका बेपता भएका हुन् भने एक जना प्रहरी जवान खोला तर्ने क्रममा बगेर बेपता भएका हुन् ।
नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधिसभाको निर्वाचनमा मनोनयन दर्ता गराउनुभएको छ । भक्तपुरको प्रतिनिधिसभा २ नम्बरबाट प्रतिनिधिसभामा मनोनयन दर्ता गराउनुभएको हो ।
गाेरखापत्र अनलाइनरोल्पा, असोज २३ गते । रोल्पाबाट वर्षमान पुनको उम्मेदवारी दर्ता पुनका तर्फबाट माओवादी रोल्पा संयोजक गुणेन्द्र घर्तीमगरले उम्मेदवारी दर्ता गराउनुभएको थियो । पुनको उम्मेदवारीको समर्थकमा रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख पूर्ण केसी र समर्थकमा माओवादी लुम्बिनी प्रदेश परिषद्का सदस्य भानबहादुर घर्ती छन् । उहाँले व्यस्तताका कारण उम्मेदवारी दर्तामा आफैँ उपस्थित हुन नसकेको बताउनुहुँदै भन्नुभयो । ‘राष्ट्रिय राजनीतिक जिम्मेवारीका कारण उम्मेदवारी दर्तामा सहभागी हुन सकिन । गए राति अबेरसम्म पनि कतिपय निर्वाचन क्षेत्रको सिट बाँडफाँटको काममा व्यस्त थिएँ’, फेरि एकपटक रोल्पाली जनताको प्रतिनिधिका रूपमा काम गर्न मैले उम्मेदवारी दिएको छु ।’प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट पुन यसअघि ०७४ मा निर्वाचित, ०६४ को संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित हुनुभएको थियो ।प्रदेशसभातर्फ भने प्रदेश 'क'मा माओवादीका जोखबहादुर महरा र 'ख'मा काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दर्ता गराउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा निर्वाचन क्षेत्र नम्बर - २ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।
झापाको क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । उहाँ काठमाडौँमा रहेकाले वारेसनामामार्फत् उम्मेद्वारी दर्ता गराउनुभएको बताइएको छ ।
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा ऊर्जामन्त्री पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी मनाेनयन दर्ता गराउनुभएकाे छ ।