आज यहाँ हुने उपनिर्वाचनमा ११३ वर्षिय महिलाले मतदान गर्नुहुने भएको छ । भानु नगरपालिका–५ सेपावगैचाकी गोपीमाया पोख्रेलले मतदान गर्नु हुने भएको हो । गोपीमायाले सोही ठाउँ स्थित महादेवता आधारभूत विद्यालयको ‘क’ केन्द्रमा पुगेर मतदान गर्दै हुनुहुन्छ । मतदान सबैभन्दा महत्वपूर्णदान भएकोले भोट हाल्न जान्छु भनेको उहाँको नाती भरत पोख्रेलले बताउनुभयो ।
चितवन क्षेत्र नं. २ मा मतदान गर्न मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ । आज बिहानैदेखि लाइनमा बसि मतदान गर्न मतदाता उत्सुक देखिएका छन । आज हुने उपनिर्वाचनमा चितवन २ ,बारा २ र तनहुँ १ मा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपाल आयल निगमले विभिन्न चार ठाउँमा खरिद गरेको जग्गा उपभोगमा आउन सकेको छैन । इन्धन भन्डारण क्षमता बढाउने सरकारको नीतिअनुरूप निगमले आर्थिक वर्ष २०७३/७४ मा रुपन्देही, चितवन, सर्लाही र झापामा दुई अर्ब ६६ लाख ४८ हजार रुपियाँ लागतमा खरिद गरेको ६८ बिघा जग्गा प्रयोगमा नल्याएको महालेखा कार्यालयको ६०औँ प्रतिवेदनमा उल्लेख छ । निगमले भण्डारण गृह निर्माण गर्न विभिन्न स्थानमा जग्गा खरिद गरे पनि कुन मोडालिटीमा जाने भनेर सरकारले निर्णय नगर्दा प्रक्रिया अगाडि बढ्न नसकेको हो ।
काठमाडौँ महानगरपालिकाले गरिब, जेहेनदार र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन आफ्नो क्षेत्रभित्रका निजी तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले सार्वजनिक अपिल गर्दै नियमअनुसार छात्रवृत्ति दिन नमान्ने विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत दिनुभएको छ । साथै यस विषयमा आनाकानी गर्ने विद्यालयबारे महानगरपालिकाको कल सेन्टर ११८० मार्फत आफूहरूलाई जानकारी गराउन पनि उहाँले अनुरोध गर्नुभएको छ ।
बारा निर्वाचन क्षेत्र नं. २, चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आइतबार प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदै छ। निर्वाचन आयोगले उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रूपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधिलाई आग्रह गरेको छ।
नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो। घरबाट भारतीय बजार धारचुला सामान किन्न जाने क्रममा तल्लो दुम्लिङस्थित महाकाली नदीमा तुइनबाट खसेर उहाँको मृत्यु भएको वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिनुभयो। नदीमा खसेलगत्तै स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा बुढाथोकी मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो।
प्रतिनिधिसभा सदस्यका लागि भोलि हुन लागेको उपनिर्वाचनमा सर्वदलीय सहमतिका नाममा कानूनविपरीतका निर्णय खारेज गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ।
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयको गोदाममा खाद्यान्न मौज्दात एकदम न्यून हुँदा बिक्री गर्न समस्य भएको छ । हवाई तथा पैदल मार्गबाट चालुु आर्थिक वर्षका लागि निर्धारित कोटाको खाद्यान्न ढुवानीको जिम्मा लिएका नीजि एयरलाईन्स र पैदल मार्गबाट ढुवानीको जिम्मा पाएको सप्लायर्सले समयमै खाद्यान्न ढुवानी नगर्दा मौज्दात न्यून भएको हो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ईद (ईद उल फित्र)पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्याएको बताउनुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको बताउनुभएको छ।
गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा नौ दिनसम्म हुने धार्मिक महोत्सवको तयारी तीव्र बनाइएको छ । रेसुंगा संरक्षण समितिले वैशाख २३ गतेदेखि ३१ गतेसम्म आयोजना हुँदैछ ।
पाँचथरको कुम्मायक गाउँपालिका ३ मा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ।
नेपाल प्रेस युनियन कोशी प्रदेशको बैठक पाँच बुँदे धनकुटा घोषणापत्र जारी गदै सम्पन्न भएको छ । प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मिनकुमार नबोदितको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
जानु पाण्डेकपिलवस्तु, वैशाख ९ गते। कपिलवस्तुको विजयनगर गाउँपालिका ५ सिसवामा दोस्रो पटक आगलागी भएको छ। शनिबार बिहान ११ बजे भएको आगलागीमा सात वटा घर टहरामा क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरमा प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिनुभयो।आगलागीमा परी शिवपुजन यादवको घर तथा राम दुलारे पासी, राम निवाश पासी, राम किशुन पासी, राम जस पासी, टिकाराम पासी, लक्ष्मी नारायण अहिरको गोठ जलेर क्षति भएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिवराज नगरपालिका र कृष्णनगर नगरपालिको दमकल खटिएको थियो। आगलागीबाट चार लाख रुपियाँको क्षति भएको जनाएको छ।सोही ठाउँमा दुई दिन अगाडि (बिहीबार) आगलागी हुँदा २६ घर गोठमा क्षति भएको थियो। शुक्रवार जिल्ला प्रशासन कार्यालय, विजयनगर गाउँपालिका र संघ संस्थाले राहत प्रदान गरेको थिए।