• १२ साउन २०८१, शनिबार

बाँके र बर्दियाका बाढीपीडितलाई एक सय थान त्रिपाल सहयोग

blog

बर्दियाका प्रजिअलाई त्रिपाल हस्तान्तरण गर्दै । तस्विर - सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगन्ज, असोज २५ गते । सात दिनको लगातारको अविरल वर्षाले बाँके र बर्दियामा आएको बाढीबाट विस्थापित भएकाहरुका लागि कतार च्यारिटी नेपालले एक सय थान ठूला त्रिपाल सहयोग गरेको छ । विस्थापित भएका बाढीपीडितलाई बस्न समस्या भएपछि दुबै जिल्लाका विपद व्यवस्थापन समितिमार्फत सहयोग गरिएको कतार च्यारिटी नेपालका प्रमुख ईर्शाद शेखले बताउनुभयो । 

उहाँले बाँकेका लागि ५० थान र बर्दियाका लागि ५० थान त्रिपाल अहिले उपलब्ध गराइएको जनाउँदै आवश्यक परे थप पनि सहयोग गरिने बताउनुभयो । 

कतार च्यारिटिले उपलब्ध गराएको ती त्रिपाललाई बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई हस्तान्तरण गरिएको छ । 

बाँके युनेस्को क्लबमार्फत उपलब्ध गराइएको ती त्रिपाललाई तत्काल आवश्यक परेको ठाउँमा पठाइने बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक खत्रीले बताउनुभयो । 

उहाँले बाढी र डुबानबाट पीडित सयौं परिवारलाई सुरक्षित स्थानमा सारिएकाले उनीहरुको व्यवस्था गरिरहेको जनाउँदै त्यसका लागि सहयोग गर्न विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सबै सङ्घसंस्थालाई आग्रह गरिएको बताउनुभयो । 

अविरल वर्षाका कारण राप्तीनदी र डुडुवा खोला तथा अन्य ससाना खोलामा आएको बाढीले जिल्लाका १५ हजारभन्दा बढी सर्वसाधारण प्रत्यक्ष प्रभावित भएको र ६ हजारभन्दा बढी विस्थापित भएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।